तिहारमा गुञ्जिरहने गीतहरु

समाधान संवाददाता २०८२ कार्तिक ३ गते ११:२४

पोखरा ।
नेपालीको घरआँगनमा तिहार आइसकेको छ र यस पर्वको अभिन्न अंग देउसी–भैलो हो । परम्परागत रूपमा मादल, बाँसुरी र झ्यालीको तालमा खेलिने देउसी–भैलोले नेपाली संगीतलाई वर्षौंदेखि जीवन्त राखेको छ । यद्यपि, हालैका वर्षहरुमा डिजेमा देउसी गीत बजाएर यो पर्व मनाउने चलन बढेको छ, जसले परम्परागत देउसी–भैलोको लोप हुने संकेत देखाएको छ । तिहारका यी गीतहरूले पर्वमा सधैँ रौनक थप्ने गरेका छन् ।

Advertisement


तिहार भन्ने बित्तिकै ‘अन्याय’ चलचित्रको ‘अधरमा आज उनकै छ’ गीत, आशा भोस्लेको ‘दियो बाली साँझको’, ‘विजय पराजय’ चलचित्रको ‘निधारमा लर्काएर सप्तरंगी टीका’, राजु लामाको स्वरमा रहेको ‘भाइटीकामा भेट्न आउँला’ बोलको गीतले पनि देश–विदेशमा रहेका नेपालीको मन बिझाउँछ र बेस्सरी तिहार सम्झाउँछ । त्यस्तै, टंक बुढाथोकीको ‘भन भन भाइ हो’, धर्मेन्द्र सेवानको ‘देउसिरे’, एक्स ब्यान्डको ‘देउसी भैलो’ लगायतका थुप्रै गीतलाई तिहारमा बज्ने गीतहरूका रूपमा लिन सकिन्छ ।
‘तिहारै आयो, लौ झिलिमिली, सुन हजुर भैलिनी आइन् आँगन…’

चलचित्र ‘स्वर्ग’ मा समावेश यो गीतले नेपालीहरूलाई तिहार आएको महसुस गराउँछ । यसले तिहारको गाथा गाउँछ र हिन्दू धर्मावलम्बीको परम्परा, प्रचलन तथा संस्कृतिलाई उजागर गर्छ । शम्भु प्रधानको निर्देशनमा बनेको यो गीत तिहार नजिकिएसँगै रेडियो, टिभी र विभिन्न सञ्चार माध्यममा प्राथमिकताका साथ बज्छ । अभिनेता नीर शाह, गौरी मल्ल, पवन मैनाली, भिम्बरसिंह थापालगायतको अभिनय रहेको यो गीत तिहारका लागि सदाबहार छ । यादव खरेलले लेखेको, शम्भुजित बाँस्कोटाले संगीत भरेको तथा लोचन भट्टराई र नूतन प्रधानले गाएको यो गीत तिहारमा सबैभन्दा धेरै बज्ने गीतहरूमध्ये एक हो ।

Advertisement


‘दियो बाली साँझको…’
चलचित्र ‘चिनो’ मा समेटिएको ‘दियो बाली साँझको’ तिहारको अर्को सदाबहार गीत हो, जुन यस पर्वमा खुबै गुञ्जिन्छ । अधिकांशका लागि यो गीत कर्णप्रिय छ ।
‘दियो बाली साँझको
फूल सजाई पूजाको…’


भारतीय गायिका आशा भोस्लेको स्वरमा सजिएको यो गीत तिहारका गीतहरूमध्ये निकै रुचाइएको देउसी गीतमा पर्दछ । २०४८ सालमा बनेको ‘चिनो’ प्रदर्शन भएयता हरेक तिहारमा यो गीतले स्थान पाउँछ । निर्देशक तुलसी घिमिरेको शब्द तथा रञ्जित गजमेरको संगीत रहेको यो गीतको पछिल्लो समय रिमेक पनि गरिएको छ । रिमेक गीतमा नेपाली गायिका जमुना शर्माको आवाज र उनका श्रीमान प्रमोद तिमल्सिनाको संगीत सुन्न सकिन्छ ।

Advertisement


‘निधारमा लच्काएर सप्तरंगी टीको…’
चलचित्र ‘विजय पराजय’ मा समावेश यो गीत तिहारमा बज्ने निकै चर्चित गीत हो । भाइटीका विशेष बनेको यो गीतले हरेक वर्ष भाइटीकाको उमंग भर्छ । गायिका हेमलताको आवाजमा सजिएको गीतमा दाजु र बहिनीबीचको निश्चल मायालाई देखाइएको छ । कवि तथा गीतकार दिनेश अधिकारीले लेखेको यो गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ भने भुवन केसी, कृष्ण मल्ल, शर्मिला मल्ल र रुपा राणाको अभिनय छ ।


‘दाइ त मेरो लाहुर जाने…’
तिहारसँग जोडिएको एउटा मार्मिक गीत हो ‘दाइ त मेरो लाहुर जाने… ।’ दाजुबहिनीको मिठो सम्बन्धबारे तयार यो गीत हरेक तिहारका लागि विशेष मानिन्छ । युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको यो गीतमा दैवज्ञराज न्यौपानेका शब्द र युक्त गुरुङकै संगीत छ । यसमा परदेशिएको लाहुरेको कथा समेटिएको छ । हाल यस गीतको नयाँ भर्जन पनि सार्वजनिक भएको छ, जसमा दुर्गा गुरुङ र गणेश गुरुङको स्वर सुन्न सकिन्छ ।


‘वर्षमा दिनैमा लै लै… हर्षका दिन यी लै लै…’
दशैँ र तिहारलाई जोडेर तयार गरिएको यो गीत निकै लोकप्रिय पर्व गीत हो । सुगम पोखरेलको स्वरमा रहेको यो गीत दशैँसँगै तिहारका लागि पनि उत्तिकै प्रिय छ । रवि श्रेष्ठको लेखन र सुगम पोखरेल स्वयम्को संगीत रहेको यो गीत दशैँदेखि तिहार नसकिँदासम्म बज्छ । यसले शरदको आगमनसँगै सबैको मनमा चाडपर्वको उत्साह जगाउने क्षमता राख्छ । त्यसैले पनि सुगमको यो आवाज हरेक वर्ष आउने दशैँ र तिहारमा विशेष मानिन्छ ।


‘झिलिमिली रातमा, साथीभाइ साथमा…’
अक्षता अधिकारी र नवाज अन्सारीको आवाजमा रहेको यो देउसी–भैलो गीत तिहारमा खुबै गुञ्जिन्छ । लोक–पप फ्युजनमा तयार यो गीत ७ वर्षयता सबैका लागि देउसी–भैलोको सहारा बनेको छ । देउसे र भैलेनीहरू यही गीतमा गाउँछन् र रमाउँछन् । गीतमा ¥यापसँगै किबोर्ड, रेग्गे बिटको गिटार, बिटबक्स, सारंगी र मादलका ताल पनि मिसाइएको छ । त्यसैले होला तिहारसँगै अक्षता र नवाजको यो आवाज हरेक नेपालीको ओठमा गुञ्जिएको हुन्छ ।


‘भाइटीका…’
गायिका मिलन नेवार र गायक तथा संगीतकार राजन तिमिल्सिनाको आवाजमा रहेको नयाँ गीत ‘भाइटीका’ पनि तिहार विशेष गीत हो ।
‘भाइटीकामा भेट्न आउनु मेरो प्यारो भाइ,
अरु केही चाहिँदैन तिम्रो दिदीलाई…’


यसै वर्ष सार्वजनिक भएको यस गीतमा दिदीले टाढा रहेको भाइलाई तिहारमा भेट्न आउन आग्रह गरेकी छन् भने तिहारका पुराना यादहरूलाई पनि उजागर गरिएको छ । गीत नयाँ भए पनि समावेश शब्द र संगीतले दर्शक–श्रोताका लागि निकै प्रिय लाग्छ ।


‘यसपालिको तिहारै रमाइलो…’
पछिल्लो समय देउसीसँगै नृत्य गर्ने परम्परा बढ्दो छ । नृत्यबिनाको देउसी समूहको आकर्षण नै घट्न थालेको छ । यसर्थमा सामूहिक रूपमा आयोजना हुने देउसी कार्यक्रमहरूमा नृत्य राखिएकै हुन्छ । यस्ता नृत्यमा छुट्दै नछुटेको गीतमा यो गीतलाई पनि लिन सकिन्छ । ‘कोहिनुर’ चलचित्रको यो गीत चलचित्रसँगै धेरैले मन पराएको गीत हो । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको यो गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । नेपाली देउसीको समयलाई दृश्यमा देखाइएकाले र समसामयिक तिहारसँग जोडिएको यो गीत पनि देउसीमा बज्ने उत्कृष्ट गीतमा पर्दछ ।


‘देउसी, भैलो गीत देउसिरे भन साथी हो…’
नेपाली गीत संगीतमा चाडपर्वलाई लक्षित गरी नयाँ सिर्जना ल्याउने चलन कायम नै छ । नयाँदेखि चलेका पुराना सर्जकहरू यस्ता सिर्जना बनाउन लालायित हुन्छन् । यसै क्रममा यस वर्षका लागि भर्खरै मात्र पशुपति शर्मा, शान्तिश्री परियार, सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको नयाँ देउसी गीत सार्वजनिक भएको छ । यसले पनि छोटो समयमा दर्शक–श्रोताको मन जितिरहेको छ ।

‘गुडलक नेपाल’ युट्युब च्यानलमा सार्वजनिक भएको यो गीतले १० दिनमै १ करोड ‘भ्युज’ पाइसकेको छ । मुख्य गरी पशुपति शर्माले मुख्य भूमिका निर्वाह गरेको यो गीतले पनि तिहारमा रमाइलो दिन थालेको छ ।

तपाईको प्रतिक्रिया