
पोखरा ।
‘हा हे सुनैकोसे झारियामा गंगाजल ल्याऊ’ जसको अर्थ हुन्छ सुनको कलशमा जल लिएर आऊ । ‘जुहारै ला’ (जम्मा गर्नु) ‘अशुरनास’ (राक्षसलाई बध गर) । मादलको तालमा ताल मिलाएर सरस्वती उतारेपछि सोरठी नाच सुरु हुन्छ । तिहारका बेला भैलोका रुपमा नाचिने सोरठी विशेषतः कात्तिकको पञ्चमी तिथिका दिन सरस्वती पूजापछि सेलाइन्छ । यो अनुकूल समयमा समापन गर्न सकिन्छ एकादशीको दिनबाहेक ।
सोरठीमा सोरठी रानी र उनका बुवाको कथा हुने गलकोट–१०, पाण्डवखानीका ३८ वर्षीया जाउन श्रीस (शास्त्री) बताउँछन् । पोखरामा रहेको बागलुङ घुम्ते मगर समाज पोखराले हरेक तिहारका बेलामा सोरठी नाच प्रस्तुत गर्दै आएको छ । समाजका सचिव तथा सोरठी नाचका गुरु श्रीसले सोरठी नाच मनोरञ्जनका लागि मात्रै नभएर पराम्परागत कला र संस्कृति जोगाउनसमेत महत्वपूर्ण हुने जनाए ।
सोरठी गीत मगर समुदायको मान्यता अनुसार चोखो हृदय भएको मान्छे मादल बजाउँदा हल्लिन्छ र उसलाई गीतकै माध्यमबाट बसाल्नुपर्छ । यसमा सानैमा विछोड भएका बुवाछोरीको मिलन र त्यसबिचमा भएका घटनालाई गीतमार्फत वर्णन गरिन्छ ।
पूर्व देशका भिमला राजा र पश्चिम देशकी हइमया रानीबाट माघमा छोरीको जन्म हुन्छ । उनीहरुको वंशनाश गर्ने उद्देश्यले पण्डितले राजकुमारी सातमूल परेको बताउँदै आमालगायत सम्पूर्णलाई सिध्याउने, राज्यमा ठूलो विपत्ति आउने दाबी गर्छन् ।
पण्डितको सल्लाह अनुरुप राजकुमारीलाई नदीमा बगाइन्छ । एक कुमालले राजकुमारीलाई भेटेर घर जान्छन्, पाल्छन् । पूर्णिमाको जून जस्तै राजकुमारीमाथि सिकार खेल्न आएका राजाका सिपाहीको नजर पर्छ । सिपाहीहरुले राजालाई युवतीबारे सुनाउँछन् ।
उनको सौन्दर्यले राजा मोहित भएर जन्ती लिएर कुमालेको घरमा पुग्छन् । राजकुमारी राजाले दिएका गरगहना र लत्ताकपडा लगाएर जग्गेमा बस्छिन् । राजाले सिन्दूर दिँदा उनले ‘बाबैज्यूले दिएको सिन्दूर कोही चेली पहिरिँदैनन्, मै चेली नि पहिरिन्नँ’ भनी अस्वीकार गरिन् ।
राजा अलमल्ल परी कुमालेलाई बोलाएर ‘साँचो कुरो के हो’ भनी सोधे । कुमालेले सबै वृत्तान्त सुनाए । युवती आफ्नो छोरी रहेको कुमालेले बताए । त्यसपछि सबै खुसीसाथ आफ्नो दरबार फर्किए । सोरठीमा खासगरी पात्रका रूपमा गुरु (वाचक), मादले, मारुनी र पुरुसुंगेको प्रमुख भूमिका हुन्छ ।
पहिलो समझुं गणेश देवको नाम शरण तुम गरे रक्षवा (रक्षा गर)
पुर्खाको सभ्यता, सांस्कृतिक तथा धार्मिक परम्परा झल्काउने यो नाच आख्यानसहित तथा आख्यानरहित गरी दुई किसिमको छ । ‘मारुनी शैली, जातीय वेशभूषामा प्रस्तुत गरिने मनोरञ्जन पूर्ण र संस्कृति प्रधान यो लोकनाच मौखिक परम्परामा जीवित छ । यसले सम्बन्धित समुदायको लोकजीवन, समाज, संस्कार, संस्कृति, लोकपरम्परालाई प्रतिविम्बित गरेको छ,’ श्रीसले भने ।
यसमा राजारानी र राजकुमारीको जीवनका घटनाक्रमले आख्यानको रुप लिएको छ । त्यसैलाई गीतका रूपमा ढाली स्थानीय लोकलय, लोकबाजाद्वारा लोकसंगीत र लोकको स्वतन्त्र शारीरिक हाउभाउमा नाच प्रस्तुत गरिन्छ । पुरुषहरु महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट मूल गायकको निर्देशन अनुसार अन्य कलाकारले साथ दिन्छन् ।
सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतिर पाइने वनस्पति केतुकीको कपाल, चुरापोते, टीका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ । सोरठीका विभिन्न चरण हुन्छन् । सोरठी नाचमा दैवी शक्ति छ भन्ने विश्वास रहिआएको छ ।
राजा र राजकुमारीको कारुणिक कथा भन्ने सोरठी बागलुङ घुम्ते मगर समाज पोखराले हरेक तिहारका बेला प्रस्तुत गर्दै आएको छ
सोरठीगीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्र जस्ता ईश्वरीय भक्तिगानका रुपमा गाउने प्रचलन छ । सोरठीको पछिल्लो समय उचित प्रवद्र्धन हुन सकेको छैन ।
वाधैला देवी नरसिंह जपैले
पूर्व बाध्यो पश्चिम बाध्यो बाध्यो चार कोन
उत्तर दक्षिण आकास धर्ती
सत्य युगमा सरस्वती
सुनैको असन सुनैको वैसन
सुनैको वगिया
कलियुगमा सरस्वती जनायो
माटोको माटोको वैसन
माटोको वगिया
गलकोट–११, रिघाकी २० वर्षीया दिव्या श्रीस ४ वर्षदेखि मारुनी नाचमा सक्रिय छिन् । पोखरा बस्ने दिव्या बिएस्सी नर्सिङ दोस्रो वर्षमा पढ्छिन् । उनको सानैदेखि नृत्यमा रुचि थियो । मारुनीको पोसाक, गहना, ढोलको ताल र गीतको शब्दसँग आफ्नो अस्तित्वको अनुभूति हुने उनको भनाइ छ ।
‘मारुनी हाम्रो पहिचान हो,संस्कृतिको गर्व हो । अब त परिस्थितिले साथ दिएसम्म नाचिरहने सोच बनाएकी छु । यो नाचले हामीलाई हाम्रो जरा सम्झाउँछ,’ उनी उत्साहित सुनिइन् । बढाइएको व्यस्तता हुँदाहुँदै पनि उनी हरेक तिहारमा समय निकालेर अभ्यास गर्छिन् । ‘हामी नयाँ पुस्ता हौं, तर पुरानो संस्कृति भुल्न हुँदैन, त्यसलाई जोगाएर राख्नुपर्छ,’ उनले भनिन् ।
बढीगाड गाउँपालिका ५ सिसाखानीका २० वर्षीय इनाम सानैदेखि सोरठी नाचप्रति रुचि राख्थे । अहिले कक्षा १२ सकेर बसेका छन् । उनी गत वर्षदेखि मारुनी नाच्न थालेका हुन् । बुढापाका उनको उत्साह देखेर खुसी छन् ।
‘युवा पश्चिमी गीतमा रमाउँछन्, तर मचाहिँ आफ्नै संस्कृतिमा गर्व गर्छु,’ उनी भन्छन् । सोरठी नाच्दा खुसी र आत्मसन्तुष्टि मिल्ने उनको भनाइ छ । सोरठीलाई व्यवस्थित र आधुनिक शैलीमा प्रस्तुत गर्न सके युसको प्रर्वद्धन हुने उनी सुनाउँछन् । भन्छन्, ‘हामीले परम्परा बिर्सियौं भने हाम्रो पहिचान हराउँछ ।’


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया