एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा हुने

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने भएको छ। जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मिति र स्थानसहितको प्रस्ताव प्रस्तुत गरेका छन्। तीन दिनसम्म चल्ने बैठकले ओलीको प्रस्ताव औपचारिक रूपमा पारित गर्ने तयारी गरेको छ।
बैठकमा ओलीले पछिल्ला राजनीतिक घटनाक्रम समेटिएको १५ बुँदे राजनीतिक प्रतिवेदन समेत प्रस्तुत गरेका छन्। जेन–जी आन्दोलनपछि सत्ताच्युत भएका ओलीले आफ्नो ६ पृष्ठ लामो प्रतिवेदनमार्फत आन्दोलनका घटनाहरू, पार्टीको आगामी दिशा र आफ्नो भूमिकाबारे विस्तृत व्याख्या गरेका छन्।
प्रतिवेदनमा ओलीले भदौ २३ गतेको गोलीकाण्डमा आफूले कुनै आदेश नदिएको स्पष्ट पारेका छन्। “गोली चलाउने आदेश कानुनी रूपमा अधिकार प्राप्त अधिकारीले मात्र दिन सक्छ, प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट छ,” प्रतिवेदनमा भनिएको छ, “प्रधानमन्त्रीलाई उक्त घटनाको जानकारी पछि मात्र भएको हो।”
ओलीले दङ्गा नियन्त्रणका वैकल्पिक उपाय अवलम्बन नगरी किन प्रत्यक्ष गोली चलाइयो भन्ने प्रश्न उठाएका छन्। उनले भनेका छन्, “किन करिब दुई दर्जन युवाको ज्यान लिइयो? सयौँ घाइते बनाइयो? र त्यसपछि भदौ २४ गते व्यापक तोडफोडको तयारी कसले गर्यो?”
प्रतिवेदनमा उल्लेख छ, भदौ २३ गतेको घटनापछि मन्त्रिपरिषद्को बैठक बसेर घाइतेको निःशुल्क उपचार, मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति र पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गर्ने निर्णय भएको थियो।
ओलीले यथार्थ यति स्पष्ट हुँदाहुँदै पनि आफूविरुद्ध “नियोजित रूपमा फैलाइएको आपराधिक प्रचार” लाई अस्वीकार गर्दै त्यसको कडा प्रतिवाद गर्ने एमालेको धारणा प्रस्तुत गरेका छन्।
बैठकमा ओलीको राजनीतिक प्रस्तावमाथि अहिले विस्तृत छलफल भइरहेको छ। एमालेभित्र ओलीलाई नेतृत्वबाट विदा गर्नुपर्ने बहस तीव्र बनेको छ। तर, ओलीले भने ‘फेसबुकले भन्दैमा नेतृत्व छोड्दिनँ’ भन्दै पार्टी कमिटीको औपचारिक निर्णयबिना पद नछोड्ने स्पष्ट सन्देश दिएका छन्।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया