मन्त्रीको सूचीबाट नाम काटिएकी डा. मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

समाधान संवाददाता २०८२ कार्तिक २ गते १४:३४

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्वास्थ्य सेवा विभागमा आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ अनियमितता गरेको भन्दै आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, उनीहरू सबैबाट उक्त बिगो असुल गर्न र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जरिवाना सजायको माग दाबी गरिएको छ ।

Advertisement


यो घटना तब बाहिर आएको हो, जब डा. मिश्रालाई प्रधानमन्त्री सुशीला कार्कीको सरकारमा मन्त्री बनाउने तयारी भएको थियो । जेनजी प्रदर्शनपछि सुशीला कार्कीले उनलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी थिइन् । तर, उनीमाथि भ्रष्टाचार अनुसन्धान भइरहेको विवाद चर्किएपछि कार्कीले अन्तिम समयमा उनको नाम सूचीबाट हटाएकी थिइन् ।


अख्तियारले मुद्दा दायर गरेका अन्य व्यक्तिहरूमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. श्रवणकुमार थापा, व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, निर्देशक डा. विवेककुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल र लेखापाल तिलकराम ढकाल छन् ।

Advertisement


यस्तै, बायोमेडिकल इन्जिनियर आशिष चौहान, तत्कालीन बायोमेडिकल इन्जिनियर पद्म मिश्र, केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह र म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिका मुख्य व्यक्ति सुन्दर भुसाललाई पनि अख्तियारले विपक्षी बनाएको छ । म्यामोग्राफी मेसिन खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो, जसले गर्दा यो ठूलो अनियमितता बाहिर आएको हो ।

तपाईको प्रतिक्रिया