
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन ६ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै यस्तो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् ।
तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पूरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्य अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाका अनुसार एकैदिन ६ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन् । शुक्रबार मात्र २ हजार १६८ यात्रुवाहक सवारी साधन म्याग्दी हुँदै मुस्ताङ पुगेको उनले बताए ।
यसैगरी, कात्तिकको पहिलो सातामा (कात्तिक १ देखि ७ गतेसम्म) बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका छन् । तीमध्ये १७ हजार १२९ आन्तरिक र ३ हजार ३८० विदेशी पर्यटक रहेका प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । सोही अवधिमा ६ हजार ७३६ सवारीसाधन मुस्ताङ प्रवेश गरेको उनको भनाइ छ ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्र १ लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ प्रवेश गरेका थिए । तीमध्ये आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । उनका अनुसार आज बिहानैदेखि दर्शनार्थीहरूको भीडले मन्दिर परिसर पूरै खचाखच भरिएको छ । दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वयम्सेवक खटाइएको उनले बताए ।
हिउँदयाम सुरु भइसकेकाले चिसो बढेको र हाइअल्टिच्युडको सम्भावना रहेकाले स्वास्थ्यकर्मी र हाइअल्टिच्युड ट्रीटमेन्ट सेन्टर तयारी अवस्थामा राखेर दर्शन कार्यमा सहजीकरण गरिएको कोषाध्यक्ष गुरुङले बताए । वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिर परिसर चारैतिर सीसी क्यामेरा जडान गरिएकोले सुरक्षामा समस्या नहुने पनि उनको भनाइ छ ।
तिहारपछि मुस्ताङमा आन्तरिक पर्यटकको चाप अत्यधिक बढेपछि ट्राफिक व्यवस्थापनमा चुनौती उत्पन्न भएको प्रहरीले जनाएको छ । सयौँ सवारीसाधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा गुड्दा केही समय ट्राफिक जामसमेत भएको थियो । घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलहरूले पर्यटक थेग्न नसक्ने अवस्था आएको थियो ।
उद्योग वाणिज्य सङ्घ मुस्ताङका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार शुक्रबार बेनी–जोमसोम राष्ट्रिय राजमार्गअनुरूप सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिएका थिए । चाडपर्वको अवधिमा मुस्ताङ महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बनेकाले यहाँको पर्यटक आगमन आश्चर्यजनक रूपले बढ्दै गएको अध्यक्ष लालचनले बताए ।
विशेष चाडपर्वमा पारिवारिक भ्रमण, विद्यालय तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मनाउन स्वदेश फर्किएका नेपाली मुस्ताङ भ्रमणमा जाने संख्या उल्लेख्य बढेको उनले बताए । सामान्य अवस्थामा सहज पर्यटक व्यवस्थापन सम्भव भए पनि दशैं, तिहार र छठ पर्वका लामो सार्वजनिक बिदाका कारण युवापुस्ताको प्रमुख गन्तव्य मुस्ताङ बन्न थालेको उनको भनाइ छ ।
राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज बन्दै गएपछि यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आएको हो । पर्यटकीय याममा सञ्चालनमा रहेका होटलहरूले समेत पर्यटक थेग्न नसक्ने अवस्था आएको छ । प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्न चाहने पर्यटकहरूलाई पूर्व तयारीसहित, अनिवार्य रूपमा होटल बुकिङ गरेर मात्र आउन अनुरोध गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया