पुल बनेसँगै छैरो र चिमाङबासीको वर्षौंदेखिको सपना साकार

सुन्दरकुमार थकाली २०८२ असोज ३१ गते १४:२१

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका वडा नम्बर १ र २ जोड्ने (मार्फा—छैरो) मोटरेबल पुल बनेपछि छैरो र चिमाङ गाउँको मुहार फेरिने अपेक्षा गरिएको छ । बुधबार यहाँ बाजागाजासहित पुल उदघटन गरियो ।


राष्ट्रिय गौरवको बेनी जोमसोम मुख्य राजमार्ग सडक नजिकै रहे पनि कालिगण्डकी नदीमा पुल नहुँदा वर्षौंदेखि ओझेलमा परेको यहाँका कालिगण्डकी पारीका दुई गाउँ छैरो र चिमाङका स्थानीय पुल बनेपछि पुलकित छन् ।


संघीय सरकारको विशेष अनुदान १ करोड ९५ लाख ९२ हजार र घरपझोङ गाउँपालिकाबाट ९७ लाख ५१ हजार लागत साझेदारी गरी २ करोड ९३ लाख लागतमा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा—छैरो जोड्ने मोटरेबल पुल निर्माण गरियो । कालिगण्डकी नदीमा निर्मित ४२ मिटर लम्बाइ र ४.२० मिटर चौडा मोटरेबल पुल निर्माण कार्य रविचन्द्र निर्माण सेवाले जिम्मा लियो ।

Advertisement


आर्थिक वर्ष २०८०/०८१ र आर्थिक वर्ष २०८१/०८२ गरी दुई आर्थिक वर्षमा विनियोजित बजेट मार्फत यहाँको (मार्फा—छैरो) जोड्ने बेलिब्रिज पुलको निर्माण गरियो । यहाँको घरपझोङ गाउँपालिकाका पाँच वडामध्ये चार वटै वडामा सडकको पहुँच पुगिसक्दा यहाँको छैरो—चिमाङ गाउँसम्म जोड्ने कालिगण्डकी नदीमा पुल नहुँदा स्थानीयले निकै सास्ती खेप्दै आइरहेका थिए ।

पुल उद्घाटनका लागि छैरो चिमाङका सबै स्थानीय नागरिक उपस्थित भएका थिए । पुल उद्घाटनमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसहित सुरक्षा निकायको टोली, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी लगायतको उपस्थिति थियो ।

Advertisement


मार्फा—छैरो पुल निर्माण सम्पन्न भएको खुसीयालीमा बाजागाजासहित स्थानीयबासीले घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई गाउँ परिक्रमा गराए ।


यसअघि मार्फा गुम्बाका लामाले बुद्ध धर्म परम्परा अनुसार धार्मिक पुजापाठ र मन्त्र वाचन गरेपछि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, कार्यपालिका सदस्यहरु लगायतले रिवन काटेर भव्य रुपमा पुलको उद्घाटन गरे । त्यस लगत्तै गाउँपालिका अध्यक्ष लालचनले पुलको शिलालेख अनावरण गरे ।


पुल बनेको खुसीयालीमा स्थानीय नागरिकहरु मात्रै होइन जनप्रतिनिधि र कर्मचारीहरु समेत खुसीले गदगद थिए । पुल उद्घाटनका क्रममा बाजागाजासहितको तालमा जनप्रतिनिधि र कर्मचारीहरु नाचेर रमाइलो गरेका थिए ।


पुल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले निर्वाचनका बेला जनता माझ गरिएको प्रतिबद्धताको सपना साकार भएको बताए । यहाँको कालिगण्डकी नदीमा पुल नहुँदा छैरो—चिमाङ गाउँ ओझेल परेको उल्लेख गर्दै अब भने पुल बनिसकेकाले यहाँको कृषि र पर्यटन विकासको ढोका उघ्रिएको बताए ।


’पुल नहुँदा छैरो र चिमाङ गाउँमा उत्पादित कृषि उपजको बजारीकरणमा समस्या परेको र ढुवानी ज्याला बढी लाग्दा सहज बिक्री हुन नसक्ने अवस्था थियो,’ अध्यक्ष लालचनले भने, ‘अब कृषकको घर आँगन र खेतबारीमा ढुवानीका साधन लैजान सकिने भएकाले कृषि उपजको बजारीकरणको मार्ग खुलेको छ ।’


गाउँपालिका अध्यक्ष लालचनले छैरो र चिमाङ गाउँमा प्रचुर पर्यटकीय सम्भावना भएकाले पर्यटकहरुलाई यस स्थानमा पुग्न सहज भएकाले यहाँका पर्यटकीय गन्तव्यको प्रवर्धन र विकास गर्नु जरुरी रहेको औंल्याए ।


यसैगरी छैरो गाउँका स्थानीय भीमबहादुर रसाइलीले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको योगदानबाट ओझेलमा परेको छैरो र चिमाङ जाने कालिगण्डकी नदीमा पुल बनेको बताए । यसैगरी चिमाङका स्थानीय सुकबहादुर बिकले मार्फा—छैरो पुल निर्माणले यहाँको सम्भावनाको ढोका खोलेको बताए ।

पुल नहुँदा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन विकासको बाटो बन्द भएकोमा अब त्यो समस्याको अन्त्य भएको जनाए । गाउँमै मोटर पुगेकाले यो भन्दा बढी खुसी केही नभएको भन्दै विकासको समृद्धिका लागि सडक तथा पुल महत्वपूर्ण भएको बताए ।


मार्फा—छैरो पुल बनेर उद्घाटन गरिएपछि छैरो—चिमाङ गाउँका स्थानीयबासीले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पुल बनाउने ठेकेदार लगायतलाई खाँदा लगाएर भव्य सम्मान गरेका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया