
पोखरा ।
पिठ्युमा डोको, निधारमा नाम्लो, मोबाइलमा बजिरहेको पुरानो हिन्दी गीत । सुन्दै बाटो काटिरहेका थिए सिक्लेसका चित्रबहादुर गुरुङ । ‘हिन्दी बुझ्नुहुन्छ ?’ उनले जवाफमा भने, ‘बुझ्छु नि, २५ वर्ष भारतमा बसेको हो ।’ उनलाई पुराना हिन्दी गीत मन पर्छ । नेपाली गीतसमेत राखिएको मोबाइल हराएपछि उनले हिन्दीले नै काम चलाएका छन् । मादी गाउँपालिका वडा नम्बर १ मा रहेको कोरीबाट फर्किने बाटोमा ६८ वर्षीय गुरुङ भेटिए ।
बुढेसकालमा डोकोभरी सामान बोकेर फूर्तिका अघि बढिरहेका थिए उनी । डोकोमा ‘घिउ, मोही, छुर्पी, थियो, साथमा डोको बुन्ने निगालो पनि । गुरुङले भने, ‘निगालोको डोको राम्रो बन्ने भएकाले यहाँबाट लैजान्छु । आफैंलाई मात्र हो बुन्ने । सीप भएर के गर्ने, बेच्न मिल्दैन । डोको बुनेर बेच्दा गाउँलेले कुरा काट्छन् । भकारी र मान्द्रो भने बेच्छु । वर्षमा १०/१२ वटा जति बनाउँछु ।’
उमेर हुँदा एकै दिनमा कोरी—सिक्लेस जाउआउ गर्थे उनी । चित्रबहादुरको जवानी विदेशमै बित्यो । उनी कुवेतमा ६/७ वर्ष बसे । २/३ वर्ष त बिनातलब काम गरे । ‘तलब लिने बेलामा साहुले बाहानामात्रै पाथ्र्याे । अर्काे ठाउँमा गएपछि भने कमाइ राम्रो हुँदै गाथ्यो । ४० लाखभन्दा बढी कमाएँ,’ उनी भन्छन्, ‘५० वर्ष पुगेपछि बस्न नपाइने भएकाले फर्किन पर्यो । उमेर ५० भए पनि काम त म २५ वर्षे ठिटाले जति गर्न सक्थें ।’
उनी अझै खेतबारीमा मेहनत गर्छन् । धान, मकै, कोदो फलाउँछन् । त्यही अन्नले बुढाबुढीलाई वर्षभरी पुग्छ । उनका भाइ बुहारीले जंगलमा गोठ राखेका छन् । गुरुङ खाना, नून, तेल पुर्याउन जान्छन् । फर्कदा घिउ, छुर्पी, मोही बोकेर घर झर्छन् । छुर्पी मानाको १ सय ६० रुपैयाँ पर्ने उनले जानकारी दिए । घिउको मोल भने खुलाउन चाहेनन् ।
चित्रबहादुर १२ वर्षको हुँदा परिवार टोडाबाट सिक्लेस सरेको थियो । त्यति बेला टोडामा ४० जति घर थिए । अहिले त्यहाँ एउटा पनि घर छैन । पसिंगो गाउँ हराइसकेको छ, खेतबारी बाँझो छन् । प्रकृति सुन्दरताले भरिपूर्ण, ‘स्वर्ग’को एक टुक्रा हो कोरी क्षेत्र ।
कास्कीको मादी गाउँपालिका १ मा पर्ने कोरी छोटो पदयात्रा चाहनेहरुका निम्ति खास गन्तव्य बन्दै गएको छ ।
४० घर रहेको उनकाे पुरानाे गाउँ पूरै खाली छ । चित्रबहादुर ६८ वर्षमा सिक्लेसकाे उकाली ओराली गर्दै छन् ।
कोरीमा रहेको होटेल आइसफलका सञ्चालक ललित गुरुङ पछिल्लो समय पर्यटकको संख्या बढ्दै सुनाउँछन् । बर्खामा बुकी फूल हेर्न, हिउँद (मंसिर–पुस)मा हिउँ खेल्न पर्यटक आउने उनले बताए । यहाँ असारदेखि भदौसम्म विभिन्न प्रजातिका वनफूल अर्थात् बुकी फूल लहराउँछन् ।
‘नेटवर्क टावर जडान गर्न सकियो भने पर्यटकलाई सम्पर्कमा रहन सजिलो हुन्थ्यो र थप केही दिन बसाईं लम्बाउन सकिन्थ्यो । विविध पूर्वाधार र पर्यटन विकास योजना आवश्यक छन्,’ गुरुङले भने । हिँड्न गाह्रो भएपनि सुन्दरताले थकाई मेटिन्छ ।
भारतबाट पदयात्राका लागि आएका २६ वर्षीय अमित कुमारले कोरीको सौन्दर्यले मन्त्रमुग्ध बनाएको बताए । पहिलोपटक ट्रेकिङमा निस्किएका उनी प्राकृतिक दृश्यले कष्टकर यात्रा बिर्साइदिएको जनाउँछन् । सुरुमा हिँड्न गाह्रो भए पनि बाटोका हरिया वन, बुकी फूल र हिउँले ढाकिएका डाँडाले थकान भुलाएको उनको अनुभव छ ।
‘हिँड्दा थकाइ त लाग्थ्यो, तर प्रत्येक मोडमा नयाँ दृश्य देख्दा त्यो थकाई पलभरमै हराउँथ्यो,’ अमितले भने,’ ‘नेपालका अरु ठाउँमा पनि जाने मन छ । कोरीको प्राकृतिक सौन्दर्य, स्थानीयको आत्मीय स्वागतले जीवनकै सबैभन्दा यादगार यात्रा भयो ।’
कोरीबाट ६,९८८ मिटरको लमजुङ हिमाल, ७,९३७ मिटरको अन्नपूर्ण दोस्रो, ६,९९३ मिटरको माछापुच्छ्रे हिमाल र ८,१५६ मिटर उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ ।

ज्यान धरापमा राखेर यात्रा गर्न बाध्य
टिकटक, फेसबुक र इन्स्टाग्रामको रिल्समा कोरीको सुन्दरता देखेर हिडेका पर्यटकलाई यहाँ सडकले अफ्ठारोमा पार्छ । पोखराको काहुँखोलादेखि ३९ किलोमिटर कच्ची सडक पार गर्दै सिक्लेस पुग्नुपर्छ । वर्खाको समयमा सडक थप जोखिमपूर्ण हुन्छ ।
सडकका कारण सिक्लेस, कोरी पुग्ने पर्यटकलाई सास्ती भएको छ । सिक्लेसका जिपचालक मीनबहादुर गुरुङले सडकको ट्रयाक खुलेको २ दशकसम्म पनि सडक स्तरीय बन्न नसक्नु सरकारको ठूलो कमजोरी रहेको गुनासो पोखे । जेनतेन गाडी चल्ने भए पनि ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने बाध्यता उनले सुनाए ।
हिउँदमासमस्या नहुने तर बर्खामा पानीका मूल धेरै फुट्ने भएकाले बाटो मर्मतमा समस्या परेको उनको भनाइ छ । ‘बर्खामा बाटोमा खराब भएकाले भाडा बढाउनुपर्ने हो । हिउँदमा ठीकै हो । बर्खा र हिउँदमा भाडा फरक फरक हुनुपर्छ,’ उनी भन्छन्।
केही दिनमा पोखरा सिक्लेस सडक स्तरोन्नतिको कामले गति लिने मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । पोखरा महानगरपालिका १३ विजयपुरखोलाबाट मादी ६ चिप्लीसम्म २० किलोमिटर सडक स्तरोन्नित भएको छ ।
पहिलो चरणमा विजयपुरखोलाबाट मादी ७ थाकसम्म १० किमी सडक, दोस्रो चरणमा चिप्लीसम्मको सडक कालोपत्र भइसकेको गुरुङले बताए । ‘अब सिक्लेससम्मको १४ किमी सडक कालोपत्र हुन बाँकी छ’, अध्यक्ष गुरुङले भने, ‘अहिले पोखराबाट गाडीमा साढे २ घण्टामा आउन सकिन्छ, कालोपत्र सडक सिक्लेसम्मै जोडियो भने पोखरासम्मको यात्रा थप १ घण्टा छोटिन्छ ।’
‘प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा यसलाई अघि बढाएसँगै बजेटमा पनि प्राथमिकता पाएको छ’, उनले भने । सडक स्तरोन्नति भएसँगै सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचे लगायत गन्तव्य पुग्ने पर्यटकको यात्रा सहज हुनेछ ।





प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया