ओलीलाई उपत्यकाबाहिर जान रोकपछि एमाले महाधिवेशन काठमाडौँमा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन पोखराको सट्टा काठमाडौँमा हुने भएको छ। जेनजी आन्दोलनपछि गठित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाडेर बाहिर जान रोक लगाएका कारण महाधिवेशन काठमाडौँमा सारिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेको गत असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको थियो।
यसअघि पार्टीको नवौँ महाधिवेशन पनि काठमाडौँमा गरिएको थियो भने दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिरमा चितवनमा गरिएको थियो।
महाधिवेशनमा करिब २ हजार १ सय जना प्रतिनिधि सहभागी हुने
पार्टीको ११औँ महाधिवेशनमा करिब २ हजार १ सय जना प्रतिनिधि सहभागी हुने भएका छन्। आज बसेको सचिवालय बैठकले महाधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड बनाउँदै करिब २ हजार १ सय जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको उपमहासचिव प्रदीपले जानकारी दिए। महाधिवेशनका लागि मङ्सिर १३ गते एकैदिन देशैभर प्रतिनिधि चयन गरिने उनले बताए।
उपमहासचिव ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका ३ सय ५४ जना, अनुशासन आयोगबाट २९, केन्द्रीय लेखा आयोगका ३०, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्बाट २५/२५ जना प्रतिनिधि हुनेछन्। यस्तै, महाधिवेशनका लागि करिब ९ सय जना प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सहभागी हुनेछन्।
विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवासबाट ३०, केन्द्रीय विभाग र पार्टीको केन्द्रीय कार्यालयबाट ३३ र २३ वटा जनसङ्गठनबाट १ सय २७ जना महाधिवेशनमा प्रतिनिधि हुने पनि जनाइएको छ।
महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० जना पार्टी सदस्यबाट नै विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने उपमहासचिव ज्ञवालीले बताए। प्रतिनिधि चुनिएको विवरण मङ्सिर १५ गते साँझसम्म पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न अनुरोध गरिएको उनले बताए।
मुख्यतः प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन हुनेछन्। एउटा निर्वाचन क्षेत्रमा १ हजार २ सय पार्टी सदस्य बराबर दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनौट हुनेछन्। त्यसबाहेक हरेक ८ सय जना सदस्य सङ्ख्या बराबर थप एक जना प्रतिनिधि चयन हुनेछन्। यसरी चुनिनेमा महिला हुनेछन्।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि एक तिहाइ महिला सुनिश्चित गरिने उपमहासचिव ज्ञवालीले बताए। यस्तै, हरेक ५ सय जना दलित सदस्य सङ्ख्या बराबर एक जना दलित, आरक्षण क्षेत्रमा ट्रेड युनियनबाट दुई जना खुलासहित सात जना प्रतिनिधि चयन हुने पनि उनले जानकारी दिए।
यस्तै, प्रत्येक जनसङ्गठनबाट दुई जना खुलासहित पाँच जना अनिवार्य हुनेछन्। महासङ्घको ढाँचामा रहेका जनसङ्गठनबाट सात जना, हरेक ३२ वटा विभागबाट एक/एक जना प्रतिनिधि चयन हुनेछन्। प्रदेश कमिटीबाट तीन खुला र दुई जना महिला गरेर पाँच जना प्रतिनिधि चयन हुनेछन्। प्रवासमा प्रत्येक छ वटा प्रदेशस्तरका कमिटीबाट पाँच जनाका दरले प्रतिनिधि छनोट हुनेछन्।
उपमहासचिव ज्ञवालीले ती प्रतिनिधिमा करिब पाँच प्रतिशत नबढ्ने गरी आवश्यकताअनुसार पार्टीले प्रतिनिधि मनोनयन गर्ने बताए।
संविधान र लोकतन्त्रको रक्षाका लागि जनपरिचालन
यसैगरी पार्टीले संविधान र लोकतन्त्रको रक्षाका लागि जनपरिचालन र काठमाडौँमा मङ्सिर ६ गते जनसभा गर्ने निर्णय गरेको छ। यस्तै, कात्तिक २२ गते वडास्तरमा भेला, कात्तिक २५ गते पालिकास्तरीय जनप्रदर्शन, कात्तिक २९ गते जिल्लास्तरीय जनसभा गर्ने निर्णय गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया