जो पुतलीसँग खेल्दाखेल्दै पुतली बने

उपेन्द्र पौडेल २०८२ कार्तिक १ गते १५:३१

एकैछिन आँखा चिम्म गरेर सोच्नुहोस् त । बाल्यकालमा रमाइलोका लागि के–के गर्नुभयो? अरू धेरै कुरा हाम्रा नमिले पनि एउटा कुरा सबैको मिल्छ । पुतलीसँगैको हाम्रो दौड ।


सानोमा पुतली र ड्रागनफ्लाइ (घामकिरी) का पछाडि नदौडने को होला र । साना तर रङ्गिन भुनभुनाउने र टिलमिल–टिलमिल गर्दै उड्ने ती जीवका पछाडि दौडेर हामीले बाल्यकालका कयौँ सुन्दर स्मृतिहरू बनाएका छौँ । तिनको सुन्दरता र उडानमा निमग्न भएर हामीले जीवनकै सर्वोत्तम समय गुजारेका छौँ र ती समय एकछिन सम्झँदा मात्रै पनि हामीलाई त्यही निर्दोष बालापनको स्मृतिले छपक्कै छोप्छ ।

तर, सनै–सनै उमेर बढ्दै जाँदा र सांसारिकताले थिच्दै जाँदा हामी पुतली कम र आफ्ना शौख र समस्याहरूका पछाडि धेरै भाग्छौँ । समयले खेद्दै गएपछि हामी घर, गाडी, करिअर र पढाइका डोरीमा बाँधिदै पुतलीको संसार बिर्सेर, पुतलीका कथा बिर्सेर जीवनको भागदौडमा जीवनभर कुदिरहन्छौँ ।

Advertisement


तर, केही मान्छेहरू छन् । जो सांसारिकता सबै छोडेर पुतलीकै दुनियाँमा हराइरहन्छन् । उनीहरुकै नृत्य र लयमा बगि रहन्छन् । विस्तारै पुतलीको कलात्मक पखेटा आफैँले उनेर पुतलीका कुरा गर्दै र पुतलीका पछि लाग्दा–लाग्दै आफैँ पुतली भैजान्छन् । आजको यो कार्यक्रम खासमा बेलायतबाट उड्दै आएर नेपालको सुन्दर धर्तीमा पुतलीको काम गर्दा–गर्दै पुतलीजस्तै जीवन बिताएका पुतलीबाजेको सम्मानको कार्यक्रम हो र उनको जीवनयात्रामा फेरि एकपटक फर्केर उनलाई सम्झने मेलो हो । र, मेलोको बहाना हो । पिटर वायनले लेखेको पुस्तक ‘बटरफ्लाइ ग्रयान्डडयाड’ ।


यसै महिना अर्थात् अक्टोबर १ मा एकजना एन्थ्रोपोलोजीस्ट र प्राइमेटोलोजीस्ट जेन गुडडल यस धर्तीबाट बिदा भइन् । ६ दशकभन्दा लामो उनको चिम्पान्जीको अध्ययनको सारा संसारले मुक्तकण्ठले प्रशंसा ग¥यो र उनको निधनमा सारा संसारका जीववैज्ञानिक र अध्येताहरुले शोक व्यक्त गरे । अझ अक्टोबरमै नेटफ्लिक्सले ‘फेमस लास्ट वर्डस्’ नामक उनको अन्तर्वार्ता नेटफ्लिक्समा सार्वजनिक गर्‍यो ।

Advertisement


लगभग दुई वर्ष अगाडि नोभेम्बर ४ का दिनमा हामीले पनि यस्तै प्रकृतिप्रेमी वैज्ञानिक पुतलीबाजे अर्थात् कलिन स्मीथलाई गुमायौँ । उहाँको लामो नेपालप्रतिको योगदान र जीव विज्ञान अझ पुतली र निशाचर पुतलीको अध्ययनको क्षेत्रमा उनको योगदानबारे विश्वमा त छोडौँ, नेपालमा पनि उति साह्रो चासो राखेको पाइँदैन ।


पिटर वायनको पुस्तक ११ वटा अध्यायमा बाँडिएको छ । लेखकका पिता–माता दुवैजना ‘अल नेसनल कलेज हर्टफोडसाइड इङग्ल्यान्ड’ मा कलेजको अपार्टमेन्टमा बस्दथे र कलिन त्यहीँका विद्यार्थी थिए । लेखकको कलिनसँगको पहिलो भेट त्यहीँ भएको थियो । कलेज पढ्ने बेलैदेखि कलिन पुतलीका शौखिन थिए । त्यसपछि एकपटक भेटको सम्झना छ लेखकलाई । तर, सन् २०१८ मा नेपालका सुरेन्द्र श्रेष्ठसँग बेलायतमा लेखकको भेट भयो ।

नेपाली कानुनअनुसार उतिबेला गौहत्याका लागि मृत्युदण्डको सजाय थियो । पवित्र मनले पोखरेलीका छोराछोरीलाई पढाउन आएको एकजना विदेशीलाई गौहत्याको अपजस आइलाग्यो । तर, पछि थाहा लाग्यो त्यो गाई नभएर साँढे थियो । त्यसैले बाल–बाल बचे कलिन

नेपाली भेटेपछि कलिनले भने, ‘मेरा मामा हुनुहुन्छ नेपालमा, तपाईँ चिन्नुहुन्छ ?’ सुरेन्द्रले अलिकति सोधखोज गरेपछि उनका मामा कलिन नेपालमा ‘पुतली बाजे’ का नामले प्रख्यात भएको सुनाए र सुनाए उनी अहिले नागरिकताका लागि पहल गरिरहेका छन् । आफ्ना बेलायती मामा नेपालमा त्यति सुपरिचित रहेको र उनका कामबारे बेलायतमा भने कुनै जानकारी नै नरहेको देखेपछि पिटरलाई लाग्यो, ‘यो मेरो अभिभारा हो ।’


कलिन आफ्नै जीवनकालमा आफ्नो जीवनी लेख्न चाहन्थे । तर, उनको मान्यता थियो कि तथ्यांक संकलनमा उनी राम्रा छन् तर त्यसमा रस भरेर कथानक कलेवर दिन भने उनी अल्छी छन् । त्यसैले उनले लेखेको उनको कोरा जीवनी अप्रकाशित नै थियो । उनी त्यसको नाम दिन चाहन्थे ‘वन मिलियन फुटस्टेप इन नेपाल’ ।

अर्थात् ‘नेपालमा दश लाख पाइला’ । खासमा त्यो उनको जीवनी पनि उनले आफ्नी आमालाई १९६६ देखि १९८७ सम्म साप्ताहिक पत्र लेख्ने गर्दथे र ती पत्र उनका दाइ आर्नल्डसँग सुरक्षित थियो । कलिनसँगको पत्राचारमा यति थाहा पाएपछि पिटरले न्युजिल्यान्डमा रहेका उनका दाइलाई सम्पर्क गरे र तिनै कलिनको नोट र जर्नलका आधारमा यो पुस्तक तयार भएको हो । त्यसकारण कलिनबारे लेखिएको यो पुस्तक अझ बढी आधिकारिक हुन पुगेको छ ।


पुस्तकको पहिलो खण्डमा पिटरले कलिनको प्रारम्भिक दिन, उनको शिक्षा–दीक्षा र जीवनशैलीको कुरा गरेका छन् । कलिन १९५० मा बोइज स्काउटमा भर्ति भए र त्यही क्याम्पको दौरान र उनका बिदाका दिनमा आफ्नो साना बुबा बबसँग सिकेर उनले पुतली संकलन गर्न सुरु गरे । पहिलो पटक उनले ‘स्मॉल ब्लू’ नामक पुतली संकलन गरे जुन ब्रिटेनको सबैभन्दा सानो पुतली मानिन्थ्यो । ‘स्मॉल ब्लू’ पुतली पक्रेर, संकलन गरेर सुरु भएको कलिनको पुतली यात्रा कालान्तरमा विभिन्न महादेश हुँदै नेपाल र आसपासका धेरै देशमा फैलियो ।


सुरु–सुरुका दिनमा कलिनले पुतली रातीमा पक्रन थाले । टन्न अघाएर सुतेका पुतलीहरू लाइट बालेर पक्रन सजिलो हुन्थ्यो । जंगलमा राती लाइट बालेर पुतली पक्रेर फर्केका कलिन, उनका पिता र भाइ जब गाडीमा आइपुगे, उनीहरूले देखे उनीहरूको गाडीलाई प्रहरीले घेरा हालेर राखेको छ ।

बुझ्दै जाँदा थाहा भयो जंगलमा राती टर्च बालेर यता–उता गरिरहेको उनीहरूलाई देखेर स्थानीयले जंगली जनावरको चोरीशिकारी गर्ने दस्ता ठानेर प्रहरीलाई खबर गरेछन् । जब उनीहरूसँग पुतली देखे, उनीहरूलाई पक्रन आएका प्रहरीहरूले हाँसो रोक्न सकेनन् र ‘अब रातीमा पुतली खोज्नु परे खबर गरेर मात्रै खोज्नु’ भनेर त्यहाँबाट बिदा भएको रोचक प्रसङ्ग छ किताबमा ।


ग्लास्गो विश्वविद्यालयमा सुरुवाती चरणमा प्राध्यापनमा रहेका कलिनलाई उनका प्राध्यापकले अनुसन्धानका लेख प्रकाशन गर्न कर गर्न थाले । त्यहाँको काममा मज्जा नआएपछि उनले मिसनरी काममा जाने इच्छा व्यक्त गरे । उनका लागि दुईवटा अप्सन थिए । एउटा भारतको विद्यालयमा पढाउने र अर्को युनाइटेड मिसन टु नेपालको कार्यक्रममा गोरखाको लुइँटेलमा पढाउने । जसलाई जहाँको हुनु छ, ऊ त्यहीँको हुन्छ । यसरी मिसनरी कार्यक्रमअन्तर्गत सुरु भयो कलिनको नेपाल यात्रा ।


पुस्तकको अर्को अध्याय कलिनको नेपालयात्राबारे छ । १३ जनवरी १९६६ मा कलिनले सुरु गरे सात हजार माइलको नेपाल यात्रा । यो खण्ड यसकारण पनि रोचक छ कि यो खण्डमा कलिनले आफ्नो यात्राका दौरान लेखेको दैनिकी समावेश गरिएको छ । यो अध्याय पढिरहँदा रीटा एन नामक पानीजहाजमा दैनिकी शैलीमा लेखक क्रिस भेन एल्सवर्गले लेखेको कथा ‘द रेच्ड स्टोन’ को सम्झना गराउँछ । पुस्तकमा उनी जहाँ–जहाँ पुगे यात्राको दौरान, त्यहीँ–त्यहीँ ठाउँबाट उनको ‘फस्र्ट ह्यान्ड इन्फर्मेसन’ समावेश गरिएको छ । लन्डनबाट १३ जनवरीमा यात्रा सुरु गरेका कलिन ३ फेब्रुअरीमा बम्बई आइपुग्छन् र १० फेब्रुअरीमा काठमाडौं ।


जति उनी रङ्गीचङ्गी पुतलीका शौखिन थिए, उमेर–वयमा उनी खाना र परिकारबाट पनि उस्तै प्रभावित थिए । ‘आजको ब्रेकफास्टमा १० वटा अन्न, १५ अण्डाका परिकार र १९ वटा अण्डाविनाका परिकार गरी कुल ३४ थरी परिकार रहेछन् । १९ थरीका जाम छन् र मजाको कुरा तपाईँ जति पनि खान सक्नुहुन्छ ।’ कलिनले आफ्नो यात्राको एउटा नोटमा लेखेको कुरा पुस्तकमा पढ्न पाइन्छ । लन्डनबाट १३ जनवरीमा यात्रा सुरु गरेका कलिन ३ फेब्रुअरीमा बम्बई आइपुग्छन् र १० फेब्रुअरीमा काठमाडौं ।


यस खण्डमा कलिनको पहिलो काठमाडौं अनुभवका बारे पढ्दा त्यतिबेलाको काठमाडौंको चित्र मानसपटलमा तस्बिरझैँ स्पष्ट आइपुग्छ । यहाँका मन्दिर, कलात्मक बुट्टा र यहाँका मानिसहरूबारे कलिनको अनुभूति बडो मखमली देखिन्छ । उनले यहाँ एउटा रोचक कुरा पनि भनेका छन् । ‘नेपालीहरू कुनै पनि कुराको सुरुवात बडो धुमधामसाथ गर्दछन् तर त्यसको संवर्धनमा भने उनीहरूको खास ध्यान पुगेको देखिँदैन किनभने भवन बनाउँदा प्रशंसा पाइन्छ तर मर्मत गर्दा केही पाइँदैन ।’ नेपाली मान्छेका हकमा कलिनले भनेको कुरा कतिपय सन्दर्भमा साँचो जस्तो लाग्छ ।


पुस्तकको अर्को खण्ड उनको नेपालमा अध्यापन कर्मका बारे केन्द्रित छ । गोरखाको लुइँटेलमा पढाउन आएका कलिन केही समयपछि नै पोखरामा नयाँ विद्यालय खोल्न लागेकाले पोखरा जानुपर्ने भयो र यसरी भाग्यले डोहोर्‍याएर कलिन पोखरा आइपुगे । पोखरामा ‘नेपाल आइडियल स्कुल’ नामाकरण गरेर खोल्न लागिएको स्कुल स्थापनाको बेला भने ‘नेपाली आदर्श विद्यालय’ का नाममा ४ वटा कक्षा र ६० जना विद्यार्थी अनि तीनवटा बाँसका अस्थायी भवन बनाएर सुरु भयो ।


बडा तन्मयपूर्वक पोखरेली धर्तीमा शिक्षासेवा गरिरहेका कलिनलाई एउटा अकल्पनीय दुर्भाग्यले छोप्यो । तीन जना स्टाफमध्ये दुई जना सिनियर र जुनियर विद्यार्थीलाई लिएर बाहिर डुल्न गएका र विद्यालय कुर्न बसेका कलिनले विद्यालय हातामा गाई पस्न लागेको देखे । विद्यार्थीहरूले भर्खर मात्रै बगैँचा बनाएका थिए । आफ्ना विद्यार्थीका बगैँचा गाईले मास्ला भन्ने डरले कलिनले उनका विद्यार्थीहरूले अरूबेला गाई धपाउन प्रयोग गर्ने विधिजस्तै गरी गाईतर्फ ढुंगा झटारो हाने । तर, दुर्भाग्य गाईलाई तर्साउनेमात्रै नियतले कलिनले हानेको ढुंगा गाईको पछिल्तिर लाग्यो र गाई हल न चल भएर त्यहीँ ढल्यो । विद्यालय हाताभित्रबाट विद्यार्थीहरूले गाईलाई घिसारेर बाहिर लगे र घाँस दिए । तर, त्यसको भोलिपल्ट गाईले प्राण त्याग गर्‍यो ।


नेपाली कानुनअनुसार उतिबेला गौहत्याका लागि मृत्युदण्डको सजाय थियो । पवित्र मनले पोखरेलीका छोराछोरीलाई पढाउन आएको एकजना विदेशीलाई गौहत्याको अपजस आइलाग्यो । तर, पछि थाहा लाग्यो त्यो गाई नभएर साँढे थियो । त्यसैले बाल–बाल बचे कलिन । गाउँका मुखियाले भने, ‘हाम्रा छोराछोरी पढाउन आएका यी विदेशीलाई हामीले अप्ठेरोमा पार्न हुँदैन । हर्जानास्वरूप साँढेधनीलाई १०० रुपैयाँ दिऊँ ।’ त्यो सय रुपैयाँमध्ये पनि पहिलो १० रुपैयाँ उनैले हाले र क्षतिपूर्ति बुझाएर कलिनको त्यो दशा त्यहीँ टर्‍यो ।


यो अध्यायभरि यस्ता रोचक किस्सा सहित तात्कालीन नेपाली आदर्श विद्यालय जुन हालको गण्डकी बोर्डिङ स्कुल हो, त्यसको विकासक्रम र लुइँटेलमा उनले पढाएका बाबुराम भट्टराई र उपेन्द्र देवकोटा लगायतका विद्यार्थीहरूसँगको उनको अध्यापनको विस्तृत व्याख्या पढ्न पाइन्छ भने यही अध्यायमा उनको विद्यालय अध्यापनमा कसरी बिट मारियो र पुतली संकलक र अध्येताका रूपमा उनको यात्रा कसरी सुरु भयो भन्ने पनि पढ्न पाइन्छ ।


१९६३ मा तात्कालीन पृथ्वीनारायण क्याम्पस खुलेपछि पिस कोर भोलन्टियर डोरेथी मिरो र पृथ्वी नारायण क्याम्पसको नेतृत्व गर्नुहुने जर्ज जोनसँगको सामिप्यताको किस्सा सुरु हुन्छ अनि सनै–सनै सुरु हुन्छ डोरेथीको आमन्त्रणमा पुतली म्युजियमको सुरुवातको किस्सा । पुतली संग्रहालयका रूपमा यसलाई विकास गर्दाको घटनाक्रम र यसको स्थापना र कलिनका सहयात्री र अनुयायीका रूपमा काम गरेका विभिन्न व्यक्तिहरूको वर्णन पनि यसै अध्यायमा समावेश गरिएको छ । कलिनले पुतली संकलन गर्दा त्यहाँ ३६५ विभिन्न प्रजातिका पुतली थिए भने हाल ६९४ प्रजातिका पुतली र निशाचर पुतली छन् ।


शौखका रूपमा पुतली संकलन गरिरहेका कलिनले औपचारिक रूपमा करार गरेरै र देशैभरि घुमेर ‘नेचुरल हिस्ट्री म्युजियम’ का लागि सन् १९७४ देखि १९७८ सम्म पुतली संकलन गरी सुरुवात गरेका थिए । त्यसबेला एकजना उप्रेती थरका प्रोफेसरले आफ्नो अफिस कीर्तिपुरमा बोलाएर निकट भविष्यमा बन्न लागेको प्राकृतिक विज्ञान संग्रहालय (का लागि कीटविज्ञान संग्रहालय बनाउन आग्रह गरे । यसपछि त उनी पढाउन छाडेर त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरी नेपालको गाउँ–गाउँ घुम्दै पुतली जम्मा गर्न थाले । यो एउटा चुनौतीपूर्ण काम थियो तर उहाँको रहर पनि थियो ।

नभन्दै उहाँले ४० जिल्लाको भ्रमणपछि करिब २५,००० पुतली संग्रह गरे । यसलाई छुट्ट्याए, हरेकलाई नामाकरण गरे । नेपालमा पाइने ६६० प्रजातिका पुतलीमध्ये उहाँले करिब ५५० प्रजाति भेटाए । यसरी उहाँले आफूले पाएको ६ वर्षको समयमा पुतली संकलनका साथ त्यसलाई सुरक्षित गराई प्राकृतिक विज्ञान संग्रहालयलाई हस्तान्तरण गरे । १३,००० भन्दा बढी पुतली संकलित रहेको उक्त संग्रहालयका सत्तरी प्रतिशतभन्दा बढी पुतलीमा कलिनको योगदान रहेको छ । यस खण्डमा तपाईंहरूले नेपालका पुतली संकलनको इतिहास र देशैभरि रहेका पुतली संग्रहालयबारे राम्रो सूचना र जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।


हुन त आफ्नो कामलाई माया गर्ने सबैलाई आफ्नो सबै काम उत्तिकै मन पर्छ । तै पनि यति धेरै पुतलीबारे काम गरेका कलिनलाई मनपर्ने पुतलीचाहिँ कुन थिए होलान्? पुस्तकको अर्को खण्ड कलिनका केही मनपर्ने पुतलीबारे रहेको छ । कलिनका १३ पुस्तक र उनका आर्टिकलमा विभिन्न पुतलीबारे उल्लेख भए पनि उनका पुतली सहयात्री पिटर भ्यानडेर पोएल, महेन्द्र सिंह लिम्बु र सुरेन्द्र परियारसँग कलिनलाई मनपर्ने पुतलीबारे सोधखोज गरेर उनका मनपर्ने १६ पुतलीको जानकारी त्यहाँ भेट्न सकिन्छ ।


नेपालको राष्ट्रिय चरा डाँफे, राष्ट्रिय खेल भलिबल, तर नेपालको राष्ट्रिय पुतली कुन हुन सक्छ? सुन्दा रोचक लाग्न सक्छ, कलिनले १९९४ मा उनको मनपर्ने र सुन्दर देखिने पुतली ‘कृष्ण पिकक’ लाई नेपालको राष्ट्रिय पुतलीका रूपमा राख्न प्रस्ताव पनि गरेका थिए । यी पिटरलाई मनपर्ने सोह्र पुतलीका केही नाम नेपालसँग जोडिएका पनि रहेछन् जस्तो, ‘अन्नपूर्ण सिल्भरस्पट’, ‘नेपाली वाल’, ‘शेर्पा ह्वाइट’ लगायत ।


पुस्तकको अर्को अध्याय कलिनको विभिन्न समयका पुतली अडिटको यात्रा वृत्तान्त र केही निजी पत्राचारका इमेलसमेत पढ्न पाइन्छ जहाँ कलिनले संकलन गरेका पुतली र त्यसको दस्तावेजीकरणको वृहत् फेहरिस्त समावेश गरिएको छ ।

रंगीन पुतलीको उडानमा मनमग्न कलिनलाई सम्झने र उनको कर्म र मर्मको चर्चा गर्ने मामलामा एउटा इटा थप्ने कुरामा पुस्तकले ‘फ्लाइङ कलर्स’ प्राप्त गरेको छ


नेपालका लागि यत्रो लामो काम गरेका कलिनलाई एउटा समस्या भने सधैँ रहिरह्यो । नेपालमा जति काम गरे पनि नागरिकताका हिसाबले उनी थिए बेलायती । बेला–बेला काठमाडौं पुगेर भिसा थपिरहनु पर्ने र शुल्क बुझाइरहनु पर्ने अनि देशका विभिन्न ठाउँमा डुलेर पुतलीको बारे अध्ययन गर्ने पनि अप्ठ्यारो भएको । कलिनको परिवार पनि बेलायतमा नरहेको र कलिनले आफ्नो कर्म जहाँ छ, त्यहीँको नागरिक बन्ने इच्छा विस्तारै पलाउँदै गयो र सुरु भयो १९९४ बाट कलिनको नेपाली नागरिकता प्राप्तिको संघर्ष । नेपाली सँग बिहे गरे नागरिकता प्राप्त गर्न सजिलो हुने हुनाले बिहेको खास मोह नरहे पनि नागरिकताका लागि सँगै नबसे पनि कलिनले नेपाली चेलीसँग बिहे पनि गरे । तर, त्यसले पनि उनलाई नागरिकता प्राप्तिमा सजिलो भएन ।


सबै कागजात पुगे पनि समस्या एउटा थियो । उनले ब्रिटीस नागरिकता त्याग्नुपर्ने थियो । तर, त्यति हुँदैमा नेपाली नागरिकता पाइन्छ भन्ने पक्का पनि थिएन । ब्रिटीस नागरिकता पनि त्याग्नु र नेपाली पनि नपाएपछि त उनी शरणार्थी हुने भए । न त्यतिबेला नेपालमा तिमीले फलानो देशको नागरिकता त्यागे, तिमीलाई हाम्रो नागरिकता दिन्छौँ भन्ने कुनै व्यवस्था पनि थिएन । परेन फसाद ।


अर्को विकल्प खोज्दै जाँदा एउटा अर्को विकल्प रोजियो । सम्मानित नागरिकता । जसका लागि उनले आफ्नो देशको नागरिकता त्याग्नु पर्दैनथियो । तर, त्यतिबेलासम्म सगरमाथा चढेका सर एडमन्ड हिलारी र पर्यावरणविद् टोनी हेगनलाई मात्रै सम्मानित नागरिकता दिइएको थियो । उनीहरूको काम र योगदानको तुलनामा साधारण पुतली संकलन गर्ने मान्छेलाई नेपाल सरकारले सम्मानित नागरिकता दिन्छ भन्नेमा उनी उति विश्वस्त थिएनन् । नागरिकता प्राप्तिकै लागि उनले झलक्क सम्झे उनका विद्यार्थी १९६८ मा लुइँटेलमा पढाएका बाबुराम भट्टराईलाई ।

पोखरा आएको मौका पारेर उनले भट्टराईलाई पनि कुरा राखे र सहयोगको वचन पाए । कलिनको नेपाली बन्ने चाहनालाई थप बढावा दिन सञ्चार माध्यम र उनका शुभचिन्तक पिटर वायन, सुरेन्द्र श्रेष्ठ, कपिलदेव थापा, एनआरएनका पूर्व सल्लाहकार चन्द्रबहादुर रोकाहा, कागजातमा सहयोग गर्ने सुरेन्द्र परियार, पोखराका वडा नं १८ का तात्कालीन अध्यक्ष रणबहादुर थापा, सिडिओ चन्द्रबहादुर बुढा, सुनिल उल्क, विष्णुदेव पराई, अरुण सापकोटा, लगायतको अथक मेहनतपछि २ डिसेम्बर २०१९ मा कलिनले नेपालको सम्मानित नागरिकता प्राप्त गरे । पुस्तकको यो खण्ड कलिनको यही नागरिकता प्राप्तिको संघर्ष र सफलताको कथा हो ।


पुस्तकको अर्को खण्ड लेखकको नेपाल यात्रा र कलिन र कलिनसँग सम्बन्धित व्यक्तिहरूको भेटघाटमा केन्द्रित छ । जीवनको उत्तरार्धमा उनको उपचारमा संलग्न हरियो खर्क अस्पतालदेखि कलिनलाई ३६ वर्षदेखि सघाउँदै आएका मिनबहादुर परियार लगायत उनको देहमुक्ति को यात्रा, उनको अन्त्येष्टि र उनका केही कामहरूलाई वर्णनमा खर्चेर पुस्तक सकिएको छ ।


यसरी हेर्दा पुस्तकमा कलिनको विद्यालय शिक्षादेखि उनको अन्त्यसम्मको सर्सर्ती टाइमलाइन भेटिन्छ । कलिनका भान्जा भए पनि कलिनसँग खासै संगत नगरेका पिटर वायनले ‘अरे र हो’ का भरमा लेखेको कुरा कसरी पत्याउनु भन्ने लागे पनि पुस्तकमा समावेश भएका कलिनका डायरी र त्यसका किस्साले पुस्तकलाई ‘अथेन्टिक’ बनाएको छ । पुतलीसम्बन्धी अध्यायमा अरूका जानकारी संकलन, कलिनका जर्नल र डायरीको जस्ताको तस्तै टिपोट, नागरिकता प्राप्तिमा उनको पत्र र इमेलको जस्ताको तस्तै लखोटले घरीघरी वायन लेखक होइन सम्पादक जस्ता मात्रै देखिन्छन् ।


कलिनको विराट काम र जीवनको लामो कालखण्डको यो पुस्तक सानो अंश मात्रै हो । कलिनका बारे उनकै काम र उनीबारे लेखिएका कयौँ अन्य आर्टिकल पढ्दा र यो पुस्तक नपढ्दा खासै फरक पर्दैन जस्तो लागे पनि कलिनका कयौँ नजिकका सम्बन्धीहरूको कलिनसँगको सम्झना र स्मृतिका शब्दहरू यस पुस्तकको खास विशेषता हुन् । पहिलोपटक पोखरा आएर कलिनले लेखेको भनिएको डायरीमा ‘पोखरा, रारा ताल, तिलिचो ताल र से–फोक्सुन्डो तालका लागि पनि प्रसिद्ध छ’ भन्ने कुरा उल्लेख भएबाट कलिनलाई पोखराको बारेमा ज्ञान नभएर त्यसो भनेका हुन् कि पिटरले यसको टिपोट लिने बेला गल्ती गरेका हुन् भन्ने प्रश्न पाठकमा रहन्छ ।


भनिन्छ, भानुभक्तले रामायण लेखे तर लामो समयसम्म त्यो प्रकाशित भएन र प्रचारविहीन भएर पाठकसम्म आउनै सकेन । भानुभक्तको लेखनलाई जनमानसमा पुर्‍याउने काम मोतीराम भट्टले गरे । त्यसैले भानुभक्त जति स्तुत्य छन्, उनको कृतित्वको फैलावटका लागि मोतिराम पनि उत्तिकै सम्मानित छन् । आफ्नै मामा कलिनका बारे बेखबर भान्जा पिटरले यो पुस्तक यो रूपमा लेख्न जति मेहनत गरे, पिटरलाई यो पुस्तक लेखाउन र सामग्री जोहो गरेर पिटरको नेपाल भ्रमणको व्यवस्था गरी यो पुस्तकाकारमा ल्याउन सहयोग गर्ने सुरेन्द्र श्रेष्ठ पनि यो पुस्तकको प्रशंसाको उत्तिकै हकदार हुन् ।


अंग्रेजीमा एउटा ‘इडियम’ उक्ति छ ‘फ्लाइङ कलर्स’ । पूर्ण सफलतालाई जनाउने यो उक्ति अंग्रेजीमा असाध्यै प्रयोग गरिने उक्ति हो । यो पुस्तकले कलिनको जीवनलाई सांगोपांगो केलाउने मामिलामा ‘फ्लाइङ कलर्स’ त प्राप्त गरेको छैन तर नेपालीमा यसलाई शाब्दिक उल्था गर्ने हो भने रङहरूको उडानकै अर्थ आउने गरी रंगीन पुतलीको उडानमा मनमग्न कलिनलाई सम्झने र उनको कर्म र मर्मको चर्चा गर्ने मामलामा एउटा इटा थप्ने कुरामा भने यो पुस्तकले ‘फ्लाइङ कलर्स’ प्राप्त गरेको छ ।
पिटरलाई शुभकामना । कलिनलाई श्रद्धासुमन ।


प्रिय कलिन! अहिलेलाइ अब जाऔँ । भरे सपनामा पनि तिमी रंगीचंगी पुतली बनेर आउनु है । म तिम्रो पछिपछि दगुरेर बाल्यकाल बाँच्न चाहन्छु ।
धन्यवाद ।
पोखराको शिक्षा विकासको इतिहास पढ्न चाहनेहरुका लागि पनि यो एउटा आँखीझ्याल हो ।
(पिटर वायनद्वारा लिखित पुस्तक ‘पुतली बाजे’ (बटरफ्लाइ ग्रान्डड्याड) पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा लोकार्पण कार्यक्रम असोज २४ शुक्रबार पौडेलले राखेको प्रस्तुति)

तपाईको प्रतिक्रिया