नर्सका मागमा जिफन्टको ऐक्यबद्धता

समाधान संवाददाता २०८२ असोज २८ गते ११:४५

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले नेपाल मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत नर्सिङ कर्मचारीका जायज मागप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।


जिफन्टले वार्ता, संवाद र छलफलको माध्यमबाट समास्या समाधान गर्न अस्पताल व्यवस्थापन समक्ष मागसमेत गरेको छ । नेपाल मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविललाई ज्ञापनपत्र बुझाउँदै वार्ता संवादबाट यथाशीघ्र दीर्घकालीन समस्या समाधानका लागि अनुरोध गरेको जिफन्ट गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।


विगत केही दिनदेखि अस्पतालमा कार्यरत नर्सहरु नेपालको प्रचलित ऐन कानुन नियमानुसार पाउनुपर्ने सेवा, सुविधा उपलब्ध गराउनका लागि व्यवस्थापन समक्ष लिखित रुपमा माग राख्दासमेत वेवास्ता गरेकोकाले आन्दोलनमा छन् ।

Advertisement

‘श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, नेपाल सरकार र सरोकारवालाहरुको छलफल, संवाद र सहमति बमोजिम प्रत्येक २ वर्षमा श्रमिकको ज्याला वृद्धि हुने भएता पनि कार्यान्वयनमा मणिपालमा समस्या देखिएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस्ता विषयमा मणिपालमा पटक पटक विवाद उत्पन्न हुने गरेको देखिएकोले ऐन कानुन अनुसार समस्या समाधान गर्न आवश्यक छ ।’


ज्ञापनपत्रमा नर्सिङ स्टाफ संवेदनशील मानवीय सेवामा समर्पित कर्मचारी भएकाले न्यूनतम ज्याला प्रदान गर्न माग गरिएको छ । बिरामीको सेवामा दिनरात भोकतीर्खा नभनी अहोरात्र खटिने नर्सको काम अत्यन्त महत्वपुर्ण भएको उल्लेख गर्दै ज्ञापनपत्रमा नर्सहरुले चिन्तारहित अवस्थामा कार्य सम्पादन गर्न न्यूनतम ज्याला पाउन आवश्यक भएको जनाइएको छ ।

Advertisement

नर्सले न्यूनतम ज्याला नपाएर काम गर्नुपर्ने बाध्यताले बिरामीको स्याहार संहारमा कठिनाई उत्पन्न हुने ठहर गर्दै जिफन्टले नर्सिङ स्टाफलाई जीवन यापन गर्न पुग्ने ज्याला उपलब्ध गराउन पनि माग गरिएको छ ।

तपाईको प्रतिक्रिया