ह्याङ्जाकोटको पर्यटन प्रवर्द्धनमा पैरवी

समाधान संवाददाता २०८२ कार्तिक २३ गते १८:४९

पोखरा। दशक अघिदेखिको सपना विस्तारै साकार हुदैंछ । भूकम्प, नाकाबन्दी, कोरोना अनि जेन–जी आन्दोलन जस्ता अनेक उतारचढावका कारण सपना पुरा हुन समय लागिरहेको छ । तर, गाउँले तल्लिन नै छन् । केहीले समस्यासँग जुध्न नसकेर छाडि गाउँ सके । थातथलोको माया मानेर बसेकाहरु गाउँमा पाहुना बोलाउन कस्सिदैं छन् ।

Advertisement

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित ह्याङ्जाकोट सामुदायिक होमस्टेमा दशैतिहारपछि पाहुनाको आवागमन बढिरहेको छ । होमस्टेका अध्यक्ष ईश्वर गुरुङ पाहुनो चाप बढ्दै जाँदा घरबास सञ्चालकहरु खुसी भएको बताउँछन् । ‘२०६१ सालदेखि नै गाउँमा होमस्टे खोलेर पाहुना बोलाउने गाउँलेको सपना हो । कहिले भूकम्प, कहिले नाकाबन्दी अनि कोरोना र अहिलेको जेन–जी आन्दोलन सपना साकार हुन्छ की नाई भन्ने चिन्ता मात्र हुन्छ,’ उनले भने, ‘तर, दशैंतिहारपछि पाहुनाहरु आउन सुरु गर्नुभएको छ । अब हाम्रो सपना बिस्तारै साकार हुन्छ की भन्ने लाएको छ ।’

१० वर्षअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्चको सहयोगमा ७३ घर समेटेर पर्यटन बोर्डमा होमस्टे दर्ता गरी ह्याङ्जाकोट घरबास सुरु गरेदेखि नै अनेक समस्या झैल्दै आएको देखेको सपना पुरा हुन समय लागेको अध्यक्ष गुरुङले सुनाए । ‘धिताल गाउँको केही घर समेटेर ७३ घरधुरी समेटर पर्यटन बोर्डमा होमस्टे दर्ता गरिएको हो । पछि धितालतिर पाहुना जान छाडेपछि ह्याङ्जाकोटमा मात्र बनाइयो,’ उनले भने, ‘यहाँ पनि सुस्ताएर बसेको बेला २०६७÷६८ सालतिर टलकजंग भर्सेज टुल्के फिल्मको टिम आएपछि फेरी जुर्मुराएको हो ।’ त्यो बेला १ सय ५० जनाको सुटिङ युनिटलाई ह्याङ्जाकोटमा राखेपछि पाहुना पाल्न सकिन रहेछ भन्ने लागेर होमस्टे सञ्चालकहरु अझ हौसिएको उनले सुनाए ।

Advertisement

त्यसपछि अनेक समस्या झेल्दै आइरहेको होमस्टेका उपाध्यक्ष कुमार गुरुङले सुनाए । तर, गाउँलेले हिम्मत नहारेको उनको भनाइ थियो । गाउँ छाडेकाहरु जन्मभूमि नै फर्केर होमस्टे सञ्चालन गर्न थालेकाले पाहुना गाउँ भित्राउने सपना पुरा हुनेमा उनी ढुक्क छन् । ‘पोखरा २५ हेमजाबाट धितालसम्म बाटो पिच भएको छ । अनि त्यहाँबाट गाउँसम्म आउने बाटो ढलान गरिएको छ,’ उनले भने, ‘सबै सुविधा आएको छ । शहर गएकाहरु पनि गाउँ फर्केका छन् । अब भने त्यो बेलाको सपना पुरा हुन्छ की भन्ने आशा छ ।’ होमस्टेका लागि विभिन्न संघ संस्थासँगै पालिकाबाट पनि धेरथोर सहयोगको अपेक्षा गरिरहेको उपाध्यक्ष गुरुङले बताए ।

होमस्टे सञ्चालकहरुको भावनाको कदर गर्दै गाउँपालिकाले ह्याङ्जाकोट होमस्टेसँगै माछापुच्छ«े गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया’ मा गाउँपालिकाले पनि सहकार्य गरेको हो ।

Advertisement

कार्यक्रमका सहभागीहरुले ह्याङ्जाकोट होमस्टेसँगै माछापुच्छ्रे गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएर पनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताएका थिए । पर्यटकीय क्षेत्रको उपयुक्त प्रचार प्रसार हुन सकेको खण्डमा पालिकालाई पर्यटन र खेलकुदको माध्यमबाट देश तथा विदेशमा चिनाउन सकिने र पर्यटक भित्राउन सकिने उनीहरुले बताएका थिए ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले पालिका भित्रका विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजी भइरहेको बताए । आन्तरिक पर्यटक धेरै चहलपहल हुने गाउँपालिकाका गन्तव्यहरुमा विदेशी पर्यटकलाई आकर्षण गर्ने खालका योजनामा बनाइरहेको पनि उनले सुनाए ।

पछिल्लो समय पालिका भित्रको कोर्चांदेखी सैदीघट्टसम्म ठाडो सिधा सिढि बाटोलाई साहसिक खेल पर्यटन प्रबद्र्धन गर्नका लागि ‘इन क्लाइमिङ’ गुरुयोजना अघि सारेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । ह्याङ्जाकोट हामेस्टेको प्रवद्र्धनमा पनि पालिकाले सहयोग गर्दै जाने उनको भनाइ थियो । ‘हाम्रो पालिकको ल्वाङ, घलेल, घाचोकमा कार्यक्रम भइरहन्छन् तर, ह्याङ्जाकोटमा त्यति भएको थिएन्,’ उनले भने, ‘यहाँको होमस्टेको प्रवद्र्धनका लागि पनि हामीले खेलकुद पत्रकारसँगको समन्वयमा यो कार्यक्रम यहाँ गरेका हौं ।’

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका कारण पालिकाले पर्यटन प्रवद्र्धनका लागि काम गर्न समस्या भएको बताइन् । पालिकाले पर्यटन शुल्क उठाउन सुरु गर्दा स्थानीय व्यवसायी र एक्यापको विरोधका कारण समस्या आएको सुनाउँदै संरक्षण क्षेत्रको नीति नियमहरूका कारण गाउँपालिकाको आन्तरिक राजस्वमा कमी आउन पुगेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले पनि एक्यापसँगको अन्तरद्वन्दकाकारण गाउँपालिकाकाले पालिका भित्रको स्रोत साधनको उचित प्रयोग गर्न नपाएको बताए । उनले गाउँपालिकाको दुर्गम क्षेत्र पर्यटकीय हिसाबले बढि सम्भावना बोकेको क्षेत्र भएपनि प्रचार प्रसारको कमी र एक्यापसँगको अन्तरद्वन्दका कारण अपेक्षित लाभ लिन नसकिएको बताए ।
माछापुच्छ्रे गाउँपालिका ६ का अध्यक्ष टेकनाथ अधिकारीले उत्तरतर्फ फर्किएको भूवनोटका कारण ह्याङ्जाकोट हिमालको मनोरम दृश्यावलोनका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको बताए । प्रचूर पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पत्रकारीताको माध्ययमबाट प्रचार प्रसार गरिदिन उनले आग्रह गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीच भएको अन्तरक्रियाले समन्वय सुदृढ बनाई पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे । अन्तरक्रियामा पत्रकार र स्थानीयबाट उठेको प्रश्नको जवाफ गाउँपालिकाले दिएको थियो । अन्तरक्रियामा ह्याङ्जाकोट सामुदायिक होमस्टेका सञ्चालकहरु, पत्रकार, पर्यटन व्यवसायी, जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

मञ्चको साधारण सभामा दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी प्रदेशको साधारण सभा सातौं साधारण सभा शनिबार भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ ह्याङ्जाकोट सामुदायिक होमस्टेमा भएको साधारण सभामा महासचिव पर्शुराम शर्मा प्रगति प्रतिवेदन र कोषाध्यक्ष विमल तिवारीको आर्थिक प्रतिवेद सर्वसम्मतले पारित भएको थियो । भने, पोखरा स्पार्ट्स अवार्डको आयव्यय पनि सार्वजनिक गरिएको थियो ।

सोही अवसरमा नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई नगदसहित सम्मान गरिएको थियो । १२ देखि २३ नोभेम्बर २०२५ मा भारत र श्रीलङ्कामा पहिलोपटक आयोजना हुन लागेको टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीमा परेकी विनितालाई सम्मान गरिएको हो ।

विनिता कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घर भएकी अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनलाई माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले संयुक्त रूपमा नगद सात हजार सात सय ७७ रुपैयाँसहित सम्मान गरेका हुन् ।

तपाईको प्रतिक्रिया