पोखरामा मनाइयो सेतो छडी सुरक्षा दिवस

समाधान संवाददाता २०८२ असोज २९ गते १६:४४

पोखरा ।
दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिको पहिचान, स्वतन्त्रता, गमनशीलता र सम्मानको प्रतिकको रुपमा रहेको सेतो छडीका बारेमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुधबार ६१ औं विश्व सेतो छडी सुरक्षा दिवस २०८२ मनाइएको छ ।

नेपाल नेत्रहीन संघ गण्डकी, कास्की नेत्रहीन संघ कास्की र नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा प्रभातफेरी तथा अन्तक्र्रिया गरिएको छ । सिर्जनाचोकबाट सुरु भएको प्रभातफेरी सभागृहचोक पृथ्वीचोक हुँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा पुगेर सभामा परिणत भएको छ ।

कार्यक्रममा नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य लक्ष्मण सुवेदीले दृष्टिविहीनका लागि सेतो छडी पहिचान, परिचय र आधार स्तम्भ भएको बताए । उनले दैनिक आधारभूत विषय बनेको सेता छडीले दृष्टिविहीनको आत्मविश्वास बढाउने चर्चा गरे । ‘सो दिवसमा नेपाल नेत्रहीन संघको अगुवाइमा यस वर्षको दिवसमा सेतो छडी वितरणसँगै दृष्टिविहीनको सुरक्षित आवागमनबारे सचेनामुलक कार्यक्रममा विशेष जोड दिइएको छ,’ उनले भने, ‘सेतो छडी प्रयोग गरे पनि दृष्टिविहीनका लागि सहज आवागमन हुन सकेको छैन । सडक वारपार गर्न तथा सार्वजनिक गाडीमा ओहोरदोहोर गर्न दृष्टिविहीनलाई धेरै समस्या छ ।’

Advertisement

उनले दृष्टिविहीनको सहज आवागमनमा सहयोग गर्न सम्बन्धित निकाय र संघ, संस्थासँग विशेष आग्रह गरे । उनले दृष्टिविहीनलाई सेतो छडी किन्न पनि नपर्ने र सेतो छडी विहीन नबनाउने जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले ट्राफिक व्यवस्थापनमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बाल बालिकालाई पहिलो प्राथमिकता दिने बताए ।

उनले सार्वजनिक सवारीमा छुट्टाएको सिटको सही प्रयोगका लागि ध्यान दिने उल्लेख गरे । उनले दृष्टिविहीनको सुरक्षित आवागमनका लागि सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले सो दिवसको सन्दर्भमा संघको अगुवाईमा क्षमता विकास तालिम, सेतो छडी वितरण लगायतका कार्यक्रम गरेको बताए ।

Advertisement

नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीका सचिव लोकबहादुर गुरुङले नेपालमा विस २०४० सालदेखि सेतो छडीको प्रयोग भएको जानकारी दिए । ‘सेतो छडीको शक्ति, समानता, र समावेशितामा अभिबृद्धि’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीका अध्यक्ष टेकमान प्रधानांग, नेपाल नेत्रहीन क्रिकेट संघका महासचिव अमृत बराल, पत्रकारहरु श्याम कुँवर र शिवराज बस्ताकोटीले बोलेका थिए ।

विश्व सेतो छडी सुरक्षा दिवस २०८२को अवसरमा बुधबार माछापुच्छ्रे ६ भेडाबारीमा १० जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया