रहेनन् क्याप्टेन लालप्रसाद

समाधान संवाददाता २०८२ कार्तिक १० गते १६:५६

पोखरा ।
पोखराको पञ्चकोशी आर्थ र डाँडाखर्क समाजका संस्थापक अध्यक्ष एवं समाजसेवी क्याप्टेन लालप्रसाद गुरुङको निधन भएको छ । ८७ वर्षीय गुरुङ अल्सर रोगबाट पीडित थिए । उनको आइतबार पोखरा–८, सिमलचौरस्थित आफ्नै निवासमा निधन भएको हो । गत वर्ष उनको शल्यक्रिया भएको थियो । त्यसपछि उनी स्वास्थ्य लाभ गरिरहेका थिए ।


क्याप्टेन गुरुङको अन्त्येष्टि कात्तिक १२ गते बुधबार जातीय संस्कारअनुसार हुनेछ । पञ्चकोशी आर्थ र डाँडाखर्क समाज पोखराका अध्यक्ष तथा पूर्व सब–इन्स्पेक्टर कमल गुरुङले यो जानकारी दिएका छन् । उनको पार्थिव शरीर सेती नदी रामघाटमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा रंगशाला गेटअगाडि रहेको पञ्चकोशी आर्थ र डाँडाखर्क समाजघरमा राखिएको थियो ।


विसं १९९५ माघ १५ गते काजीमान गुरुङ र कुमाकुमारी गुरुङका जेठा छोराका रूपमा उनको जन्म भएको थियो । उनी विभिन्न संघसंस्थामा सक्रिय थिए । उनी पञ्चकोशी आर्थ र डाँडाखर्क समाज पोखराका संस्थापक अध्यक्ष हुनुका साथै हाल संरक्षक पनि थिए ।

Advertisement


गुरुङ डाँडाखर्क गुम्बाका प्रमुख सल्लाहकार, शुभम् आधारभूत विद्यालय (डाँडाखर्क) र पञ्चकोशी स्कुलका अक्षयकोष दाता पनि थिए । त्यसैगरी उनी पोखरा न्यूरोडस्थित मोडल अस्पतालका सल्लाहकार, डाँडाखर्क एकता परिवारका प्रमुख सल्लाहकार र ताव एसोसिएसनका गुरुसमेत थिए । स्वर्गीय गुरुङका परिवारमा श्रीमती रत्नदेवी, छोरा विजय र दुई छोरी राधा र पशुपति गुरुङ छन् ।

Advertisement

तपाईको प्रतिक्रिया