ओलीको दाबी: जेन–जी आन्दोलनमा विदेशी शक्तिको हात, गोलीकाण्ड नियोजित षड्यन्त्र

समाधान संवाददाता २०८२ असोज २९ गते १६:१८

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते देशभर फैलिएको जेन–जी आन्दोलनका नाममा भएको हिंसा, तोडफोड र आगजनी ‘राष्ट्रियता, लोकतन्त्र र संविधानमाथिको योजनाबद्ध आक्रमण’ भएको बताएका छन्।

एमालेको दशौं केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्तावमार्फत ओलीले आन्दोलनका क्रममा घटेका घटना कुनै सामान्य विरोध नभई ‘विदेशी शक्तिद्वारा प्रेरित कलर रिभोल्युसनको नेपाली संस्करण’ भएको दाबी गरे।

उनका अनुसार, सामाजिक सञ्जाल सञ्चालन र सुशासनका विषयमा युवाले उठाएका माग वैध र जायज भए पनि त्यसमा ‘स्वार्थी र हिंस्रक तत्त्वहरूको घुसपैठ’ पछि आन्दोलन विपथमा गएको हो।
“जेन–जी युवाले राष्ट्रिय झण्डा ओढेर संसद, सिंहदरबार वा सर्वोच्च अदालतमा आगो लगाउन सक्दैनन्। त्यसका पछाडि भित्री स्वार्थ र बाह्य समर्थनसहितको ठूला शक्ति संलग्न थिए,” ओलीको भनाइ छ।

Advertisement

ओलीले संसद भवन अगाडि भएको गोलीकाण्ड नियोजित रहेको आरोप लगाउँदै त्यसमा तत्कालीन प्रधानमन्त्रीका रूपमा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारे।
“भदौ २३ गते गोली चलाउने अधिकार प्रधानमन्त्रीसँग थिएन। दङ्गा नियन्त्रणका अन्य उपाय नअपनाई किन गोली चलाइयो भन्ने गम्भीर प्रश्न छ,” उनले भने।

उनका अनुसार संसद अगाडि १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु ‘दुःखद मात्र होइन, नियोजित षड्यन्त्र’ हो, जसको निष्पक्ष छानबिन हुनुपर्ने उनले माग गरे।
“यो केवल त्रुटि होइन, यसमा गम्भीर षड्यन्त्र लुकेको छ। दोषी जसले भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ,” ओलीको भनाइ छ।

Advertisement

भदौ २४ गते देशभर भएको हिंसालाई ओलीले ‘राष्ट्रलाई भूराजनीतिक खेलमा फसाउने प्रयास’ भन्दै त्यसको उद्देश्य सरकार मात्र होइन, संविधान र लोकतन्त्रलाई धरापमा पार्ने रहेको बताए।

सरकारद्वारा गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई ओलीले ‘पक्षपाती र अविश्वसनीय’ ठहर गर्दै अस्वीकार गरे। उनले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा नयाँ, स्वतन्त्र र निष्पक्ष आयोग गठनको माग गरे।

उनले भने, “देश अप्रत्याशित रूपमा प्रतिक्रान्तितर्फ धकेलिँदैछ। यदि अहिले रोकिएन भने मुलुक बर्बादीतिर जान सक्छ।”

ओलीले प्रतिनिधिसभा पुनर्स्थापना र संविधानसम्मत सरकार गठनको माग गर्दै वर्तमान सरकारले चुनावको नाममा जनतामाथि छल गरेको आरोप लगाए।
“सरकार चुनाव भन्छ, तर वातावरण बनाउँदैन। देशलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउन अब जनआन्दोलन नै विकल्प हो,” उनले चेतावनी दिए।

एमालेले नागरिकलाई शान्ति, स्थायित्व र राष्ट्रिय एकताको पक्षमा एकजुट हुन आह्वान गर्दै भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।

तपाईको प्रतिक्रिया