सातै मुख्यमन्त्री–प्रधानमन्त्री संवाद
मुख्य एजेन्डा चुनाव, मुख्यमन्त्रीहरुको जोड संघीयता र प्रदेशका अधिकारमा

पोखरा । जेन्जी आन्दोलनपछि केन्द्रमा सुशीला कार्की नेतृत्वमा सरकार गठन भयो । त्यही सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग भयो । त्यसपछि प्रदेश सभा र प्रदेश सरकार पनि भंग र विघटन हुने पो हो कि भन्ने आशंका थियो । त्यसो त जेन्जी आन्दोलनका क्रममा प्रदेश सरकार र मातहतका अधिकांश कार्यालय ध्वस्त भए ।
गण्डकीमा पनि सबैभन्दा धेरै क्षति प्रदेश संरचनामा भयो । प्रदेश सभा सचिवालयको संरचना त मर्मत समेत गर्न नमिल्ने गरी ध्वस्त भएको छ । संरचना ध्वस्त भए पनि प्रदेशहरुले आआफ्नै सामथ्र्य बटुलेर उठ्ने प्रयास थाले । त्यसपछि पनि संघ सरकारसँगको संवादहीनका कारण प्रदेशहरुमा अलमल थियो ।
यसबीचमा गण्डकी प्रदेश सभा बैठकका लागि प्रदेश सभा सदस्यहरुलाई खबर गरिएको भए पनि यस्तै अन्योलका कारण अनिश्चितकालका लागि स्थगित गरियो । खर्च कटौतीका नाममा प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री र पदाधिकारीको सुविधा काट्ने निर्णयप्रति पदाधिकारीहरु सन्तुष्ट थिएनन् । बाहिर व्यक्त गर्न नसके पनि भित्रभित्रै उनीहरुले प्रदेशको अधिकारमाथि संघ हस्तक्षेप भनी आलोचना गरेका गरेका थिए ।
यी र यस्तै अन्योलबीच आइतबार प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग बालुवाटारमा बैठक गरेकी छन् । जुन बैठकले सबैभन्दा पहिलो त संघ र प्रदेश सरकारबीचको संवाहीनता तोडेको छ ।
बैठकपछि समाधानसँग कुरा गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, ‘संघ सरकार गठन भएको यति भइसक्दासम्म हामी र प्रधानमन्त्रीबीच कुरै हुन पाएको थिएन, यो बैठकले मुख्य त संवादहीनता तोडेको छ ।’
प्रदेश सरकारहरु आफ्नै अस्तित्व र अधिकारका लागि संघर्षरत छन् । ती अधिकार स्थापित गर्न र प्रदेशका समस्या उठानका लागि संघ र प्रदेशका साझा संयन्त्रहरु पनि छन् । ती संयन्त्रलाई क्रियाशील बनाउँदै संघीयतालाई मजबुत बनाउँदै अगाडि बढ्न मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई स्मरण गराएका छन् । ३ तहका सरकारको साझा थलो राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय विकास समस्या समाधान समितिका साथै अन्य संयन्त्रलाई क्रियाशील बनाउनका आफूहरुले सुझाएको मुख्यमन्त्री पाण्डेले सुनाए ।
- – संवादहीनता अन्त्य
– छलफलको मुख्य एजेन्डा चुनाव
– क्षतिग्रस्त संरचना मर्मतमा मुख्यमन्त्रीहरुको जोड
– खर्च कटौती र प्रदेशका अधिकारप्रति ध्यानाकर्षण
– किसानलाई राहत र उद्योगका समस्या उठान
साथै, जेन्जी आन्दोलनपछि क्षति पुगेका प्रादेशिक संरचना मर्मत सम्भारका लागि समेत मुख्यमन्त्रीहरुले संघ सरकारसँग गुहार मागेका छन् । संघीयता सबल बनाउन नागरिकका असन्तुष्टि चिर्दै प्रदेश संरचनालाई मितव्ययी र छरितो बनाउन प्रदेश सरकारहरु क्रियाशील रहेकोमा मुख्यमन्त्रीहरुको जोड छ । प्रदेशमा आम्दानीको सीमितताका कारण क्षतिग्रस्त संरचनाको मर्मत सम्भारमा संघको सहयोग अपरिहार्य रहेको उनीहरुको भनाइ छ ।
लामो समय छलफल गरी निर्णयको बिन्दुमा पुग्नै लागेको कार्यविस्तितीकरण प्रतिवेदन परिमार्जनको सन्दर्भलाई समेत मुख्यमन्त्रीहरुले उठाएका थिए । साथै, प्रदेशले बनाएका कानुन संघ सरकारको परिपत्रका कारण कमजोर हुन नहुनेबारे पनि बैठकमा आवाज उठेको थियो । जेनजी आन्दोलनबाट गठित सरकारले न्यायिक, प्रशासनिक सुधारको प्रयास गरेको तर प्रदेशका राजनीतिक पदाधिकारीको सुविधामा मात्र लक्षित गरी परिपत्र गरेको हो कि भन्ने आशंका पनि उनीहरूले व्यक्त गरे ।
खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत घोषणा गर्नुपर्नेसमेत उनीहरुको माग थियो । मुख्यमन्त्रीहरूले डेडिकेटेड फिडरको बक्यौता नबुझाउने उद्योगहरुको बिजुलीको लाइन काट्ने निर्णयले उद्योगका साथै मजदुर र सरकारको राजस्वमा असर गर्नेतर्फ पनि ध्यानाकर्षण गराएका थिए ।
बैठकमा गण्डकीका मुख्यमन्त्री पाण्डेसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार सहभागी थिए । यसैगरी, बागमतीका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी थिए । प्रधानमन्त्रीपछि उनीहरु सबैले पालैपालो भनाइ राखेका थिए ।
बैठकको सुरुमा प्रधानमन्त्री कार्कीले बैठकको औचित्य र आफू नेतृत्वको सरकारको म्यान्डेटबारे भनाइ राखेकी थिइन् । उनले संघ र प्रदेश सरकारबीचका संरचनालाई क्रियाशील बनाउनका लागि ‘वर्कआउट’ भइरहेको बताइन् । तोकिएको समयमा निर्वाचन गराउन सरकार दृढ रहेको भन्दै उनले त्यसका लागि सघाउन उनले मुख्यमन्त्रीहरुसँग पनि आग्रह गरिन् । उनको आग्रहमा सबै मुख्यमन्त्रीले सघाउने प्रतिबद्धता जनाएका छन् ।
संघीयता कमजोर पार्ने र प्रदेशको अधिकारप्रति हस्तक्षेप गर्ने सरकारको ध्येय रहेको भन्दै प्रधानमन्त्री कार्कीले संविधान अनुसार गठित ३ तहका सरकारले आआफ्नै क्षेत्राधिकारमा रहेर काम गर्न कुनै बन्देज नरहेको प्रष्ट्याइन् । बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसमेत सहभागी थिए ।
बैठकमा सहभागी अर्थमन्त्री खनालले सरकारले अवलम्बन गरेको खर्च कटौतीको नीतिबारे मुख्यमन्त्रीहरुलाई प्रष्ट्याएका थिए । सुशासन कायम गर्दै चालु वर्षको बजेटबाटै निर्वाचन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै खर्च कटौती गर्नुपरेको भन्दै यसमा सबै प्रदेशबाट सहयोगको अपेक्षा गरिएको उनले बताएका थिए । संघको परिपत्र र निर्णयले प्रदेश सरकारको अधिकारमाथि हस्तक्षेप भएको भए सच्च्याउने अर्थमन्त्री खनालले प्रतिबद्धता जनाएका छन् ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया