लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासंघको माग

समाधान संवाददाता २०८२ कार्तिक १० गते १६:५८

काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नको छानबिन र कारबाहीका लागि सरकारलाई आग्रह गरेको छ । महासंघले निजी सम्पत्ति र व्यवसायमाथि भएको आक्रमणमा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै गम्भीर चासो व्यक्त गरेको छ । यस्तो अवस्थाले समाजमा दण्डहीनता बढ्ने र व्यवसायीको मनोबल घट्ने महासंघले जनाएको छ ।


यी घटनाले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनाएको र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको महासंघको भनाइ छ । ‘दोषीमाथि जाहेरी नलिँदा र कारबाहीमा उदासीनता देखाउँदा लगानीको वातावरणमा चुनौती आउँछ,’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवर्धन र समग्र अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ ।’


महासंघले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा आफ्नो र सदस्य संघका प्रतिनिधिको सहभागिता माग गरेको छ । यस विषयमा महासंघले गृह मन्त्रालयलाई औपचारिक पत्र पनि पठाएको छ । जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा व्यावसायिक समुदायको प्रत्यक्ष सहभागिता हुनुपर्ने महासंघको जोड छ ।

Advertisement


आइतबार महासंघका पदाधिकारी, स्थायी समिति र विभिन्न समिति–फोरमका सभापतिहरूबीच छलफल भएको थियो । छलफलमा महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा र स्थायित्वबिना व्यवसाय सञ्चालन हुन नसक्ने बताए । उनले भने, ‘स्थायित्वबिना व्यवसाय चल्दैन, व्यवसाय नचल्दा अर्थतन्त्रमा गम्भीर समस्या आउँछ ।’

दण्डहीनताको अन्त्य गरी भविष्यमा व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गर्नुपर्ने

Advertisement


श्रेष्ठले दण्डहीनताको अन्त्य गरी भविष्यमा व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गर्नुपर्ने बताए । उनले समाजमा अनिश्चितताको वातावरण बन्न नदिन र दण्डहीनता हटाउन दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग गरे ।


महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधि टिकाउ बनाउन, लगानीको वातावरण विश्वसनीय बनाउन र निजी क्षेत्रलाई आत्मविश्वासका साथ काम गर्न दिने अवस्था सरकारले सिर्जना गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा शान्ति सुरक्षा कायम गरी स्थायित्वतर्फ लाग्न र उद्योगी व्यवसायीको मनोबल बढाउन सरकारको ध्यान जान आवश्यक रहेको बताए ।


छलफलका क्रममा देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण योगदान दिने निजी क्षेत्रमाथि भएको आक्रमणले उद्यमी व्यवसायी निरुत्साहित भएको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराइयो । उद्यमी व्यवसायीले निर्बाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिइयो । छलफलमा महासंघका उपाध्यक्ष हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यसहित स्थायी समिति र विभिन्न समिति–फोरमका सभापतिहरू सहभागी थिए ।

तपाईको प्रतिक्रिया