नौबिसे ओख्लेडाँडा टोलको अध्यक्षमा घिमिरे

समाधान संवाददाता २०८२ असोज २७ गते ११:०४

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २९ मा रहेको नौबिसे ओख्लेडाँडा टोल विकास संस्थाको पन्ध्रौँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि पुनः ठाकुरप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ. सर्वसम्मत रूपमा चयन भएको समितिको उपाध्यक्षमा महेन्द्रप्रसाद सुवेदी, सचिवमा दुर्गादेवी अधिकारी, कोषाध्यक्षमा ध्रुवराज पौडेल चयन भएका छन् ।


यसै गरी सदस्यहरूमा रामबहादुर जिसी, कृष्णबहादुर थापा, मसिना कुमाल, मीना सुवेदी र मन्त्रीराज उलक छन् । लेखा उपसमिति संयोजकमा बिष्णुप्रसाद लामिछाने, सदस्य शिवराज अधिकारी र सोमबहादुर थापा चयन भए ।


नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै निर्वाचन संयोजक अर्जुन ओझाले टोल विकास संस्थाले आफ्नो टोलको विकासका लागि नेतृत्वदायी भूमिका निभाउनुपर्ने बताए । संस्थाका अध्यक्ष ठाकुरप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखाका प्रतिवेदनहरू पारित भएका थिए ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले साधारण सभाको उदघाटन गर्दै स्थानीयको सहभागिता बिना विकास निर्माणका कुनै पनि काम सम्भव नहुने धारणा राखेका थिए । उनले वडाका ३० वटै टोल विकास संस्थालाई यस टोलले नमुना बनेर सिकाएको बताए. उनले विषादीरहित उत्पादनमा जोड दिए ।


कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोला, वडा सदस्य कालिदास पोखरेल लगायतले बोलेका थिए भने नयाँ कार्यसमितिका अध्यक्ष घिमिरेले भावी योजना प्रस्तुत गरेका थिए. संस्थामा २ सय ३८ घरधुरी सदस्य आबद्ध रहेका छन् ।

Advertisement

कार्यक्रममा ८० वर्ष उमेर नाघेका ४ ज्येष्ठ सदस्य, टोलबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने २ जना, उत्कृष्ट कृषक सुरज तिवारी र लेखनाथ उद्योग वाणिज्य संघमा सदस्य जितेका उक्त टोलका बासिन्दा सुजनबाबु न्यौपानेलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया