मन्त्रीमा ४ जनाको नाम आयो, शपथ २ जनाले लिए

पोखरा । जेन-जी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकार आइतबार तेस्रोपटक पुनर्गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको शपथ गराएका छन् । सुरुमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसमक्ष चारजनाको नाम सिफारिस गरेकी थिइन् । तर, खगेन्द्र सुनारको नाम विवादमा आएपछि हटाइयो र गणपतिलाल श्रेष्ठको शपथ आइतबार हुन सकेन ।
प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषद् अब १० सदस्यीय भएको छ । प्रधानमन्त्री कार्कीको सचिवालयसम्बद्ध स्रोतले जनाएअनुसार, ‘एकाध महत्वपूर्ण मन्त्रालयमा मन्त्री थपिन सक्छन् ।’ स्रोतले थप भन्यो, ‘अब प्रधानमन्त्रीको नेतृत्वमा यही टिमले नै निर्वाचनसम्म काम गर्नेछ ।’ १२ वर्षअघि दोस्रो संविधानसभा निर्वाचन गराउन तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा १२ जना मन्त्री थिए । त्यसबेला सबैजसो व्यक्ति पूर्व-प्रशासनिक पृष्ठभूमिका थिए । अहिले पनि १२ जनासम्म मन्त्री बनाउने तयारी छ ।
हालको मन्त्रिपरिषद्मा रहेका केही सदस्यको पृष्ठभूमि यसप्रकार छ
अर्थमन्त्री रामेश्वर खनाल सोही मन्त्रालयबाट अवकाश पाएका सचिव हुन् । पेशाले इन्जिनियर कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा सोही मन्त्रालयबाट १४ वर्षअघि अवकाश पाएकी सचिव हुन् । उनले त्यतिबेला मन्त्रीहरूसँग वैचारिक असहमति भएपछि राजीनामा दिएकी थिइन् र केही समय संयुक्त राष्ट्रसंघीय नियोगहरूमा काम गरेकी थिइन् । गृहमन्त्री ओमप्रकाश अर्याल पेशाले अधिवक्ता हुन् भने सञ्चारमन्त्री जगदीश खरेल पत्रकार हुन् ।
राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी यन्त्र उपकरणको प्रयोगमा जोड दिइरहेका महावीर पुन नेपालको ग्रामीण भेगमा सूचना-प्रविधिको विस्तारमार्फत सामाजिक सेवामा प्रवेश गरेका र चर्चामा आएका व्यक्ति हुन् । कृषिमन्त्री मदन परियार विभिन्न अध्ययन र सामाजिक क्रियाकलापमा सक्रिय थिए ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता सामाजिक काममा सक्रिय थिए । कोरोना महामारीका बेला विपत्तिमा परेकाहरूलाई निःशुल्क खाना बाँड्नेदेखि आर्थिक अभाव भएका व्यक्तिहरूलाई उनले कपडा बैंक अभियान चलाएका थिए । उनले ‘हन्ड्रेड ग्रुप’ स्थापना गरी त्यसैमार्फत विभिन्न कार्यक्रम गरिरहेका थिए ।
अहिलेसम्मको उपस्थितिलाई हेर्दा सरकारमा महिला, आदिवासी, दलित एवं मधेशी समुदायको प्रतिनिधित्व भएको देखिन्छ । बब्लु गुप्तालाई मन्त्री बनाएपछि जेन-जी आन्दोलनकर्मी र मधेशी समुदायको प्रतिनिधित्व भएको मानिएको छ । यसअघि मधेशी दलित समुदायबाट रामजी रामको नाम चर्चामा रहेपनि अहिले भने उनको नाम समावेश छैन ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया