पोखरा–मुस्ताङ जोड्ने वैकल्पिक सडक बन्यो

समाधान संवाददाता २०८२ असोज २९ गते १७:०५

म्याग्दी ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने सडक सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, शिख, घोडेपानी, कास्कीको उल्लेरी, बिरेठाटी हुँदै कास्कीको अन्नपूूर्ण गाउँपालिकामा पर्ने नयाँपुल जोड्ने सडकमा यातायात सञ्चालन गर्न थालिएको हो ।


मध्यपहाडी लोकमार्गको नयाँपुलबाट कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी जोमसोम कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडक घोडेपानीमा म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्षद्वय भारतकुमार पुन र विष्णुबहादुुर केसीले संयुक्त रूपमा उद्घाटन गरे ।


नयाँपुुल, कुुश्मा, बेनी हुँदै पोखरेबगर जोड्ने सडकभन्दा यो सडक करिब ४० किलोमिटर छोटो हुुने र पर्यटकीय हिसाबले महत्वपूूर्ण रहेको गाउँपालिकाका अध्यक्ष पुनले बताए । स्थानीयका साथै कास्कीको नयाँपुलबाट म्याग्दीको बेनी हुँदै पोखरेबगर खण्डको मुख्य राजमार्गमा अवरोध हुँदा, घोडेपानीको भ्रमण गर्न इच्छुक यात्रुहरूले यो सडक प्रयोग गर्न सक्छन् ।

Advertisement


पोखरेबगरबाट तल्लो घोडेपानी र कास्कीको नयाँपुुलबाट उल्लेरी हुँदै वनठाँटी भालओरालसम्म यसअघि नै सडक निर्माण भएर यातायात सञ्चालन हुुँदै आएको थियो । योसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५, ६, कास्कीको अन्नपूूर्ण ७, ८ र ९ नम्बर वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

कास्कीको नयाँपुलबाट म्याग्दीको बेनी हुँदै पोखरेबगर खण्डको मुुख्य राजमार्गमा अवरोध हुँदा यो विकल्प बन्न सक्छ ।

Advertisement


स्थानीयले चन्दा संकलन गरी घोडेपानी नागेठाँटी वनठाँटी खण्डमा करिब दुई किलोमिटर ट्रयाक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडिनुुका साथै राष्ट्रिय राजमार्गको वैकल्पिक सडक तयार भएको हो । सडक निर्माणमा शिख, घार र घोडेपानीका बासिन्दाबाट१६ लाख ६० हजार ५ सय ३५ संकलन भएकोमा १६ लाख ५ हजार ५ सय ७६ खर्च भएको घोडेपानी–उल्लेरी सडक निर्माण पहल समितिका कोषाध्यक्ष चन्द्र पुनले जानकारी दिए ।


‘गाउँपालिका र प्रदेश सरकारबाट विनियोजन भएको बजेट संरक्षण क्षेत्रको कानुनी जटिलताका कारण कार्यान्वयन हुन नसकेपछि समुदाय स्तरबाट सहयोग जुटाएर दुई जिल्लालाई सडकले जोडेका हौं’, उनले भने, ‘कास्कीको भूगोलमा म्याग्दीका बासिन्दाले सरकारी बजेट हुँदाहुँदै किन चन्दा उठाउने भन्ने प्रश्नको मात्र नभएर नियमनकारी निकायमा परेको उजुरीको सामना गरेर सडक बनाएका हाैं ।’


कास्कीको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष केसीले बर्खामा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनको व्यवस्था मिलाएको बताए । कास्कीको नयाँ पुुल हुुँदै बिरेठाँटी खण्डको सडक कालोपत्र भएको छ । वीरेठाँटी–उल्लेरी खण्ड स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा दुई शीर्षकमा ४ करोड ५० लाख विनियोजन भएको भन्दै भुरुङ्दी खोलामा मोटरेबल पुल बनाउन ठेक्का सम्झौता भइसकेको उनले जानकारी दिए ।


नयाँ पुुल हुँदै उल्लेरीसम्मको कच्ची सडकमा बस र नागीठाँटीसम्म जिप तथा बोलेरो सञ्चालन हुँदै आएको थियो । यसअघि घोडेपानीबाट नयाँपुल पुग्न छ घण्टा लाग्ने गरेकामा सवारीसाधन सञ्चालन हुन थालेपछि यात्रा अवधि २ घण्टा ३० मिनेटमा छोटिएको घोडेपानी टोल सुुधार समितिका अध्यक्ष चन्द्र बुद्धुुजाले बताए ।


कास्कीको अन्नपूूर्ण ९ का वडाध्यक्ष रमेश गुरुङले यो सडकले मुुस्ताङ, मुुक्तिनाथ जाने आउने पर्यटकलाई सहज बनाउनुका साथै स्थानीयको सामाजिक र आर्थिक अवस्था सुधारमा पनि सहयोगी बन्ने विश्वास व्यक्त गरे । म्याग्दीको पोखरेबगर–चित्रे खण्ड दुई वर्षअघि संघीय सरकारले स्तरोन्नति गरेको थियो । चित्रे–घोडेपानी खण्डमा प्रदेश सरकारमार्फत स्तरोन्नति भइरहेको छ ।


पोखरेबगर–चित्रे खण्डको बाँकी सडक मर्मतका लागि संघीय सरकारले विनियोजन गरेको ३ करोड बजेटको ठेक्का आह्वानको तयारी भएको र गाउँपालिकाले विनियोजन गरेको ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वानको तयारी भएको म्याग्दीको अन्नपूर्ण ६ का वडाध्यक्ष रामबहादुुर खड्काले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया