आज तिहारको मुख्य दिन भाइटीका

काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाईआउने परम्परा आज पनि निरन्तरता पाइरहेको छ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्दै छन्। यो दिनलाई यमद्वितीया पनि भनिन्छ। यमपञ्चक भनिने तिहार पाँच दिनको भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए।
आज दिनभर टीका लगाउन कुनै बाधा नरहे पनि साइत खोज्नेका लागि बिहान ११:३९ बजेको अभिजित मुहूर्तलाई उत्तम मानिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जनाए। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाउन आउने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले उल्लेख गरेको छ। यसरी गरेमा तुला राशिमा रहेको पश्चिमको चन्द्रमा सम्मुख पर्ने शास्त्रीय मान्यता समितिले स्पष्ट पारेको छ।
राज्य सञ्चालकका लागि भने साइतमै टीका लगाउनुपर्ने समिति भनाइ छ।
आज लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि सहित वनस्पत्यन्त देवता तथा नवग्रहको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई परम्पराअनुसार तेलको धाराले छेकेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका र मखमली, सयपत्री तथा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भन्दै प्रचार गरिए पनि शास्त्रीय मान्यता अनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका उल्लेख गरिएको धर्मशास्त्रविद् भट्टराईले सुनाए।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटीलगायत खाद्य सामग्री दिने र दाजुभाइले पनि गच्छेअनुसार दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा तथा दक्षिणा दिएर सम्मान व्यक्त गर्ने धार्मिक र सामाजिक परम्परा छ।
दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि मन्दिरहरू खुला
दिदीबहिनी नहुनेका लागि काठमाडौँको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर आजैका दिन मात्र खुला गरिन्छ। त्यहाँ पूजा, दर्शन गरी टीका लगाउने परम्परा रहेको छ।
यस्तै, जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा र टीका गर्ने चलन छ। विसं २०३५ अघि बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हाम्फाल्ने समस्या देखिएपछि केही समय बन्द गरिएको थियो। त्यसबेला खञ्जनेश्वर महादेव मन्दिरमा भीड लाग्ने गरेको थियो। पछिल्लो समय पहिले जति भीड नलागे पनि आजका दिन त्यहाँ भक्तजनको भीड लाग्ने गर्छ।
विसं २०३५ पछि रानीपोखरीको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो। भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्।








एमाले अनुशासन आयोगमा भरतराज पहारी र लेखामा कँडेल निर्विरोध
पोखरा महानगरको कृषि हाजिरजवाफमा वडा नम्बर २८ पहिलो
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया