माओवादी र एसले २० गते एकता गर्ने
प्रचण्डले नेतृत्व गर्ने, माधव सहसंयोजक

पोखरा ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच आउँदो कात्तिक २० गते पार्टी एकता हुने भएको छ । माओवादी केन्द्रको आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कात्तिक १८ गते माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्नेछ । त्यस बैठकमा संगठनात्मक र नीतिगत विषयमा छलफल हुनेछ । त्यसपछि कात्तिक २० गते एकीकृत समाजवादीसहित एकतामा आउने दलहरूसँग संयुक्त बैठक बस्नेछ र पार्टी एकता घोषणा हुने तयारी छ ।
एकता प्रक्रियामा माओवादी केन्द्र र एकीकृत समाजवादीबाहेक समाजवादी मोर्चामा आबद्ध अन्य दलहरू पनि सामेल छन् । नेत्रविक्रम चन्द ’विप्लव’बाट छुट्टिएका चिरन सीसहितको एउटा समूह, महिन्द्रराय यादवको नेपाल समाजवादी पार्टी र राजु कार्कीको नेकपा (समाजवादी) लगायतका दलहरू पनि एकतामा आउँदै छन् । यी दलहरूबीच नीति र नेतृत्वका विषयमा सहमति भइसकेको छ ।
एकताबाट बन्ने नयाँ पार्टीको नेतृत्व संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् भने माधव नेपाल सहसंयोजक रहनेछन् । यो एकीकृत पार्टी बहुपदीय ढाँचाको हुने छैन । यसको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ । तत्कालका लागि नेपाली विशेषताको समाजवाद कार्यनीति हुनेछ र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद प्राप्त गर्ने छ ।
प्रवक्ता सापकोटाले जानकारी दिएअनुसार पार्टी एकतापछि नयाँ दल दर्ता प्रक्रिया र त्यसको तयारीबारे पनि सचिवालय बैठकमा विस्तृत छलफल भयो । बैठकको मुख्य एजेन्डा ‘नीतिगत, वैचारिक र संगठनात्मक विषयहरू मिलाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी’ रहेको उनले बताए ।
माओवादी केन्द्रका सचिवालय सदस्य जनार्दन शर्माले आइतबारको बैठक बहिष्कार गरे । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टी एकता अघि बढाउने निर्णयप्रति उनले असहमति जनाएका थिए । उनले शनिबारको बैठकमै पनि आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए ।
प्रवक्ता सापकोटाले जनार्दन शर्माको गतिविधि ‘पार्टी अनुशासन विपरीत र अराजक’ रहेको बताए । यस विषयमा पार्टीले आवश्यक निर्णय लिने पनि उनले जानकारी दिए । ‘हिजोको बैठकमा उनले आफ्ना कुरा राखे तर अन्य नेताहरूको धारणा नसुन्दै बैठक छोडे । त्यस शैलीलाई हामीले राम्रो ठानेका छैनौं,’ सापकोटाले भने । माओवादी केन्द्रले एकीकृत समाजवादी लगायतका दलहरूसँग वैचारिक, नीतिगत र संगठनात्मक एकतापछि नयाँ दल दर्ता गरी संयुक्त अधिवेशनमा जाने तयारी गरेको जनाएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया