
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका मुस्ताङले आधारभूत तह कक्षा ४ र ५ का विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिरहेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्था अनुसार आगामी नयाँ शैक्षिक सत्रदेखि गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरिएको हो ।
चालु शैक्षिक सत्रमा यहाँको घरपझोङ गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ३ सम्मका लागि विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पु¥याउने उद्देश्यले थप कक्षाका लागि स्थानीय पाठ्यक्रम निर्माणको कार्य हुन लागेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए ।
स्थानीय पाठ्यक्रमको खाका (ड्राफ्ट) तयार भइसकेको र त्यसपछि सम्पादन कार्यअघि बढाई पुस्तक छपाईका लागि अफसेटमा पठाइने जोमसोम स्थित जनहित माध्यमिक विद्यालयका शिक्षक कर्ण थकालीले बताए । यसअघि घरपझोङ गाउँपालिका स्थित जनहित माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधि एवं स्थानीय स्रोत व्यक्ति कर्णबहादुर थकालीलाई पाठ्यक्रम निर्माणको जिम्मा दिएको थियो ।
मंगलबार यहाँ आयोजित घरपझोङ गाउँपालिकाद्वारा तयार पारिएको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यक्रमको नमूना खाकाको प्रवोधिकरण गरियो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पत्रकार, स्थानीयको रोहबरमा स्थानीय पाठ्यक्रमको प्रवोधीकरण गरिएको हो ।
शिक्षक थकालीद्वारा तयार पारिएको आधारभूत तह कक्षा ४ र ५ को पाठ्यक्रमलाई सुझावसहित अनुमोदन गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले सुनाए । शिक्षक कर्णबहादुरद्वारा तयार पारिएको पाठ्यपुस्तकमा गाउँपालिका भित्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विषय वस्तु समेटिएका छन् । थकाली समुदायको बाहुल्य रहेको घरपझोङ गाउँपालिकामा थकाली धर्म, परम्परा र संस्कृतिलाई पुस्तान्तरण गर्ने गरी स्थानीय पाठ्यक्रमको खाका तयार पारिएको हो ।
पाठ्यक्रममा कृषि, पशुपालन र पर्यटन लगायतका बिषयलाई पनि पाठ्यक्रममा महत्वपूर्ण अंशको रुपमा समावेश गरिएको छ । थकाली समुदाय अन्तर्गत मनाइने त्युङ्ला, तेरमी र तोरन्ल जस्ता महत्पूर्ण चाडपर्वको महत्वबारेमा जानकारी दिने गरी स्थानीय पाठ्यक्रम निर्माणको खाका तयार पारिएको शिक्षक कर्णबहादुर बताउँछन् ।
पुस्तकमा थकाली पोशाक, थकाली वेशभूषा, रहनसहन, थकाली खानका परिकार र पर्यटकीय गन्तव्यसमेत समावेश गरिएको छ ।सदिंयौ कालदेखि चल्दै आएको मुखिया प्रथाको संस्कृतिलाई इतिहासका रुपमा पाठ्यक्रममा प्रष्ट्याउने कोशिस गरिएको छ । पुस्तकमा गाउँपालिका भित्रका प्राकृतिक सम्पदा, जैविक विविधता र वन्यजन्तुबारे शिक्षा दिने गरी खाका तयार पारिएको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया