तिहारमा मौसम सामान्य हुने

समाधान संवाददाता २०८२ कार्तिक ३ गते १२:१४

पोखरा ।
यो तिहारमा देशका केही पहाडी क्षेत्रमा आंशिक बदली भए पनि समग्र मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले दिएको जानकारीअनुसार, पश्चिमी वायुको प्रभावका कारण पहाडी भूभागमा सामान्य बदली हुनेछ, तर यसको कुनै ठूलो असर पर्ने छैन ।


तिहारका बेला पहाडी क्षेत्रका एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्छ भने उच्च हिमाली भेगमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ । महाशाखाले कात्तिक ३ गतेदेखि ६ गतेसम्मको मौसम विवरण सार्वजनिक गरेको छ ।


कात्तिक ३ गते (लक्ष्मीपूजा)मा देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा फाटफुट वर्षा हुने सम्भावना छ ।

Advertisement


कात्तिक ४ गते (औंसी)मा देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ ।


कात्तिक ५ गते (गोबद्र्धन पूजा)मा देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ ।

Advertisement


कात्तिक ६ गते (भाइटीका)का दिन कोशी र मधेश प्रदेशलगायत देशका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहनेछ । सबै प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।


यो तिहारको समयमा कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिए पनि, नेपालको मौसममा पश्चिमी वायुको असर रहनेछ । यसैको प्रभावले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया