मन्त्रिपरिषद् विस्तार: चार नयाँ मन्त्रीले आज शपथ लिँदै, को हुन् उनीहरू?

पोखरा ।
आज दिउँसो साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रिपरिषद्मा थपिने चार नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह हुँदै छ। प्रधानमन्त्री सुशीला कार्कीले नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा चार जनाको नाम पठाइसकेकी छन्।
नव नियुक्त मन्त्रीहरूमा डा. सुधा शर्मा, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। उनीहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिएको छ। डा. शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुनारले श्रम तथा रोजगार मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार श्रेष्ठलाई यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तय भए पनि अन्तिम समयमा फेरबदल गरी भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ।
नयाँ मन्त्रीहरूको पृष्ठभूमि
नयाँ मन्त्रीहरू आ-आफ्नो क्षेत्रमा विशिष्ट पहिचान बनाएका व्यक्तिहरू हुन्।
डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्। उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ जस्ता पुस्तक पनि लेखेकी छन्।
यसअघि, स्वास्थ्य मन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा थियो। उनले पदबाट राजीनामा पनि दिएकी थिइन्। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भ्रष्टाचार आरोपमा अनुसन्धान गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री कार्की पछि हटेकी थिइन्। अख्तियारले यही कात्तिक २ गते मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। प्रधानमन्त्री कार्कीले महिला पूर्वस्वास्थ्य सचिवलाई नै स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेकी छन्।
गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ताका रूपमा परिचित छन्। उनले रानीपोखरी र बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदाहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। श्रेष्ठले सम्पदा संरक्षण अभियानबारे विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा समेत प्रस्तुति दिएका छन्।
खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन्। संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै उनले काठमाडौँमा नेल लगाएर प्रदर्शन गरेका थिए। दलित अधिकारको पक्षमा सुनार यसअघि पनि पटक-पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन्। विसं २०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएपछि खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए। उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुम पश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए।
बब्लु गुप्ता सामाजिक कार्यक्रममा सक्रिय युवा हुन्। उनले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएका थिए। कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान पनि सञ्चालन गरेका थिए। उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाइरहेका छन् र बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन्।







रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
माउन्ट अन्नपूर्णमा स्पोट्र्स मिट
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया