न्युयोर्क सिटीमा जोरान माम्दानी बने पहिलो मुस्लिम मेयर

समाधान संवाददाता २०८२ कार्तिक १९ गते १९:१४

पोखरा । पूर्व र्‍यापर तथा राज्य सांसद जोरान माम्दानीले डोनाल्ड ट्रम्पको कडा विरोधका बाबजुद न्युयोर्क सिटीको मेयर पदमा ऐतिहासिक जित हासिल गरेका छन् । डेमोक्रेटिक पार्टीको प्राइमरीमा पूर्वगभर्नर एन्ड्रू कुमोलाई अप्रत्याशित रूपमा पराजित गरेपछि चर्चामा आएका माम्दानीले मंगलबारको मेयर चुनावमा एन्ड्रू कुमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई हराएका हुन् ।

युगाण्डामा जन्मेका माम्दानी न्युयोर्क सिटीका पहिलो मुस्लिम मेयर बनेका छन् । उनी न्यु योर्कको मेयर बन्ने पहिलो अफ्रिकी मूलका व्यक्ति, दक्षिण एसियाली मूलका पहिलो मेयर र एक सय वर्षभन्दा बढी समयपछि सहरका सबैभन्दा कान्छा मेयर पनि बनेका छन् ।

Advertisement

जितपछि माम्दानीले मतदातासमक्ष भने, ‘तपाईंका लागि यो सहरलाई हिजोभन्दा अझ राम्रो बनाउन म हरेक बिहान एउटै लक्ष्यका साथ उठ्नेछु ।’ माम्दानी डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिकाका सदस्य भए पनि आफू स्वतन्त्र नीति र दृष्टिकोणका साथ दौडिरहेको बताएका थिए । उनले केही अपराधका लागि अनिवार्य जेल सजाय अन्त्य गर्ने वा प्रहरी बजेट घटाउने मागहरू अस्वीकृत गर्ने बताएका छन् ।

चुनावी अन्तिम साताहरूमा बढेको मुस्लिमविरोधी भाषणबीच पनि माम्दानी आफ्नो विश्वासमा दृढ देखिएका थिए । उनले अक्टुबरको अन्त्यतिर ब्रोङ्क्सस्थित एक मस्जिद बाहिर मुस्लिम समुदायले लामो समयदेखि भोग्दै आएका ‘अपमान र बेइज्जती’ बारे भावनात्मक भाषण दिएर आफ्नो पहिचानलाई अझ दृढताका साथ अँगाल्ने प्रतिज्ञा गरेका थिए । ‘म आफूलाई बदल्ने छैन । न मेरो खानपान, न मेरो धर्म केही बदलिने छैन । मेरो धर्मलाई त म गर्वका साथ आफ्नो भन्छु । तर एउटा कुरा भने बदल्नेछु, म अब आफूलाई छायाँमा होइन, प्रकाशमा खोज्नेछु,’ उनले भने ।

Advertisement

१८ अक्टुबर १९९१ मा युगाण्डाको राजधानी कम्पालामा जन्मेका माम्दानीका बुबा महमूद माम्दानी र आमा मीरा नायर भारतीय मूलका हुन् । उनीहरू पछि युगाण्डा र अमेरिकाका नागरिक बने । जोरानले २०१८ मा अमेरिकी नागरिकता प्राप्त गरेपछि २०२० मा न्यू योर्क सभामा चुनाव जिते । उनले २०२० र २०२२ मा निर्विरोध निर्वाचित भएर धेरैलाई चकित पारेका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष विरोधका बीच पनि जोरानले महत्वपूर्ण विजय हासिल गरेका छन् ।

उनका बुबा महमूद कोलम्बिया विश्वविद्यालयमा मानवशास्त्रका प्राध्यापक हुन् भने आमा मीरा नायर पुरस्कार विजेता फिल्म निर्माता हुन्, जसका चर्चित फिल्महरूमा ‘मनसून वेडिङ’ र ‘द नेमसेक’ पर्छन् । माम्दानीले यसै वर्ष सिरियाली–अमेरिकी कलाकार रामा सवाफ दुबाजीसँग विवाह गरेका थिए, जसलाई उनले डेटिङ एप हिन्जमार्फत चिनेका थिए । अहिले उनीहरू क्विन्सको एस्टोरियामा बस्छन् ।

बोडोइन कलेजबाट अफ्रिकाना स्टडिजमा स्नातक गरेपछि माम्दानीले क्विन्समा फोरक्लोजर रोकथाम सल्लाहकारको रूपमा काम गरे । उनले ‘योङ कार्डामम’ र पछि ‘मिस्टर कार्डामम’ नामले हिप–हप संगीतमा पनि सक्रिय थिए ।

माम्दानीका चुनावी भिडियोहरू फिल्मी शैलीका थिए, जसमा बलिउड र भारतीय पहिचानको प्रयोग गरिएको थियो । उनले नयाँ वर्षमा कोनी आइल्याण्डको चिसो पानीमा डुबेर ’भाडा स्थगन’ योजनाबारे जानकारी दिएका थिए । टिकटक भिडियोहरूमा उनले रंगीचंगी समुदायका मतदातासँग स्पेनिस र बंगला जस्ता विभिन्न भाषामा संवाद गरेका थिए ।
उनले आफ्नो अभियानमा खासगरी निम्न र मध्यमवर्गीय नागरिकको जीवनयापन सहज बनाउने मुद्दाहरू अघि सारेका थिए । शहरलाई सुरक्षित बनाउन समुदाय सुरक्षा विभाग खोल्ने, महँगी कम गर्ने, घरभाडाको मूल्य स्थगित गर्ने, शिशु स्याहारका लागि निःशुल्क कार्यक्रम ल्याउने उनका मुख्य चुनावी वाचा थिए ।

लामो समयदेखि प्यालेस्टाइन समर्थक माम्दानीले आफ्नो चुनावी अभियानभरि इजरायलको आलोचना जारी राखे । उनले इजरायललाई ‘यहूदी राज्य’ नभई ‘समान अधिकार भएको राज्य’ का रूपमा अस्तित्वमा रहनुपर्ने बताएका थिए । विरोधीहरू र यहूदी समुदायका धेरै नेताहरूले उनको आलोचना गरे, जसमा एन्ड्रू कुमोले माम्दानीमाथि ‘यहुदीविरोधी भावना बढाएको’ आरोपसमेत लगाएका थिए ।

चुनाव जितेपछि माम्दानीले आफ्नो नेतृत्वमा सहरले यहुदीविरोधी भावनाविरुद्ध अडान राख्ने वाचा गरेका छन् । उनको विजयलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष विरोधका बाबजुद हासिल भएको एक महत्वपूर्ण राजनीतिक सफलताका रूपमा हेरिएको छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया