पोखरामा नक्कली पेस्तोल देखाई लुटपाट गर्ने पक्राउ

समाधान संवाददाता २०८२ असोज २८ गते १३:५४

पोखरा ।

कास्की प्रहरीले नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १२ शीतलादेवीकी देवीकला अधिकारीलाई पेस्तोल देखाएर लुटपाट गरेको सूचना पाएलगत्तै प्रहरीले पर्वत मोदी गाउँपालिका वडा नम्बर १ स्थायी वतन भई हाल पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई पक्राउ गरेको हो ।

घटना मंगलबार राति ८ बजेर ५० मिनेटमा भएको थियो । सूचना प्राप्त भएलगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा विकलाई नक्कली पेस्तोल (खेलौना) १ थान र निजले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

Advertisement

पक्राउ परेका विकमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया