मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी

समाधान संवाददाता २०८२ कार्तिक २३ गते १५:२७

पोखरा। मनाङ जिल्लामा कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव आइतबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरीले फेला पारेको छ। ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेल बाबुछोरी रहेको खुलेको छ।

उनीहरू मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका-५ स्थित मिलेरेपा गुम्बा घुम्न जान्छु भनी हिँडेका थिए। त्यसयता उनीहरू सम्पर्कमा आएका थिएनन्।

Advertisement

बाबुछोरी सम्पर्कविहीन भएपछि ग्याल्सेन होटलले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई खोजीकार्यका लागि जानकारी गराएको थियो। प्रारम्भिक खोजीमा नभेटिएपछि कार्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीको कमान्डमा उद्धार सामग्रीसहित माउन्टेन रेस्क्यु तालिम प्राप्त टोली परिचालन गरियो।

सोही टोलीले गुम्बाबाट करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा उनीहरूको शव फेला पारेको हो।

Advertisement

शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।


तपाईको प्रतिक्रिया