च्याब्रुङको कथामा बन्यो ‘जारी २’

काठमाडौं ।
कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गरेका थिए । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको अधिकांश चलचित्रमा उनले लेखनमा सहकार्य गरे । साथै छायांकनमा समेत सहभागी बने ।
कथामा लेखिएका शब्दलाई दृश्यमा उतार्ने अभ्यासलाई उनले नजिकबाट नियाल्ने अवसर प्राप्त गरे । फलत : निर्देशक सुब्बाले लिम्बू समुदायको कथामा चलचित्र निर्माण गर्ने निर्णय गर्दै निर्देशन गर्ने हिम्मत पनि गरे । त्यसैको परिणामतः उनको पहिलो निर्देशकीय चलचित्र ‘जारी’ व्यावसायिक रूपमा सफल भयो ।
‘मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किन कि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनें’, निर्देशक सुब्बाले भने । दोस्रो चलचित्र ‘मनसरा’ निर्देशन गरेका सुब्बाले तेस्रो चलचित्र ‘जारी २’ पनि निर्देशन गरेका छन् । ‘जारी’कै शृंखलालाई निरन्तरता दिएका निर्देशक सुब्बाले यस पटक जारीसँगै च्याब्रुङको कथालाई जोडेका छन् ।
त्यसो त उनले ‘जारी’ को शृंखलालाई अगाडि नबढाउने घोषणा गरेका थिए । तर, सोही समुदायको कथा समेटिएपछि अडान छाडे । ‘मैले ‘जारी’लाई शृंखलाबद्ध रूपमा अगाडि नबढाउन चाहेको हो, तर च्याब्रुङको गीतको कथा आएपछि निरन्तरता दिएँ । साथीहरूसँग सल्लाह माग्दा पनि दोस्रो भाग बनाउँदा हुन्छ भन्ने सल्लाह पाएँ । म आफ्नै अडानबाट पछि हटें’, सुब्बाले सुनाए ।
आगामी कात्तिक २१ गते प्रदर्शन हुने चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ मा समय बदलिए पनि उही समाज र संस्कृति छ । उही पात्र छन् तर ‘जारी’ मा देखाइएको समयभन्दा सात वर्ष बितिसकेको छ । यसका साथै पहिलो भागमा देखिएका कलाकारमध्येका एक विजय बराल दोस्रो भागसम्म आउँदा ‘पूर्णबहादुरको सारंगी’ का कारण आफ्नो लोकप्रियता बढाइसकेका छन् । तर, यस्ता कुराको दबाब निर्देशक सुब्बाले आफ्नो लेखनमा पर्न दिएका छैनन् ।
‘जारी’कै शृंखलालाई निरन्तरता दिएका निर्देशक सुब्बाले यस पटक जारीसँगै च्याब्रुङको कथालाई जोडेका छन्
‘अभिनेता बरालसँग सहकार्य गरेको धेरै भइसक्यो, र उहाँ पनि सरल हुनुहुन्छ । त्यस कारण मैले उहाँको लोकप्रियतालाई पात्रमा हाबी हुन दिएको छैन । मैले यस पटक पनि राम्रो र सरल चलचित्र बनाउने कोसिस गरेको छु, पहिलो भागको व्यावसायिक दबाब लिएको छैन । मैले आफूमा लेखक र निर्देशकलाई मात्र हावी हुन दिएँ । त्यहाँ निर्माताको केही चलेन’, निर्देशक सुब्बाले भने ।
आगामी दिनमा उनी ‘जारी’ नाम राखेर शृङ्खलालाई अगाडि नबढाउने सोचमा छन् तर नबनाउने भनेर घोषणा गर्न सकेका छैनन् । किनकि सोही नाममा चलचित्र आउँदा त्यसले लोकप्रियतासँगै व्यावसयिक लाभ पनि प्राप्त गर्छ । तर, यस्ता कार्यले सर्जकको सिर्जनामा भने ह्रास ल्याउने उनको बुझाइ छ ।
‘हामीले नयाँ सिर्जना गर्न सकेनौँ भने वा एउटै सिर्जनालाई तन्काउँदै लग्यौँ भने त्यसले अल्छी बनाउँछ । सर्जक अल्छी भयो भने त्यसको असर सिर्जनामा पर्छ । त्यस्तो हुन् नदिन मैले सक्दो मेहनत गरेको छु । यसअघिका सफलता बिर्सेर नयाँले झैँ काम गरेको छु, किनकि मेहनतले नै सफलताको नजिक पुर्याउँछ’, उनले भने ।
निर्देशक सुब्बा चलचित्र लेखनसँगै साहित्यतर्फ पनि प्रसिद्ध छन् । एक हिसाबले उनी साहित्य र चलचित्रको पुल जस्तै हुनहुन्छ । साहित्यकारले हेर्दा चलचित्रलाई कस्तो देख्छ त ? ‘साहित्यको आँखाले चलचित्र हेर्दा समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग भएको जस्तो लाग्छ’, उनी थप्छन्, ‘यद्यपि थुप्रै साहित्यकारले चलचित्र हेर्ने गरेका छन् । तसर्थ साहित्यमा चलचित्रको प्रभाव छ, तर चलचित्रमा साहित्य कमजोर छ ।’
उनको आगामी चलचित्रमा दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु लगायतका कलाकारले अभिनय गरेका छन् ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया