कालीगण्डकी खोचमाथि डोरीमा हिँड्ने अभ्यास

समाधान संवाददाता २०८२ कार्तिक २ गते १४:२५


पोखरा
धनकुटा हिलेका शंकर कोइरालाले आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा आयोजना गरेको हाइलाइन कार्यक्रम पर्वतको कुस्मा र बागलुङको बलेवाबीचको कालीगण्डकी खोचमा पहिलोपटक सम्पन्न भएको छ । जर्मनीमा बस्दै आएका कोइरालाले पछिल्लो १५ वर्षदेखि युरोपका विभिन्न देशमा हाइलाइन गर्दै आएका थिए । यसपटक उनले नेपालमै यो चुनौतीपूर्ण साहसिक खेलको अभ्यास गरेर नयाँ उदाहरण स्थापित गरेका हुन् ।


यो हाइलाइन ‘द क्लिफ’का रूपमा परिचित एड्भेन्चर हबमा पहिलो पटक अभ्यास गरिएको हो । ‘द क्लिफ’का अध्यक्ष राजु कार्कीका अनुसार साहसिक पर्यटन प्रवर्धनको उद्देश्यले गरिएको यो प्रयास सराहनीय छ । उनले नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको बताए, जसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने विश्वास व्यक्त गरे । यो हाइलाइन डोरी कुल ४०८ मिटर लामो थियो । यसले कुस्मातर्फको हार्नेस जिपलाइन र बलेवातर्फको ‘द क्लिफ’लाई जोडेको थियो । यसलाई दक्षिण–पूर्व एसियामा दोस्रो सबैभन्दा लामो र नेपालकै सबैभन्दा अग्लो हाइलाइन मानिएको छ ।


असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम कात्तिक १ गतेसम्म चलेको थियो । नेपाल स्ल्याकलाइन कम्युनिटी र ’द क्लिफ’को सहकार्यमा दुई वर्षको निरन्तर तयारीपछि यो आयोजनाले मूर्तरूप पाएको हो । हाइलाइन टोलीमा शंकर कोइरालासहित तीन नेपाली (सुलभ चालिसे, सहन महर्जन, र कोइराला स्वयं), एक न्युजिल्यान्डका नागरिक र दुई जर्मनीका नागरिक गरी ६ जना सहभागी थिए । नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यहरूले युरोपेली प्रशिक्षकहरूको सहयोगमा यो परियोजना अगाडि बढाएका हुन् ।

Advertisement


कोइरालाका अनुसार यो खेल हेर्दा डरलाग्दो देखिए पनि पूर्ण सुरक्षा मापदण्ड पालना गरिएको थियो । उनले हाइलाइन र स्ल्याकलाइनजस्ता गतिविधिले युवामा साहस, सन्तुलन र एकाग्रता विकास गर्ने मात्र होइन, नेपालको प्राकृतिक सौन्दर्यलाई विश्वमा चिनाउने माध्यम पनि बन्न सक्ने बताए । स्ल्याकलाइन सामान्यतया जमिनबाट ३० सेन्टिमिटरदेखि १ मिटर उचाइमा तानिएको पट्टीमा सन्तुलन मिलाउँदै हिँड्ने खेल हो । यो ध्यान, लचकता र शरीर नियन्त्रणका लागि विश्वभर लोकप्रिय अभ्यास हो ।


तर, हाइलाइन भने २० मिटरदेखि सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । पर्वत, पुल वा खोचमा गरिने यो खेल मानसिक एकाग्रता र शारीरिक सन्तुलनको चरम परीक्षा मानिन्छ । नेपालमा सुरु गरिएको यो परियोजनाले पोखरा, कुस्मा र वरपरका क्षेत्रमा साहसिक पर्यटनमा नयाँ उचाइ ल्याउने अपेक्षा गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया