गुणस्तर कायम गर्न निर्माण व्यवसायीलाई सुझाव

समाधान संवाददाता २०८२ असोज ३१ गते १८:४९

लेखनाथ ।

निर्माण व्यवसायीले बनाउने भौतिक संरचनालाई राज्यले तोकेको गुणस्तर कायम गर्न व्यवसायीलाई आग्रह गरिएको छ । लेखनाथ निर्माण व्यवसायी समितिको बिहीबार सम्पन्न आठौँ वार्षिक साधारण सभाका सहभागी वक्ताहरूले घरधनीले आफ्नो जीवनमा प्रायः एक पटक घर बनाउने भएकाले व्यवसायीले बनाउने संरचना नाफाका लागि मात्र नभई राज्यले तोकेको नियम र परिधिमा रहेर गुणस्तरीय सामग्रीको प्रयोगबाट भूकम्प प्रतिरोधात्मक संरचना बनाउनका लागि सुझाएका हुन् ।


लेखनाथ निर्माण व्यवसायी समितिले पोखरा ३० को खुदीमा निर्माण गरेको कार्यालय भवनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले निर्माण व्यवसायी र मजदुरहरूका लागि महानगरपालिकाको सहयोगमा प्राविधिकसहितको प्रयोगात्मक तालिम दिन सकियो भने हामीले प्रयोग गर्ने भवन मजबूत हुने दाबी गर्दै व्यवसायीले आफ्नो सीपको अधिकतम प्रयोग गरी हातमा काम र गोजीमा दाम लिएर फर्कनु पर्नेमा जोड दिएका थिए ।

Advertisement


निर्माण व्यवसायी र घरधनीका बीच अन्तिम अवस्थामा प्रायः देखिने मनामुटावलाई ध्यानमा राख्दै सम्झौताअनुसारकै काम र दाम नहुँदा आउने समस्याका बारेमा समयमा नै सचेत भई वडा कार्यालयसँग समन्वय गरी अगाडि बढ्न समेत वडाध्यक्ष सुवेदीले आग्रह गरेका थिए ।


सोही अवसरमा लेखनाथ निर्माण व्यवसायी समितिका संस्थापक अध्यक्ष किसानसिंह गुरुङले व्यवसायीको आफ्नै लगानीमा जग्गा किनेर भवन बनाउन सफल भएपछि अबका दिनमा व्यावसायिक एकता र काममा कसरी गुणस्तरीयता कायम गर्न सकिन्छ भन्ने बारेमा हाम्रो ध्यान जाने बताएका थिए ।

Advertisement


कार्यक्रममा समितिका अध्यक्ष भीमबहादुर नेपाली ’काइँला’ले अग्रजहरूले देखाएको बाटोलाई पछ्याउँदै निर्माण व्यवसायीले सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राखेर काम गरेको बताएका थिए ।


करिब ३५ लाखको लागतमा निर्माण गरिएको भवन उद्घाटन समारोहमा लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई, लेखनाथ हार्डवेयर्स एसोसिएसनका अध्यक्ष अर्जुनराज पंगेनी, माछापुच्छ्रे निर्माण व्यवसायी समितिका अध्यक्ष बुद्धी लामगादे, दमौली निर्माण व्यवसायी समितिका अध्यक्ष सागर थापा मगर, श्रम निर्माण व्यवसायी समिति पोखराका अध्यक्ष तीर्थबहादुर मगर र संस्थाका सल्लाहकार दुर्गादत्त अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष भीमबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्धराज बस्यालले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जीवन कुमार परियारले दिएका थिए ।

तपाईको प्रतिक्रिया