तिहारमा पोखरेलीलाई पोखराकै फूल

धनबहादुर गुरुङ २०८२ कार्तिक २ गते १२:०१

पोखरा ।
श्रेष्ठ कृषि फार्मका रमेशकुमार श्रेष्ठले यो वर्ष ७ रोपनीमा सयपत्री फूल लगाएका छन् । करिब ३ महिनाअघि लगाएका बिरुवा फूल्न सुरु गरिसकेका छन् । पोखरा १४ चाउथेमा रहेको उनको फार्म सयपत्रीले ढकमक्क छ ।


श्रेष्ठले केही फूल टिप्न सुरु गरिसकेका छन् । कोही फक्रिदै छन् । तिहारसम्ममा सबै फूल सकिनेमा उनी विश्वस्त छन् । तिहारलाई नै लक्षित गरी उनले यो वर्ष करिब डेढ लाख लगानीमा फूल लगाएको बताए । ‘मैले ७ रोपनीमा करिब ४५ सय फूल रापेको हुँ,’ उनले भने, ‘अहिलेसम्म ज्याला, बिरुवा सबै गरेर डेढ लाख लगानी भइसकेको छ ।’


केही क्षेत्रमा मखमली फूल पनि रोपिएको छ । फूल बेचेर यो वर्ष ८ लाख हाराहारी आम्दानी हुने उनको अनुमान छ । पोखरा १४ उद्गमटोलकी लालमाया गुरुङले १० वर्षदेखि तिहार लक्षित सयपत्री फूल उत्पादन गर्दै आएकी छन् । मनकामना नर्सरीकी सञ्चालक गुरुङले यो वर्ष आकासे पानीका कारण फूल उत्पादनमा केही गिरावट आए पनि पुराना ग्राहक रित्तै नफर्काउने बताउँछिन् ।

Advertisement


‘यो वर्ष दसैं बेलामा परेको पानीले उत्पादनमा कमी त आएको छ । तर, हामी पुराना ग्राहकलाई यतिकै फर्काउदैनौं,’ उनले थपिन्, ‘पहिलेको जस्तो छेलोखेलो त नहोला, तैपनि पोखराका दाजुभाइको घाँटीमा पोखराकै उत्पादन होस् भन्ने हाम्रो चाहना छ ।’ श्रेष्ठ र गुरुङले जस्तै पोखरा महानगरभर ३ सयभन्दा बढी कृषकले फूल खेती गरिरहेका छन् ।


उनीहरुले ३ सय रोपनी क्षेत्रफलमा फूल उत्पादन गरिरहेका छन् । पोखरेलीको उत्पादनको अवस्था हेर्दा यो वर्ष तिहारका लागि आवश्यक सयपत्री, मखमली पोखराकै उत्पादनले पुग्ने फ्लोरिकल्चर एसोसियसन अफ नेपाल कास्की अध्यक्ष श्रीराम सुवेदीले बताए ।

Advertisement

पोखराका ३ सय पुष्प व्यवसायीको करिब ३ सय रोपनीमा लगाएको खेतीबाट ३ लाख माला बन्ने अनुमान

‘यो वर्ष पनि विगत जस्तै कास्की जिल्लालाई पुग्ने फूल यहीको स्थानीय उत्पादन हुन्छ भन्ने आकलन गरेका छौं,’ उनले भने, ‘फूलकै लागि पोखरा महानगरले पनि बिउ र प्रविधिमा साथ दिएको छ । त्यसले गर्दा हाम्रो संस्थामा आवद्ध पुष्प व्यवासायीबाहेक अन्य कृषकले पनि सयपत्री मखमली लगाएका छन् । सबैको उत्पादन राम्रो भएकै कारण हामी विश्वस्त छौं ।’


यो वर्ष जिल्लाभर करिब ४ करोडको फूलको कारोबार हुने अध्यक्ष सुवेदीले बताए । स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि पोखरा महानगरसँग मिलेर अनुमगमन पनि भइरहेको छ । महानगरले दिएको अनुदानबाट फूल उत्पादन गरिरहेका किसानको बारीमै पुगेर फूलको अवस्थाबारे जानकारी लिइएको छ भने बाहिरबाट आयात हुने र प्लास्टिकका फूल प्रतिबन्धमा महानगरसँग समन्वय गरिरहेको सुवेदीले सुनाए ।


पोखरा महानगरले पनि स्थानीय उत्पादनलाई साथ दिइरहेको छ । यो वर्षको तिहार पोखराकै कृषकले उत्पादन गरेको फूल प्रयोग गर्न महानगरले आग्रह गरेको छ । यसका लागि यहाँका किसानको उत्पादन बजारीकरणका लागि पनि योजना बनाइएको छ ।


तिहार बेला पोखरालाई फूलमा आत्मनिर्भर बनाउन पोखरा महानगरले बिउ, प्रविधिदेखि बजारसम्म सहयोग गरिरहेको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । तिहारलाई मध्यनजर गरी असारमै किसानलाई ५० प्रतिशत अनुदानमा बिउ र मल्चिङ प्लास्टिक दिइएको थियो ।


‘पोखरा महानगरको करिब ३ सय रोपनीमा खेती भइरहेको छ । महानगरले केहीलाई बिउ र मल्चिङ प्लास्टिक अनुदान दिएको छ । पुष्प व्यवसायीले अनुदान बिना पनि उत्पादन पनि गरिरहनु भएको छ’, उनले भने, ‘समग्रमा हेर्दा ३ लाख जति बिरुवामा फूल उत्पालन भइरहेको छ । एउटा बोटको फूलले एउटा माला बनाउँदा पनि ३ लाख जति माला तयार हुने अवस्था छ ।’ सोही कारण पोखरामा फूल र फूलका माला अभाव नहुने उनको भनाइ छ ।


समूह र व्यक्तिगत गरी ३ सयभन्दा बढी कृषक पुष्प व्यवसायमा आवद्ध भएको कडरिया बताए । जसले गर्दा स्थानीय उत्पादनले पोखरा आत्मनिर्भरोन्मुख बन्दै गएको उनले सुनाए । ‘८ वर्ष पहिलासम्म ८० प्रतिशत फूल बाहिरबाट आयात गर्नुपर्ने अवस्था थियो । अहिले हामी आत्मनिर्भर हुँदै गएका छौं,’ उनले भने, ‘त्यसैको निरन्तरताका लागि बिउ, प्रविधि, अनुगमन, बिक्री वितरणको व्यवस्था, मूल्य निर्धारण गरेका छौं । त्यति गर्दा पनि बिक्री नभए कृषकको आत्मबल नघटोस् भनेर केही समर्थन मूल्य तोकेर दिने गरेका छौं ।’


यो वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ । त्यसका लागि शनिबार दिनभर अनुगमनमा हिडेको उनले बताए । स्थानीय उत्पादनलाई प्राथमिकता दिन प्लास्टिकको फूल रोक लगाउन सूचना जारी गरी अनुगमनमा भइरहेको छ ।
यो वर्ष उपभोक्तालाई मर्का नपर्ने गरी महानगरले नै मूल्य तोकेर सोही अनुसार फूलको बिक्री वितरण हुने कडरियाले उल्लेख गरे ।

थुंगाको तौलका आधारमा मूल्य निर्धारण गरिएको छ । १५ देखि २० ग्रामका फूल प्रति थुंगा ५ रुपैयाँ, १० देखि १५ ग्रामका लागि चार रुपैयाँ र ५ देखि १० ग्रामसम्मलाई दुई रुपैयाँ तोकिएको छ । मालाको हिसाबमा ठूलो थुंगाबाट बनेको छ भने १ सय ५०, मध्यमबाट बनेको भए १ सय ३० र सानोबाट बनेकोलाई १ सय रुपैयाँ निर्धारण गरिएको छ ।


किलोका हिसाबमा पनि ३ देखि ४ सय रुपैयाँसम्म फूल बेचिनेछ । उत्पादक र उपभोक्ता दुवैलाई मर्का नपर्ने गरी मूल्य निर्धारण गरिएको कडरियाले बताए ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया