मुस्ताङको ‘हिडन भ्याली’ मा फसेका १५ पर्यटकको उद्धार सुरू, सेना र प्रहरीको टोली परिचालन

पोखरा । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे हिमालको ‘हिडन भ्याली’ मा हिउँमा फसेका तीन विदेशीसहित १५ जनाको टोलीलाई उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । काठमाडौँको सेक्रेट हिमालय ट्रेड एण्ड एक्स्पिडिसन ट्राभल एजेन्सीबाट गएका तीन बेलायती महिला पर्यटकसहितको यो टोली सोमबारदेखि हिउँमा फसेको थियो ।
संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङ प्रवेश गरेको यो टोली हिमपातका कारण समस्यामा परेको हो । उद्धारका लागि नेपाली सेनाको उच्च शिखर शिक्षालय, इन्द्रबक्स गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीको १० जनाको टोली ‘हिडन भ्याली’ तर्फ प्रस्थान गरेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुप्रसाद भुषालले बुधबार मौसम केही अनुकूल भएकाले माथिल्लो क्षेत्रबाट पर्यटकहरू झर्दै गरेको र तलबाट थप सहयोगका लागि उद्धार टोली पठाइएको बताए । प्रजिअ भुषालका अनुसार, पर्यटकहरूसँग पर्याप्त खानेकुरा छ । उनले उद्धार टोलीलाई पैदल पुग्न दुई दिन लाग्ने जनाए । सडकबाट उद्धारको टोली प्रस्थान गरेको र हेलिकप्टरबाट समेत सम्भव भएसम्म उद्धार गरिने प्रजिअ भुषालले बताए ।
समुद्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा पर्ने ‘हिडन भ्याली’ मा ५ फिटभन्दा बढी हिउँ जमेको र बाक्लो हिमपात भइरहेको अवस्थामा पर्यटकहरू एक्लै फर्किंदा थप जोखिम हुने भएकाले उद्धारकर्मीको टोली पठाइएको प्रजिअ भुषालले बताए । बाक्लो हिमपातले पदमार्ग पुरिएको अवस्थामा पर्यटकलाई यात्रा गर्न समस्या हुने भएकाले हिउँ पन्छाउने उपकरणसहित टोली खटाइएको हो । हिमपातको सूचना पाएलगत्तै जिल्ला सुरक्षा समितिको बैठक बसेर टोली परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएअनुसार, उद्धार गरिएपछि पर्यटकसहितको टोलीको स्वास्थ्य परीक्षण गरी ट्राभल एजेन्सीलाई जिम्मा लगाइनेछ । मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले म्याग्दीको धौलागिरि पदमार्ग हुँदै थासाङ गाउँपालिका–१ मा अवस्थित धम्पुस लेकको रूटमा यसअघि पनि एक जर्मन पर्यटकसहित पथप्रदर्शक हराएको स्मरण गरे । करिब १९ दिनअघि धौलागिरि चक्रीय पदयात्रा क्षेत्रमा १२ महिना हिमपात हुने स्थानहरूमा भारी हिमपात हुँदा पर्यटकलाई समस्या पर्ने उनले बताए ।
म्याग्दी र मुस्ताङ जोड्ने लामो र साहसिक पदयात्राका लागि विदेशी पर्यटकहरूले धौलागिरि चक्रीय पदमार्ग रोज्ने गरे पनि भौगोलिक विकटता, पर्याप्त पूर्वाधार र संकेत चिन्हजस्ता न्यूनतम पूर्वाधारको अभावमा पर्यटकहरू सम्पर्कविहीन हुने गरेका छन् ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया