‘मष्तिष्कमा भएका कथाहरु निस्कनै मानेनन्, अनि लेख्न सुरु गरेँ’

पोखरा ।
साहित्यकार सुबिन भट्टराईको मष्तिष्कमा लामो समयदेखि केही कथाहरु खेलिरहेका थिए । कुनै कथा उनी कतै घुम्न जाँदाका थिए त कुनै कथा कसैलाई संगत गर्दाका । ती कथा सुबिनको मष्तिष्कमा बसिरहे । लामो समय मष्तिष्कमा खेलिरहेपछि सुबिनलाई लाग्यो –अब ती कथा लेख्नुपर्छ । त्यसपछि सुबिन पुस्तकका लागि कथा लेखनमा लागे ।
‘कुनै पनि कथा मष्तिष्कमा लिंगरिङ गरेर बसिरह्यो भने आफूले आफूलाई त्यो विषय लेख्नुपर्छ भनेर निर्देशन दिन्छ,’ सुबिनले पुस्तक लेख्नुअघिको कुरा सम्झिँदै भने, ‘यसमा भएका कथाहरु पनि लामो समयदेखि मेरो मष्तिष्कमा रहेको थियो । पटक्कै जान मानेनन् र अब तैले लेख्नुपर्छ भनेर मलाई महसुस भयो र लेखेँ ।’
पोखराको सिटी स्क्वायर ब्याङ्क्वेटमा बुधबार आयोजित फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवको पहिलो सेसनमा गाफिँदै थिए, सुबिन । ‘चमेलीको फूल बैजनी रुमाल’ पुस्तकमाथिको विमर्शमा सुबिनको वार्तालापमा थिइन्, अभिनेत्री सनिशा भट्टराई । जसको बन्दोबस्त गरेको थियो, फाइनप्रिन्ट बुक्स र र्यान्डम रिडर्स सोसाइटीले ।
पुस्तक लेखेपछि लेखक सुबिनलाई पुस्तकको नाम जुटाउन केही समय लाग्यो । पुस्तकमा ७ वटा फरकफरक कथा छन् । उनीहरुका आआफ्नै फरकफरक शीर्षक थिए । तर, पुस्तकको शीर्षक भने तयार थिएन । पुस्तकको मर्मअनुसार उनले नाम तयार गरे –‘चमेलीको फूल बैजनी रुमाल’ । उनी आफैलाई उक्त नाम लामो लागेको थियो । पाठकबाट पनि उनलाई नाम लामो भएको प्रतिक्रिया दिएका थिए । तर, सुबिनले लामो शीर्षक भएपनि पुस्तकको मर्मअनुसार रहेको निचोडमा पुगे । सुबिन आफैलाई कविता जस्तो लाग्छ । उनी भन्छन्, ‘यो पुस्तकको शीर्षक यसअघिका कृतिभन्दा लामो छ । तर, उच्चारण गरिराख्दाखेरि अभ्यस्त हुन्छ । अहिले चमेलीको फूल बैजनी रुमाल’ भन्दा आफैलाई आनन्द लाग्छ । त्यो लेखकको आनन्द हो जस्तो लाग्छ ।’
उक्त पुस्तकमा फरकफरक ७ कथा छन् । ती कथाहरु लामो समयदेखि आफ्नो मष्तिष्कमा रहेको मध्ये रहेको सुबिन बताउँछन् । उनले हरेक मान्छेहरुसँग संगत गर्दाखेरि, हरेक ठाउँमा जादाखेरि त्यहाँ कथाको सम्भावना कति छ भनेर लोभी नजरले हेर्ने सुबिन सुनाउँछन् । तर, लेख्नुबित्तिकै लेखिहाल्ने स्वभाव उनीमा छैन । केही समय त्यसलाई उनी दिमागमै हुर्काउन थाल्छन् । मष्तिष्कबाट हट्न नमानेपछि मात्रै उनी लेख्न थाल्छन् ।
कथा हरेक मानवको वरिपरि हुने सुबिनको अनुभव छ । ‘कथाहरु हाम्रो वरिपरि नै रहेको सुबिनको अनुभव छ । हामी सबैसँग कथा छ । कसैले लेख्छ, कसैले भन्छ, आआफ्नो कुरा हुने रैछ,’ उनले सुनाए ।
युवा पुस्ताको रोजाईमा पर्न सफल मध्यको एक हुन्, साहित्यकार सुबिन । इजोरिया पुस्तकले उनको उचाईमात्र चुलाएन, मदन पुरस्कारको मनोनयनमा पार्न समेत सफल रह्यो । ‘अरु किताब बेस क्याम्पमा पुग्यो, इजोरिया टुप्पो मै पुग्यो कि भन्ने लाग्छ । मधेशमाथि बसेको किताबमा मधेशको फेबरमा लेख्न नसक्ने हो भने यो अवस्थामा पुग्ने थिएन,’ सुबिनले भने ।
उनै सुबिनलाई बेलाबखत पाठक केन्द्रीत गरेर पुस्तक लेख्ने गरेको आरोप पनि लाग्दै आएको छ । तर, उनले जहिले पनि कथा नै केन्द्रमा राखेर पुस्तक लेख्ने गरेको बताउँछन् । ‘कथाको केन्द्रमा जहिलेपनि कथा नै हुने रैछ । पाठक अलिकति सेकेन्डरी कुरा भन्छु म । लेख्नेबेला सबै पाठकलाई खुसी बनाउनु भनेर लेख्न सकिँदैन । एउटा मेजर पाठकलाई खुसी बनाउन सक्यो भने त्यो चाहिँ लेखकका लागि सबैभन्दा राम्रो कुरा हो,’ उनी भन्छन् ।
आफूलाई सानैदेखि कम्तीमा एउटा किताब लेख्नु नै भन्ने लागेको सुबिन बताउँछन् । अहिले भने लेखन नै रोजीरोटी बनेको उनको भनाइ छ । ‘जिन्दगीमा एउटा किताब लेख्छु, एउटा किताब नलेखी मर्दैन भनेर भन्ने थियो । कथामा रमाउँछु भन्ने एक्सप्लोर गरिसकेको थिए,’ उनले भने, ‘अहिले लेखन मेरो रोजीरोटी नै बन्न पुग्यो ।’







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया