पोखरामा भदौ २४ को हिंसामा संलग्न १८ पक्राउ, १० लाई मुद्दा

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले जेनजी आन्दोलनका क्रममा हिंसात्मक घटनामा संलग्नहरुको खोजी भइरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा एसपी कार्कीले आन्दोलनपछि गस्ती, पेट्रोलिङ र जनताको शान्ति सुरक्षामा खटिरहेको उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय र यस मातहतका २७ भवन संरचना तोडफोड र क्षति पुगे पनि पुनःर्निर्माण गरी कार्य क्षेत्रमा फर्किएको उनले सुनाए । ‘म यहाँ सरुवा भएर आउँदा परिस्थिति सामान्य थिएन । असहज परिस्थितिमा पनि काम रोकिएन,’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयहरु तोडफोड, आगजनी तथा लुटपाट गर्ने १८ जनालाई पक्राउ गरिएको छ ।’ तीमध्ये १० जना विरुद्ध अपराधिक उपद्रवसम्बन्धी कसूरमा ६ म्याद थप गरी अनुसन्धान भइरहेको छ भने बाँकी ८ जना धरौटीमा छुटेका छन् ।
यसरी पक्राउ पर्नेहरुमा धादिङको त्रिपुरासुन्दरी–४ घर भई हाल पोखरा–४ मानव बस्ने वर्ष २४ को राजेश मक्रान्ती, पोखरा–४ बस्ने वर्ष ५४ को नारायण साई, पोखरा–११ बस्ने वर्ष २२ का अरुण विक, पोखरा–१, कसेरी बस्ने वर्ष ४१ का रुपेश मगर छन् ।
यही आरोपमा कास्की प्रहरीले पोखरा–१ बस्ने वर्ष ४३ का दिपु साई, अन्नपूर्ण गाउँपालिका–५, नयाँपुल बस्ने वर्ष ४७ का लङबहादुर नेपाली, सोही पालिकाको वडा नम्बर ५ बस्ने वर्ष १९ का अरविन विक, वर्ष ६२ का थमबहादुर सार्की, र ४२ वर्षीय पूर्णबहादुर नेपाली हुनुहुन्छ । यस्तै, अन्नपूर्ण गाउँपालिका वडा नं. ६ हाइजुङ बस्ने वर्ष २२ का ग्रिस क्षेत्रीलाई पनि प्रहरीले सोही आरोपमा नियन्त्रणमा लिएको छ ।
प्रहरी इकाइ, सरकारी कार्यालय र निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजानी गर्नेहरु पहिचान गरी कारवाही गर्दै कास्की प्रहरी
आन्दोलनलगत्तै ठूला चाडपर्व भएकाले जनताको शान्ति, सुरक्षा मुख्य चुनौति भए पनि कास्की प्रहरी चनाखो भएर लागेको एसपी कार्कीले बताए । आन्दोलनपछिका २/३ दिन पोशाक र कार्यालय जलेकाले समस्या भए पनि त्यसपछिका दिनमा सेवा प्रवाहका कुनै कसर बाँकी नछाडेको उनको जिकिर छ ।
प्रहरी कार्यालयबाटै ठूलो परिणाममा हतियार हराएकाले त्यही हतियारको प्रयोगबाट घट्न सक्ने घटनालाई मध्यनजर त्यसैमा तल्लीन भएको एसपी कार्कीले बताए । कास्कीमा साना ठूला गरी २ दर्जन जति हतियार हराएका छन् । ती हतियारको खोजी भइरहेको छ ।
जेनजी आन्दोलनका क्रममा अपराधिक क्रियाकलापमा संलग्नहरुको खोजी भइरहेको एसपी कार्कीले जानकारी दिए । भिडियोका आधारमा उनीहरुको पहिचान भइरहेको र केही निजी सम्पतिमा तोडफोड र आगजनीमा संलग्नहरुविरुद्ध जाहेरी परेकाले सोही अनुसार अनुसन्धानअघि बढाइएको उनको भनाइ छ । आन्दोलनमा आन्दोलनकारी मात्र नभएर मौका छोपी तोडफोड र चोरी गर्नेहरुलाई पनि कारबाही गरिने उनले बताए ।
यही विषयमा कास्कीका व्यवसायीले आन्दोलनको छानबिन गर्ने अख्तियारी पाएको उच्चस्तरीय जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्मा समक्ष हिंसात्मक घटनामा संलग्नलाई कारबाही माग पनि गरेका छन् । यही बीचमा कास्की प्रहरीले समयमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधि बढेको गुनासो कम गर्न ‘अपरेसन ३६५’ सञ्चालन गरेको एसपी कार्कीले बताए । सो अपरेसनमा अहिलेसम्म १ सय ३३ सवारी साधन नियन्त्रणमा लिइएको छ ।
तीमध्ये २८ जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाईएको र १६ लाई सम्झाइबुझाइ परिवारको जिम्मा लगाइएको उनले बताए । आन्दोलनका क्रममा जिल्ला कारागार कार्यालय कास्की र प्रहरी कार्यालयमा रहेका कैदीबन्दी तथा थुनुवाहरु फरार भएकोमा अझै केही सम्पर्कमा नआएको उनले सुनाए । जिल्ला कारागार कार्यालय कास्कीमा रहेका ७ सय ७३ कैदीबन्दीमध्ये ५ सय २० जना फर्किएका छन् । यस्तै बालसुधार गृहमा रहेका १ सय ६ जना बालकमध्ये ९१ जना फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा कास्कीमा रहेका ६३ थुनुवामध्ये ५ जना, वडा प्रहरी कार्यालय बगरमा रहेका १२ थुनुवामध्ये १ जना र वडा प्रहरी कार्यालय बैदाममा ३३ जना थुनुवा रहेकोमा २६ जना फर्किसकेको एसपी कार्कीले जानकारी दिए । फरारहरुको खोजी प्रहरीले जारी राखेको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया