‘जेन जी आन्दोलनमा गलत सूचनाकै कारण थप विध्वंश भयो’

समाधान संवाददाता २०८२ असोज ३१ गते १५:४३

पोखरा ।
‘सत्यभन्दा अगाडि दौडने सूचना’ले देश नै तातेको थियो— जेन जी आन्दोलनको त्यो दिन भदौ २३ गते राति । पत्रकारदेखि सेलिब्रेटीले फेसबुक स्टाटसमा लेखेका थिए– संसद् भवनभित्र ३२ जना बन्धक र मृत फेला । यो अफवाहले समाजमा उथलपुथल मच्चाएको थियो । यस्तै गलत र भ्रमपूर्ण सूचनाले आन्दोलनको स्वरूप भदौ २४ गते झनै विध्वंशात्मक बनेको थियो, त्यो दिनको सम्झना अझ ताजा छ ।


यस्तै ‘मिथ्या र भ्रमपूर्ण सूचनाको चुनौती र समाधान’ कसरी गर्ने भनेर शुक्रबार पोखरामा संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) संसद सहयोग परियोजनाको सहयोगमामा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, वकिल, पत्रकार, उद्योगी, कर्मचारी लगायतसँग अन्तक्र्रिया गरिएको थियो ।

सरोकारवालाले जेन जी आन्दोलनमा फैलिएका असत्य र नियोजित सूचनाले आन्दोलनलाई हिंसात्मक मोडमा धकेलेको उल्लेख गर्दै अब समाजमा सूचना साक्षरता अभियान जरुरी भएकोमा सबै सहमत थिए ।

Advertisement


कार्यक्रममा मञ्चका सल्लाहकार तथा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सूचना मानवीय अस्तित्वको ‘अक्सिजन’ भएको बताउँदै सही सूचना सशक्तीकरणको स्रोत भएको बताए । उनले गलत सूचना खतरनाक हतियार बन्न सक्ने उदाहरण प्रस्तुत गरे ।


उनले मिथ्या सूचनाका तीन प्रकार मिथ्या सूचना, दुष्प्रचार र खराब सूचना—बारे स्पष्ट पारेका थिए । ‘मिथ्या सूचना प्रायः अनजानेमा फैलाइन्छ, दुष्प्रचार नियोजित रूपमा अरूलाई भ्रमित पार्न गरिन्छ,’ उनले भने, ‘खराब सूचना सत्य भए पनि बदनामीका उद्देश्यले प्रयोग गरिन्छ ।’ लामिछानेले जेन जी आन्दोलनका क्रममा फैलिएका अनेकौं गलत सूचनाहरूले समाजमा आतंक र द्वन्द्व निम्त्याएको बताए ।

Advertisement

‘पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीको मृत्यु, एमाले अध्यक्ष केपी शर्मा ओलीको नक्कली पत्र, शिक्षा मन्त्री महावीर पुनको एआई तस्बिर, पत्रकार भाग्य न्यौपानेले नेताको घरमा ८० किलो सुन भेटिएको दाबी, संसद भवनमा ३२ जनाको मृत्यु जस्ता गलत सूचनाले आन्दोलनलाई हिंसात्मक बनायो ।’


लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विक्रम कर्मचार्यले पत्रकारले आंशिक जानकारी दिएर भ्रम सिर्जना गरेको भन्दै त्यसलाई रोक्न मिडिया हाउसहरू जिम्मेवार हुनुपर्ने बताए ।

सहप्राध्यापक डा. भीमनाथ बरालले शिक्षा र सञ्चार माध्यमले सूचना साक्षरता बढाउनुपर्ने र गलत सूचनाको प्रतिकारका लागि विद्यालयदेखि समुदायसम्म कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिए ।


नागरिक समाजका अगुवा रामबहादुर पौडेलले अन्तक्र्रियाले आफूहरूलाई सही र गलत छुट्याउन सिकाएको बताउँदै अबदेखि थप तथ्यपरक सूचना मात्रै सेयर गर्ने र गर्न अनुरोध गरे ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मिडियाले समाचार छनोटमा मापदण्ड तय गर्नुपर्ने बताए । ‘मिडियाले नै कुन सूचना विश्वासयोग्य हो भन्ने मापदण्ड बनाउन सक्नुपर्छ,’ उनले भने ।


अपांगता क्षेत्रक अगुवा डन्डपाणी ढकालले दृष्टिबिहीन, अपांगता भएका व्यक्तिका समाचारमा समेत आचारसंहिताको पालना हुनुपर्ने बताए । ‘आफूहरूलाई समाचारमा प्रयोग गर्दा मानहानी हुने गरी लेख्ने प्रवृत्ति रोक्नुपर्छ,’ उनले भने ।


युवा व्यवसायी किशोर सुवेदीले समाजमा मिथ्या र भ्रमपूर्ण समाचारको मूल जरो व्यक्ति स्वयं नै भएको उल्लेख गरे । ‘हामी नै सत्य र असत्य छुट्याउन असफल भयौं,’ उनले भने, ‘यसका कारण समाजमा अव्यवस्था र असहिष्णुता बढेको छ ।’


नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले सामाजिक सञ्जाल नियमन र नागरिक सचेतना दुवै आवश्यक भएको बताए ।


मानसिक स्वास्थ्यका अभियन्ता सुदीप घमिरेले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्छन् । उनले मिथ्या सूचनाले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने बताए । ‘कोभिडको समयमा ‘बेसार खाँदा कोरोना निको हुन्छ’ भन्ने मिथ्या जानकारीले जनस्वास्थ्यमा गम्भीर असर पारेको भन्ने कुरा राष्ट्रको प्रमुख व्यक्तिबाटै फैलाइएको बताए । उनले यस्तो सूचना अहिले पनि मानसिक तनाव र भय सिर्जना सुनाए ।

इन्सेकका गणेश भण्डारीले सामाजिक सञ्जालमा भ्युज र भाइरल बन्ने लोभमा गलत सूचना फैलाउने प्रवृत्ति रोक्नुपर्ने बताए । ‘सकारात्मक समाचारमा पनि ध्यान दिनुपर्छ,’ उनले भने ।


नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष कञ्चन थापाले शीर्षक र हेडलाइनकै कारण भ्रम फैलिने उल्लेख गर्दै समाचार प्रकाशनमा सावधानी अपनाउन अपनाउनुपर्ने उनको भनाइ थियो । अधिवक्ता कृष्णप्रसाद तिमिल्सिनाले मिडियाले प्रतिस्पर्धामा पत्रिका बेच्ने उद्देश्यले भ्रमपूर्ण समाचार प्रकाशन गर्ने गरेको आरोप लगाए ।

उद्यमी पर्वती पौडेल रेग्मीले तथ्य जाँच नगरी लेखिएका समाचारले उद्यमशील क्षेत्रमा असर पारिरहेको बताइन् । पोखरा उद्योग वाणिज्य संघकी महासचिव सोभा गौतमले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा अविश्वास र नकारात्मकता फैलिएको बताउँदै नियमनको माग गरिन् । पत्रकार फणिन्द्र अकिचनले चुनावका बेला भ्रमपूर्ण समाचार सर्वाधिक हुने उल्लेख गर्दै मिडिया र सामाजिक सञ्जाल दुवैलाई नियमन गर्नुपर्ने सुझाव दिए ।


पर्यटन व्यवसायी (टेवान)की सोभा न्यौपाने पाण्डे मिडियाले तथ्य जाँच (फ्याक्ट–चेक) गर्ने संयन्त्र बलियो बनाउनुपर्ने बताइन् । ‘पोखरा खचाखच पर्यटकले भरिएको भन्ने समाचार लेखिन्छ, तर वास्तविकता फरक हुन्छ,’ उनले भनिन् ।


इन्जिनियर किशोर सुवेदीले फेसबुकमा पैसा कमाउने लोभमा मिथ्या सूचना हाल्ने प्रवृत्तिको आलोचना गरे । ‘फेसबुकमा ३२ जनाको मृत्यु भएको लेखेपछि आन्दोलन झनै भड्कियो,’ यस्तो लेख्ने मेरै साथीहरु पनि छन्, उनले भने । मुक्ति समाजका नेता हरि बरायलीले जेन जी आन्दोलनका बेला मुख्यमन्त्री कार्यालयलगायत सरकारी भवनहरू जल्नुमा भ्रमपूर्ण सूचना मुख्य कारण रहेको बताए ।


पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले सामाजिक सञ्जाल र मिडियाप्रति नागरिक सचेतना आवश्यक भएको बताए । ‘२५ रूपैयाँमा साडी पाइन्छ भनेर ठगीमा परिन्छ, बैंक ह्याक हुन्छ, यी सबै गलत सूचनाका नतिजा हुन्,’ उनले भने ।


प्रदेशसभा सचिव गोविन्द पौडेलले प्रदेश सरकारमाथि खर्च कटौती र संरचनालाई नै लिएर गलत सूचना फैलाइएको बताए । ‘प्रदेश सभाले खर्च कटौती वा यो संस्था रहने कि नरहने भन्ने कुरा अहिले सामाजिक सञ्जालमा भ्रम फैलाइयो,’ उनले भने ।


नेकपा (एमाले)का युवा नेता झपड रानाभाटले सामाजिक सञ्जालमा ‘राजनीतिक दल आवश्यक छैन’ भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै भने, ‘दलहरू सुधारिनुपर्छ, तर दलविहीन समाज सम्भव छैन ।’ उच्च बारका अध्यक्ष शालिग्राम भट्टराईले अदालतका आदेश र फैसलाबीचको भिन्नता नबुझी भ्रमपूर्ण समाचार लेख्ने प्रवृत्तिको विरोध गरे । ‘जेन जी आन्दोलनलाई उचालेर मिडियाले अनावश्यक रूपमा अतिरञ्जित समाचार लेखे,’ उनको आरोप थियो ।


माओवादी (केन्द्र) कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले गलत सूचनाका कारण आन्दोलनले अनावश्यक हिंसात्मक रूप लिएको बताए । ‘जेन जीको मूल माग भ्रष्टतन्त्रविरुद्ध थियो,’ उनले भने ।


किशोरदत्त बरालले दलगत भातृसंस्था खारेज नगरेसम्म स्वतन्त्र पत्रकारीता सम्भव नहुने बताए । ‘पत्रकार राजनीतिक दलमा बाँडिँदा मिथ्या सूचना फैलिन्छ,’ उनले भने, ‘म स्वतन्त्र पत्रकारिताको पक्षमा छु र दलगत संरचना तोड्न तयार छु ।’

कार्यक्रमा मञ्चका अध्यक्ष विशन क्षेत्रीले स्वागत मन्तव्य दिँदै यस्ता कार्यक्रमले पत्रकार तथा सरोकारवालामा सूचना सन्तुलन र सत्यतामुखी समाचारका विषयमा चेतना अभिवृद्धि गर्ने बताए । ‘मिथ्या र भ्रमपूर्ण सूचनाको चुनौती र समाधान’को अन्तक्र्रियाको मोडरेटर मञ्चका निर्वतमान अध्यक्ष भरत कोइरालाले गरेका थिए भने औपचारीक कार्यक्रमको सञ्चालन सहसचिव उमा आलेले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया