महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता

समाधान संवाददाता २०८२ कार्तिक २० गते १७:१८

बागलुङ ।
मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञको तयारी तीव्र पारिएको छ । कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा आयोजना गरिएको मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै बागलुङमा सहयोग जुट्ने क्रम सुरु भएको छ ।


महायज्ञको मिति नजिकिँदै जाँदा दाताहरूले भवन निर्माणका लागि आर्थिक सहयोग गर्न थालेका छन् । आश्रमको भवन निर्माणका लागि हाल अमेरिका निवासी रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले भवन निर्माणका लागि ५० हजार ५९८ सहयोग दिएका छन् । सोही क्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आश्रम भवनको पूर्णताका लागि नगरपालिकाका तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेकी छन् ।


बागलुङ नगर उप–प्रमुख राजु खड्काले भने भवन निर्माणका लागि १ लाख १११ सहयोग गर्ने बताए । त्यसैगरी वडाध्यक्ष छमबहादुर कार्कीले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् भने अन्य कार्यपालिका सदस्यले आफ्नो १५ दिनको भत्ता सहयोगका रूपमा दिने घोषणा गरेका छन् ।

Advertisement


त्यस्तै गलकोट नगरपालिका–१० निवासी समाजसेवी मानसिंह छन्त्यालले १ लाख पाँच हजार ५५५ सहयोग गर्ने बताएका मानव सेवा आश्रमका अभिभावक सुमिरा लामाले जानकारी दिइन् । हाल बागलुङ–३ लालीगुराँसचोकमा अवस्थित मानवसेवा आश्रम बागलुङ शाखामा ३५ महिला र २९ पुरुष गरी ६४ जना आश्रित छन् ।


बागलुङ–४ निरयघाटमा निर्माणाधीन भवन चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ । महायज्ञको तयारी र प्रचारप्रसार तीव्र पारिएको मानसेवा आश्रमले जनाएको छ । महायज्ञलाई सफल बनाउन बागलुङ–२ मा सचिवालय स्थापना गरिएको छ । सचिवालयबाट प्रचारप्रसार, जनसम्पर्क, सदस्यता वितरण र सहयोग संकलनको काम अघि बढाइएको छ ।

Advertisement


आश्रमले महायज्ञबारे जानकारी दिन जिल्ला समन्वय समितिको कार्यालय बागलुङ, पर्वत र म्याग्दीमा स्नेहमिलन कार्यक्रम सम्पन्न गरिसकेको छ । मूल समारोह समितिका महासचिव युक्तप्रसाद सुवेदीका अनुसार सचिवालयले महायज्ञ तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखेको छ ।


दुई सय जना सहयोगपेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । मानवसेवा आश्रमले साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएको छ । हाल आश्रममा ६४ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरूको पालनपोषण र रेखदेखमा मासिक १० लाखभन्दा बढी खर्च हुने गरेको छ ।


भवन निर्माणका लागि हालसम्म रु पाँच करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै ४ करोड आवश्यक रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । महायज्ञमार्फत आवश्यक रकम संकलन गरेर भवन निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि कोष सुदृढ बनाउने लक्ष्य लिइएको छ । रासस

तपाईको प्रतिक्रिया