चुलु फार ईस्ट हिमालमा फहरायो सशस्त्र प्रहरी बल नेपालको झण्डा

समाधान संवाददाता २०८२ असोज २७ गते ७:१८

पोखरा । सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित सात जना सशस्त्र प्रहरी कर्मचारीले दामोदर हिमश्रृंखलाअन्तर्गत पर्ने चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन्। असोज २५ गते बिहान ७ बजे ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराइएको हो।

सशस्त्र प्रहरी बलका अनुसार, पर्वतीय उद्धार क्षेत्रमा संस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यो आरोहणले पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ। साथै, पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालन भइरहेका तालिमका लागि आवश्यक प्रशिक्षक उत्पादनमा पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

केही समयअघि सशस्त्र प्रहरी बलले चुलु फार ईस्ट हिमाल आरोहणका लागि अनुमति खुला गर्ने पहल गरेको थियो। सोही पहलका कारण यसपालि सशस्त्र प्रहरीले औपचारिक रूपमा आरोहण गर्ने अवसर पाएको हो। यसअघि चुलु ईस्ट हिमालको अनुमति लिएर चुलु फार ईस्ट आरोहण गर्ने प्रचलन थियो। सशस्त्र प्रहरी बलको यो आरोहणपछि चुलु फार ईस्ट हिमाल आरोहण कानुनी रूपमा पनि वैध ठहरिएको छ।

Advertisement

सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार नायव उपरीक्षक सुरज पौडेलसहित सात जना प्रहरी कर्मचारीले निम तेम्बा शेर्पा र सुम्बा छिरी शेर्पाको गाइडलाइनमा फोर्टिन पिक्स एक्सपेडिसनमार्फत हिमाल आरोहण गरेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया