म्याग्दीको सौगातः टिमुरका परिकार

राष्ट्रिय समाचार समिति (रासस) २०८२ कार्तिक २३ गते १२:०२

म्याग्दी ।
मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङ्ताङले फर्कने बोला बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी खरिद गरे । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो किनिन् ।


‘मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो’, स्याङ्तानले भने, ‘पदयात्राको क्रममा लेक लागेमा औषधिको साथै खानासँगै चटनीका रूपमा प्रयोग गर्न स्वादिलो हुने रहेछ ।’


रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बासनादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । म्याग्दी भ्रमणमा आउनेले किनेर लैजानेदेखि देशका विभिन्न सहर तथा विदेशमा रहेका आफन्तलाई कोसेली पठाउने प्रमुख वस्तु टिमुर बनेको बेनीकी उद्यमी मिना राम्जालीले सुनाइन् ।

Advertisement


‘घुम्न आएकाले सबैभन्दा धेरै किनेर लैजाने वस्तु टिमुरको धुलो र चटनी हो,’ उनी थप्छिन्, ‘बहुउपयोगी टिमुर म्याग्दीको कोसेली बनेको छ ।’ ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको टिमुर बेनीका कोसेली घरहरूलाई ल्याएर बिक्री गर्छन् ।


उद्यमीले टिमुरलाई प्रशोधन गरेर धुलो र चटनी बनाएर बट्टामा राखेर बिक्री गर्छन् । बट्टाको आकार अनुसार टिमुरको धुलो र चटनीको मूल्य हुन्छ । कोसेलीको साथै मुस्ताङ, पोखरा, काठमाडौँ, चितवन लगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुने गरेको टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका ९ तोरीपानीका सागर बानियाँले जनाए ।

Advertisement


बेनी ९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब १ सय ५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । यस वर्ष करिब ५० मुरी टिमुर उत्पादन भएको अनुमान गरिएको टिमुरखेती समेत गरेका बानियाँले जानकारी दिए ।


म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयको तथ्यांक छ । बेनी ९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो । म्याग्दीमा हाल वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको वन डिभिजनले जनाएको छ ।


टिमुर खेतीसम्बन्धी अनुसन्धान गर्दै आएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार टिम्मुर औषधीय गुण भएको मसलेदार फल हो । उच्च रक्तचाप नियन्त्रण, कलेजो र दाँतको सुरक्षा, फुड पोइजनिङ हटाउने टिमुर कलेजोसम्बन्धी समस्या भएका बिरामीले पनि आयुर्वेदिक औषधिको रूपमा प्रयोग गर्ने उनीको भनाइ छ ।


पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपालि टिमुरको उत्पादन बढेको ढावाकी जमुना राईले बताइन् । खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन् ।


पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान नरबहादुर राइले बताए । जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू–तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन । म्याग्दी उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवद्र्धन गर्दै आइएको जनाएको छ । रासस

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया