पोखरामा एमालेले र्‍याली निकाल्ने

समाधान संवाददाता २०८२ कार्तिक १४ गते १२:०३

पोखरा ।
संविधानको रक्षा, प्रतिगामी षडयन्त्र र अराजकता विरुद्ध नेकपा (एमाले)ले मोटरसाइकल र्‍याली निकाल्ने भएको छ । जेन्जी प्रर्दशनको क्रममा भएको आगजनी तोडफोड र लुटपाटको बिरुद्धमा शान्ति सामाजिक सद्भावका कायम गर्नका लागि कात्तिक १५ गते शनिबार मोटर साइकल र्‍याली निकाल्न लागेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।


पोखराको सभागृहबाट सुरु हुने र्‍याली न्युरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्रबैंकचोक, सहिदचोक, लेकसाइड हल्लनचोक, जिरो किमी, सिर्जनाचोक हुँदै सभागृहमा फर्केर समापान हुनेछ । अध्यक्ष अधिकारीले देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी कदम र अस्थिरताको प्रयासका विरुद्ध प्रर्दशन गर्न लागेको बताए । उनले संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढता र एक्यबद्धताको सन्देश दिन र्‍याली गर्न लागेको उल्लेख गरे ।


एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले जेन्जी प्रर्दशनपछि एमालेको गतिविधि कार्यकर्ता भेला, बैठकमा सीमित भएको बताए । ‘वर्तमान सरकारका गलत क्रियाकलापका विरुद्ध सार्वजनिक रुपमा शक्ति प्रर्दशन नगरे जनताले पत्याउदैनन्,’ उनले भने, ‘संगठनात्मक गतिविधि र प्रदर्शनले आगामी मसिर २७, २८ र २९ गते पोखरामा गर्ने ११ औं महाधिवेशनलाई सहयोग पुग्नेछ ।’ उनले महाधिवेशन गर्न पार्टी केन्द्रले पोखरालाई विश्वास गरेको चर्चा गरे ।

Advertisement


एमालेका केन्द्रीय सदस्य राजीव पहारीले जेन्जी प्रर्दशनका क्रममा निजी आवास, उद्योग प्रतिष्ठान र सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्नलाई कारवाही गर्न माग गरे । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि संघीयता पक्षधर शक्तिहरुलाई साथमा लिएर एमाले अगाडि बढ्ने जानकारी दिए । उनले एमालेले सार्वजनिक सरोकार र जनजीविकाको सवाललाई समेत उठाउने बताए ।


एमाले कास्की उपाध्यक्ष भेषराज बरालले मोटरसाइकल र्‍यालीलाई व्यवस्थित बनाउनका लागि पार्टीका सबै जनसंगठन, पालिका तथा इलाका कमिटीलाई समेटेर परिचालन कमिटी गठन गरेको जनाए । उनले समन्वय सहजीकरण, प्रचारप्रसार र स्वयंसेवक परिचालन गरी र्‍यालीलाई आकर्षक बनाउने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया