गम्भीर अपराधका कैदी फर्केनन्

पोखरा ।
जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार छन् । कारागार विभागले पटक पटक अल्टिमेटम दिए पनि ती कैदीबन्दी स्वेच्छाले नफर्किएको कारागार प्रमुख राजेन्द्र शर्माले जानकारी दिए ।
शर्माका अनुसार कास्की कारागारमा आन्दोलनअघि ७ सय ७३ जना कैदीबन्दी थिए । तीमध्ये महिलाको ब्लकमा ३५ जना र पुरुष ब्लकमा ७ सय ३८ जना थिए । भदौ २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीले कारागारमा आक्रमण गरी तोडफोड गरेपछि कैदीबन्दीहरू एकै पटक बाहिर निस्किएका थिए ।
त्यसपछिका दिनमा प्रहरीले फेला पारेका र स्वेच्छाले ५ सय २१ जना कारागार फर्किए पनि बाँकी २ सय ७० जनाको खोजी जारी रहेको शर्माले जानकारी दिए । ‘कारागार प्रशासनले फरार कैदीबन्दीलाई स्वेच्छाले फर्कन पटक पटक अनुरोध गरेको छ,’ शर्माले भने, ‘तर धेरै जना अझै सम्पर्कमा आएका छैनन् । प्रहरीमार्फत खोजी कार्यलाई तीव्र बनाइएको छ ।’
उनका अनुसार फरारमध्ये अधिकांश जबरजस्ती करणी, लागुऔषध कारोबार, कर्तव्य ज्यान, चोरी, बैंकिङ कसुर, सवारी दुर्घटनामा ज्यान जाने, सहकारीसम्बन्धी मुद्दा, बालयौन दुराचार, अभद्र व्यवहार र कीर्ते जस्ता मुद्दामा जेल चलान भएका छन् । कारागार विभागले फरार कैदीबन्दीको नामावली सार्वजनिक गरिसकेको छ । त्यस्तै, उनीहरूलाई पक्राउ गर्न प्रहरीको विशेष टोली गठन गरिएको छ ।
फरार कैदीबन्दीका बारेमा स्थानीय तह, प्रहरी चौकी र सर्वसाधारणलाई पनि सूचना दिइएको प्रमुख शर्माले जानकारी दिए । ‘सम्पर्कमा नआएकाहरुलाई कानुनी प्रक्रिया अनुसार पक्राउ गरेर कारागारमा पुर्याइनेछ,’ उनले भने ।
कारागार प्रशासनले नाकाबन्दी र निगरानी प्रणाली सुदृढ गर्न गण्डकी प्रदेशका अन्य जिल्लाका सुरक्षा निकायहरूसँग पनि समन्वय गरेको शर्माले जानकारी दिए । उता, जेनजी आन्दोलनका क्रममा पोखराको ग्यारजातीस्थित बाल सुधार गृहबाट समेत १ सय ९ जना बालक भागेका थिए ।
तीमध्ये हालसम्म ९६ जना फर्किएका छन् भने केही अझै फर्किन बाँकी रहेको सुधार गृह प्रमुख डासी पौडेलले बताए । ‘बालबालिकालाई स्वेच्छाले फर्काउन मनोवैज्ञानिक परामर्श र कानुनी सल्लाहमार्फत प्रयास गरिएको छ,’ पौडेलले भने, ‘तर अझै केही फर्किएका छैनन् ।’
बाल सुधार गृहबाट भागेका अधिकांश बालक पनि जबरजस्ती करणीसम्बन्धी मुद्दामा सुधार गृह पठाइएका थिए । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीले फरार बालकहरूको खोजी जारी रहेको जनाएको छ ।
कारागार र सुधार गृह दुवैतर्फको फरार अवस्थाले सुरक्षा चुनौती बढाएको भन्दै प्रशासनले निगरानी र सुरक्षामा थप कडाइ गरेको छ । अधिकारीहरूले फरार कैदीबन्दी र बालबालिकालाई स्वेच्छाले फर्कन आग्रह गर्दै ‘फर्किए कानुनी सहुलियत मिल्न सक्छ’ भन्दै चेतावनी जारी गरेका छन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया