‘निजी क्षेत्र माथिको हस्तक्षेप अस्वीकार्य’

समाधान संवाददाता २०८२ कार्तिक २ गते १३:१४

पोखरा ।
नेपालीको महान चाडपर्वको सन्दर्भ पारेर पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले हरेक राजनीतिक परिवर्तनमा नाममा निजी क्षेत्रमाथि भएको आक्रमण स्वीकार्य नहुने बताए ।


जेनजी आन्दोलनको क्रममा जनधन तथा व्यवसयिक प्रतिष्ठानमा ठूलो क्षति हँुदा सुरक्षा दिने राज्य निरीह भई टुलुटुलु हेरेको उनले उल्लेख गरे । उनले सुरक्षा दिने निकायलाई जनताले सुरक्षा दिन परेको टिप्पणी गरे । ‘उद्योगी, व्यवसायी पटक पटक अन्यायमा परेका छन्,’ ‘उनले भने, ‘सशस्त्र जनयुद्ध, नाकाबन्दी कोराना कहरको सामना गरेको निजी क्षेत्र चन्दा नदिएको कारण पटकपटक आतंकित भएको छ ।’


उनले चन्दा नदिएका कारण व्यवसायिक प्रतिष्ठान तोडफोड भएता पनि शासन चलाउनेले व्यवसायीलाई जोगाउन नसकेको आरोप लगाए । ऋण, धन गरेर लगानी गर्नेको दोष नभएको उल्लेख गर्दै उनले जेनजी आन्दोलनको क्रममा भएको तोडफोड आगजनीको छानबिन गर्न माग गरे । अन्नपूर्णमा औद्योगिक ग्राम बनाउने योजना सुनाउँदै उनले सामुदायिक विद्यालय लगायतका खाली जग्गामा उद्योग व्यवसाय खोलेर सदुपयोग गर्न प्रस्ताव गरे ।

Advertisement


आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुंगानाले कुल ग्राहस्थ उत्पादन बढाउन र रोजगारीको सिर्जना गर्न निजी क्षेत्रको योगदान रहेको बताए । कार्यालय जलेको कारण क्यान्टिनबाट सेवा दिन थालेको जानकारी दिँदै उनले ब्याकअप भएकाले कार्यालयको डेटा सुरक्षित रहेको उल्लेख गरे । उनले कहिलेकाही कर छली भएको खण्डमा भएको कर प्रशासनको हस्तक्षेपलाई सामान्य रुपमा लिन आग्रह गरे ।

‘सशस्त्र जनयुद्ध, नाकाबन्दी कोराना कहरको सामना गरेको निजी क्षेत्र चन्दा नदिएको कारण पटकपटक आतंकित

Advertisement


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आगजनी, तोडफोडले जलेको प्रहरी कार्यालय पुननिर्माणमा निजी क्षेत्रको सहयोगले प्रहरीको मनोबल बढेको जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आगजनी तोडफोड र लुटपाट भएका सरकारी कार्यालय व्यवस्थापन र सञ्चालन गरी आर्थिक क्षेलाई चलायमान बनाउन माग गरे ।


निजी आवास, उद्योग प्रतिष्ठानमाथि भएको आगजनी तोडफोड निन्दनीय भएको उल्लेख गर्दै उनले आगजनी तोडफोडको क्षतिपूर्ति दिन आग्रह गरे । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले जेन्जी आन्दोलनको क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीकार कारण व्यवसायिक वातावरण बन्न नसकेको बताए । उनले जुनसुकै आन्दोलनको नाममा उद्योग प्रतिष्ठानमाथिको आक्रमण निन्दनीय भएको उल्लेख गरे ।


चेम्बर अफ कमर्स कास्कीका निवर्तमान अध्यक्ष यमनाथ पौडेलले तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नलाई कारवाही नगरेसम्म सुरक्षाको वातावरण बन्न नसक्ने तर्क गरे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, चेम्बर अफ कमर्स कास्कीका वस्तुगत उपाध्यक्ष नवीन बराल, महासचिव गोकर्ण अधिकारी, सल्लाहकार विष्णुप्रसाद बास्तोला लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया