प्रदेश सभाको शून्य समय

आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग

समाधान संवाददाता २०८२ कार्तिक २४ गते १९:०५

पोखरा । गण्डकी प्रदेश सभाका सांसदहरूले गत भदौ २३ र २४ गते भएको ‘जेन जी’ आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । सोमबार बसेको बैठकको शून्य समयमा उनीहरूले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारजनमा समवेदना प्रकट गरे । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।

सांसद देवका पहारी त्रिपाठीले दुखद घटनामा ठूलो मानवीय र भौतिक क्षति भएकाले आफू मर्माहत भएको बताइन् । सुशासन, भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल खुलाउनु पर्ने माग लिएर ‘जेन जी’ को आह्वानमा भएको सो प्रदर्शनमा लामो समयदेखि देशलाई अस्थिरतामा धकेल्न देशी र विदेशी घुसपैठ भएका कारण यति ठूलो क्षति भएको उनको भनाइ थियो । उनले प्रदर्शनलाई हिंसात्मक बनाउनेदेखि आगजनी र तोडफोड गर्ने कामको छानबिन गरी कानूनी कारबाही र लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

सांसद गणेशमान गुरुङले ‘जेन जी’ आन्दोलनपछि मुलुकको ‘पोलिटिकल कोर्स चेन्ज’ भएको बताए । ‘हामी कहाँ थियौँ र कहाँ आइपुग्यौँ,’ भन्दै उनले यस विषयमा सदनमा विशेष समयको व्यवस्था गरी सबै सांसदले छलफल गर्न पाउनु पर्ने माग गरे ।

Advertisement

पूर्वमन्त्री एवं सांसद फणिन्द्र देवकोटाले कानुन सबैको लागि बराबर भएको बताए । एकथरीले भदौ २३ गते र अर्कोथरीले २४ गतेका घटनामा संलग्नलाई कारबाही गर्नुपर्छ भनिरहेको प्रसंग उल्लेख गर्दै उनले २३ गते ‘ठूला’ भन्ने नेताहरूको अहमता र घमण्डले दमन र मानवीय क्षति भएको तथा २४ गते राज्यमाथि घुसपैठ भएर ठूलो क्षति भएको बताए । यस्तो जघन्य अपराधको छानबिन र कारबाही गर्नुपर्नेमा उनले जोड दिए । सांसद नन्दकला दमै नेपालीले अकल्पनीय घटनाले स्तब्ध बनाएको र देशी विदेशी घुसपैठबाट अन्जानमा ज्यान गुमेको बताइन् ।

सांसद बेदबहादुर गुरुङले सांघातिक आतंककारी हमलाबाट मानवीय र भौतिक क्षति भएको भन्दै यस्तो कार्यमा संलग्नलाई निष्पक्ष छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरे । उनले असंवैधानिक रुपमा विघठन गरिएको प्रतिनिधि सभा पुनस्र्थापनाको माग पनि गरे । सांसद भक्तबहादुर कुँवरले भदौ २३ र २४ का घटनामा सबै सांसदले बोल्ने वातावरण मिलाउन माग गरे । उनले पोखरा–बागलुङ सडक जीर्ण हुँदै गएर दुर्घटनाको जोखिम बढाएकाले मर्मतका लागि ध्यानाकर्षण पनि गराए ।

Advertisement

सांसद भीमबहादुर कार्कीले ‘जेन जी’ आन्दोलनका कारण देश आक्रान्त भएकाले यसको छिटो निकास निकाल्नु पर्ने बताए । भूमि सम्बन्धी समस्या अहिले अन्यौलपूर्ण रहेको भन्दै यसको समाधानमा अहिलेको सरकारले वातावरण मिलाउनु पर्ने उनले बताए । अर्का सांसद रेशमबहादुर जुग्जालीले भदौ २३ र २४ को आन्दोलनको सकारात्मक र नकारात्मक विषयमा छलफल गर्ने वातावरण यस सदनमा बनाइयोस् भन्ने माग गरे । उनले म्याग्दीको मालिका–४ स्थित ओखरबोट मावि बाढीपहिरोका कारण स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेकाले पठनपाठन हुन नसकेको भन्दै विपद कोषमार्फत स्थानान्तरण गरी पठनपाठनको व्यवस्था मिलाउन माग गरे ।

यसैगरी, सांसद लिलबहादुर थापा मगरले ‘जेन जी’ आन्दोलनको निष्पक्ष छानबिनको माग गरे । प्रदेश र देशकै महत्वपूर्ण रेकर्डहरू ध्वस्त भएकाले प्रदेश स्तरबाट सत्यतथ्य पत्ता लगाउन छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद श्यामराजा महतले ‘जेन जी’ आन्दोलन सही भए पनि त्यसलाई ‘हाइज्याक’ गरिएको भन्दै ‘हाइज्याक’ गर्नेलाई कारबाहीको माग गरे । उनले प्रतिनिधि सभा पुनस्र्थापना गरेर ‘जेन जी’ का माग पूरा गर्नुपर्नेमा जोड दिए । यसैगरी, सांसद हरिबहादुर भण्डारीले ‘जेन जी’ आन्दोलनपछि प्रदेश सरकार जनताको घरदैलो र आँगनमा भेटिनु पर्नेमा त्यस्तो नभएको बताए । उनले प्रदेश अस्पताल व्यवस्थापन समिति र दक्ष जनशक्तिविहीन भएको पनि बताए । उनले अस्पतालको अवस्था बुझेर व्यवस्थापन समिति गठन गरी सेवा प्रवाहमा सहज गर्नुपर्नेमा जोड दिए ।

सांसद सुनीता थापाले ‘जेन जी’ आन्दोलनले गम्भीर रुपमा सोच्न बाध्य पारेको भन्दै विद्रोह विनाशका लागि नभई परिवर्तनका लागि उठेको चेतना रहेको बताइन् । उनले २४ गतेको आन्दोलन किन हिंसात्मक बन्यो भन्नेतर्फ पनि सोच्नु पर्नेमा जोड दिइन् ।

सांसद सीताकुमारी सुन्दासले बेमौसमी वर्षाका कारण किसानले काटेर राखेको धान भिजेर उम्रिएर ठूलो क्षति भएको भन्दै सरकारले क्षतिपूर्ति दिएर सरकारको अनुभूति दिलाउन माग गरिन् । अर्की सांसद सुशीला सिंखडाले पनि बेमौसमी वर्षाले किसानको वर्षभरीको मेहनत जोखिममा परेकाले क्षतिग्रस्त क्षेत्रको अनुगमन र यथार्थ प्रतिवेदन बनाई बिना पूर्वाग्रह क्षतिपूर्तिको माग गरिन् । सांसद कल्पना तिवारीले स्याङ्जाको वालिङ नगर अस्पतालको स्तरोन्नति गर्नुपर्ने बताइन् भने, सांसद प्रकाश बरालले लामो समयदेखि नर्सहरू आन्दोलित भएका कारण निजी अस्पतालमा सेवाग्राहीले सेवा नपाएको बताए । सेवाग्राहीले हजारौँ र लाखौँ रुपैयाँमा बिल तिर्नुपर्ने तर नर्सले भने न्यून पारिश्रमिक पाउने भएकाले श्रम शोषण भएको भन्दै उनले यसको समाधान छिटो हुनुपर्नेमा जोड दिए ।

पूर्व मन्त्री एवं सांसद रेशम जुग्जालीले जेन्जी आन्दोलनको सकारात्मक र नकारात्मक पक्षका बारेमा प्रदेश सभामा खुलेर बहस गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया