आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप

धनबहादुर गुरुङ २०८२ कार्तिक २५ गते ७:२१

पोखरा । क्रिकेट पिचको एक छेउमा बल हातमा लिएर तयारी अवस्थामा रहेका बलर चर्को स्वरमा सोध्छन्, ‘ब्याट्म्यान रेडी ?’ उताबाट आवाज आउँछ, ‘एस रेडी’ । अनि सुरु हुन्छ बलिङ ।

बलको छिनछिन आवाजकै आधारमा ब्याट्सम्यानले ब्याट घुमाउन सुरु गर्छन् । ब्याटमा बल परेपछि उही छिनछिन आवाजसँगै फिल्डतिर सुइँकिन्छ । फिल्डरका कान ठाडा हुन्छन् । जता बलको आवाज आउँछ, त्यतै दौडिन्छन् ।

फिल्डरले बल भेटे भने रन आउटका लागि फ्याँक्छन् । कुनै बल फुत्केर बाउन्ड्री क्रस हुँदै चौकामा परिणत हुन्छ । केही ब्याट्सम्यानले सिधैं छक्का प्रहार गर्छन् । रन प्राप्त हुँदा पेभिलियनका खेलाडी चियर्स अपमा सामेल हुन्छन् । कहिलेकाँही बोल्ड आउँछ, क्याच आउट र रन आउटमा फिल्डमा रहेका खेलाडी खुसी बाड्छन् । तर, उनीहरुमध्ये अधिकांशले प्रस्ट देख्दैनन् । तर, उनीहरुको मुहारमा संसारै जिते जसरी खुसी भने प्रस्ट देखिन्थ्यो ।

Advertisement

पोखरा रंगशालाको क्रिकेट मैदानमा कात्तिक ९ देखि २२ गतेसम्म दैनिकजसो यो दृष्य देखियो । जहाँ दृष्टिविहीन महिला क्रिकेटर प्रशिक्षण लिइरहेका छन् । उनीहरुको यो तयारी दृष्टिविहीन महिला टी २० विश्वकप क्रिकेटका लागि थियो । विश्वकपका लागि छनोट भएका १६ दृष्टिविहीन महिला खेलाडी विश्वकप जित्ने लक्ष्यका साथ प्रशिक्षणमा व्यस्त भए ।

नेपालको झण्डा बोकेर गइसकेपछि दृष्टिविहीन महिलाको मात्र जीतहार हुँदैन । जित्दा देशले जित्ने हो, हार्दा देश हार्ने

Advertisement


उनीहरुले पहिलो चरणमा असोज २२ देखि कात्तिक ८ सम्म काठमाडौं र दोस्रो चरणमा पोखरामा प्रशिक्षण लिएका छन् । नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमकी कप्तान गीता पौडेलले यात्रा विश्वकपको भए पनि सपना ट्रफी जित्ने भएकाले सोही अनुसार प्रशिक्षण गरिरहेको बताइन् । ‘हामीले काठमाडौं र पोखरामा गरी १ महिना जति प्रशिक्षण गरिसक्यौं । ट्रफी नै जित्ने सपना बोकेका छौं,’ उनी भन्छिन्, ‘हामी दृष्टिविहीनको होइन, नेपालकै प्रतिनिधित्व गर्दै छौं ।’


फरक क्षमता भए पनि देशका लागि खेल्न जान लागेकाले देशले गौरव गर्नुपर्ने उनको भनाइ छ । लामो समयको तयारीपछि पहिलो पटक दृष्टिविहीन महिला टी २० विश्वकप आयोजना हुँदै छ । सोही कारण पनि खेलाडीमा जित्ने हुटहुटी बढेको कप्तान पौडेलले अनुभव सुनाइन् । भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको विश्वकपमा नेपालसहित आयोजक भारत र श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, बेलयात र अमेरिका सहभागी छन् ।


प्रतियोगिता मंगलबारदेखि सुरु हुँदै छ । नेपालले आफ्नो पहिलो खेल कात्तिक २६ गते भारतको राजधानी नयाँदिल्लीमा श्रीलंका विरुद्ध खेल्ने छ भने कात्तिक २८, २९ र ३० गते क्रमश भारत, इङल्यान्ड र अमेरिका संग भिड्नेछ । नेपालले पछिल्ला ३ खेल भने भारतको बैंगलोरमा खेल्नेछ ।

नेपालले पहिलो चरणमा नै श्रीलंकाको कोलोम्बोमा मंसिर २ गते अस्ट्रेलिया र मंसिर ३ गते पाकिस्तान विरुद्ध खेल्ने तालिका छ । पोखरा शनिबार बिदाइ भएको राष्ट्रिय टोली सोमबार नेपाली टोली विश्वकप खेल्न भारत प्रस्थान गरिसकेको छ । विश्वकपमा लिग चरणका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुने छन् । लिगपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल मंसिर ७ गते हुनेछ ।

विश्वकपका लागि गीता पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको थियो । दृष्टिविहीन महिला क्रिकेटको सुरुवात नेपालबाटै भएकाले नेपाल अरु टिमभन्दा अब्बल रहेको क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपालका महासचिव अमृत बरालले जानकारी दिए । ‘दृष्टिविहीन पुरुषले सन् २००५ मा खेल्न सुरु गरेको १ वर्षपछि नै दृष्टिविहीन महिलाले पोखराबाटै खेल्न सुरु गरेका हुन्,’ उनले भने, ‘सोही कारण हाम्रा नानीहरुमा हौसल बढेको छ । यो विश्वकपमा सुरुमा भारतसँगै नेपाल पनि सहआयोजको रुपमा थियो । तर, जेनजी आन्दोलनका कारण नेपालको राजनीतिक परिस्थितिका कारण नेपालको सट्टा श्रीलंकामा खेल खेलाउन लागिएको हो ।’


उनले नेपालले भारत, पाकिस्तान र इग्ल्यान्डलाई हराइसकेकाले यो पटक विश्वकप जित्ने विश्वास व्यक्त गरे । दृष्टिविहीन महिला खेलाडीहरु क्रिकेटमा निकै राम्रो लयमा रहेकोले राज्यले उनीहरुका बारेमा सोच्नुपर्ने बताए । यसमा राष्ट्रिय खेलकुद परिषद्ले पनि केही योजना बनाउनुपर्ने उनको भनाइ छ । ‘सरकारबाट यो विश्वकपका लागि चाहेको जति साथ त पाइएको छैन तर, नगण्य रुपमा आएको सहयोगले हामीलाई पुगेको छैन,’ उनले भने, ‘हामीले नेपालको झण्डा बोकेर जाँदा दृष्टिविहीन महिलाको मात्र जितहार हुँदैन । जित्दा देशले जित्ने हो हार्दा देश हार्ने । यस्तो अवस्थामा जाने अनुमति ग्राउन्ड लगायत स–साना सहयोग गरेको छ भन्ने भन्दा अरु केही छैन ।’

दृष्टिविहीनले कसरी खेल्छन्?
दृष्टिविहीन क्रिकेट खेलाडीले आवाजको प्रयोग गरी क्रिकेट खेल्ने गर्दछन् । उनीहरुले क्रिकेट खेल्दा प्रयोग गर्ने हार्ड प्लास्टिकको बलभित्र रहेका साइकलका बल बेरिङको माध्यमबाट बल बज्ने गर्दछ । त्यही आवाजलाई पछ्याउंँदै ब्याटिङ गर्नेले ब्याटिङ गर्दछ भने बलिङ र फिल्डिङ गर्नेले पनि त्यसैलाई पछ्याएर क्रिकेट खेल्ने गरेका छन् ।

दृष्टिविहीन क्रिकेट खेल्ने सबै खेलाडी पूर्ण दृष्टिविहीन हुँदैनन् । वल्र्ड ब्लाइन्ड युनियनले मान्यता दिएको वैधानिक दृष्टिविहीन अन्तर्गत क्रिकेटमा बी–वान, बी–टु र बी–थ्री गरी ३ प्रकारमा विभाजन गरिएको हुन्छ । पूर्ण रुपमा नदेख्नेलाई बी–वान, पाँच मिटरसम्म कुनै वस्तु हल्लिएको अनुभव गर्ने तर नदेख्ने तथा ठम्याउन नसक्नेलाई बी–टु र २० मिटर दूरीसम्म कुनै वस्तु हल्लिएको तथा चलिरहेको अनुभव गर्न सक्नेलाई बी–थ्रीमा राखिएको हुन्छ ।

टिम तयार गर्दा १ टिममा ४ जना बि वान, ३ जना बि टु तथा ४ जना बि थ्री क्षमता भएका खेलाडीलाई खेलाउने गरिन्छ । ती विभिन्न समूहका खेलाडी फिल्डिङ गर्दा सबै खेल्छन् भने ब्याटिङ गर्दा बी–वान, बी–टू र बी–थ्री मिलाएर खेलाइन्छ ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया