‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’

पोखरा । देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन नेकपा (एमाले)ले स्थानीय तहको वडातहसम्म जागरण भेला गरेको छ । प्रतिगामी षड्यन्त्रलाई परास्त गर्दै मुलुकलाई संवैधानिक व्यवस्थातर्फ फर्काउन भन्दै एमालेले वडा स्तरीय जनभेला गरेको हो ।
एमाले केन्द्रीय कमिटीको निर्णय र जिल्ला एवं पालिकाको निर्देशन अनुसार एकसाथ जनभेला गरेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए । पार्टीको केन्द्रीय कमिटीको १० औं बैठकले निर्णय अनुसार कास्कीको पोखरा सहित रुपा, मादी, अन्नपूर्ण, माछापुच्छ्रेका वडामा सभा भएका छन् ।
एमाले पोखरा महानगर पालिका वडा कमिटी पोखरा ९ कास्कीले आयोजना गरेको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य जगत विश्वकर्माले संविधानभन्दा बाहिरबाट बनेको सरकारलाई जनताले समर्थन नगर्ने बताए । एमाले पोखरा ७ र १६ ले आयोजना गरेको जनभेलामा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापाले संविधान विरोधी गतिविधिलाई जनताको दबाबबाट निस्तेज गर्न सकिने जनाए ।
एमालेको वडा कमिटी पोखरा ८ ले गरेको सभामा पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले संविधानको रक्षा, प्रतिगामी षडयन्त्रको बिरुद्धमा एमालेले वडा पालिका जिल्ला र काठमाडौं उपत्यकामा प्रर्दशन गर्न लागेको उल्लेख गरिन् ।
एमाले पोखरा महानगर कमिटीका पूर्व अध्यक्ष दिलीप न्यौपानेले जेन्जी पुस्ताको नाममा भएको प्रदर्शनले विदेशीको स्वार्थ पूरा गर्ने काम गरेको आरोप लगाए । उनले प्रियतावादी राजनीतिको सहारामा जेन्जी प्रर्दशन भएको जानकारी दिए ।
प्रियतावाद दीर्घकालीन रुपमा जनताको शत्रु भएको आरोप लगाउँदै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्न सुरुदेखि नै प्रियतावादी राजनीतिक धारको प्रयोग भएको दाबी गरे । क्षेत्रीयतावादी, मधेशी, जातिवादी आन्दोलनमा एमाले तार्गेट भएको जानकारी दिँदै उनले हरेक खालका अतिवादका विरुद्ध एमालेले निरन्तर रुपमा संघर्ष गर्नु परेको बताए ।
उनले जेन्जी प्रर्दशनको क्रममा भएका नकारात्मक क्रियाकलापको नेपाली कांग्रेसले विरोध गर्न नसकेको उल्लेख गरे । ‘अहिलेको जस्तो धेरै कठिन अवस्थालाई एमालेले सामना गरेर पार लगाएको छ,’ उनले भने, ‘सबै भ्रम विस्तारै खुल्दै जाने छन् । अन्त्यमा एमालेको विजय सम्भव छ ।’ उनले विश्व व्यापारको बद्लावले नेपालको राजनीतिलाई प्रभाव पारेको बताए ।
अध्यारो मनोविज्ञानको प्रभाव र तनावको वेलामा गाली, आलोचना र भ्रम बिक्ने उल्लेख गर्दै उनले झुटा कुराले छिटो प्रभाव पार्ने चर्चा गरे । उनले सबै पार्टी तथा नेता खत्तम भन्ने भ्रम जनमानसमा फैलाउने काम भएको बताए । रणनीतिक राजनीतिलाई प्राथमिकतामा राख्ने बेलामा एमाले लोकप्रिय भएको स्मरण गर्दै उनले अंक गणितको राजनीतिलाई प्राथमिता दिँदा पार्टी कमजोर भएको स्वीकार गरे ।
संसद भित्रको गठजोड र संसदीय फोहोरी खेलमा एमाले लाग्यो भनेर जनतामा निराशा बढेको उल्लेख गर्दै उनले अंक गणितको राजनीतिलाई दोस्रो प्राथमिकता दिन पार्टी नेतृत्वलाई सुझाव दिए । केही आन्तरिक कारण र जनतामा विश्वासको वातावरण सिर्जना गर्न नसक्नुमा केही कमी, कमजारी भएको उल्लेख गर्दै उनले अहिलेका सबै घटनाक्रमको जिम्मेवार व्यक्ति केपी शर्मा ओली नभएको दाबी गरे ।
एमालेले प्रतिगामी षड्यन्त्रका विरुद्ध आगामी कात्तिक २५ पालिका स्तरीय जनप्रर्दशन र २९ गते जिल्ला स्तरीय जनसभा गर्न लागेको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया