सर्वोदय माविको ७४औं वार्षिकोत्सव

समाधान संवाददाता २०८२ कार्तिक २५ गते १५:४७

लमजुङ । दुराडाँडास्थित सर्वोदय माध्यमिक विद्यालयको ७४औं वार्षिकोत्सव समारोह एवम् ५५औं अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षता र सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवम् लोकसेवा आयोग बागमती प्रदेशका पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ, वरिष्ठ इन्जिनियर अर्जुनभक्त पौडेल, वरिष्ठ इन्जिनियर कृष्ण राना लगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जग्गादाता, अक्षयकोषदाता, विभिन्न विद्यालयका प्रधानाध्यापक, चन्दादाता, जनप्रतिनिधि र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिए । वरिष्ठ लोक स्वर सम्राट गायक राजु परिवार र लोक गायिका लुमा केसीको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो ।

Advertisement

विद्यालय व्यवस्थापन समिति सदस्य जगन्नाथ न्यौपानेले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगरप्रमुख कृष्णप्रसाद कोइरालाले पानसमा बत्ती बालेर एवम् विष्णु भक्तको सालिकमा माल्यार्पण गरी गरेका थिए । शिक्षक पशुपति न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन २०८२ सँगै विद्यालयको भावी योजना प्रस्तुत गरे ।

सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, जनचेतनामूलक अभिनय र लाखेनाच समेत प्रस्तुत गरेका थिए । विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्‍याउने अक्षयकोषदाता सम्मान, वर्ष उत्कृष्ट शिक्षक तथा अभिभावक सम्मानका साथै पञ्चेबाजाको साथमा दोहोरी र आकर्षक नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

Advertisement

यसै कार्यक्रमको अवसरमा विद्यालयका उत्पादनहरूबाट कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूका लागि ट्र्याक सुट र टोपी हस्तान्तरण गरिएको थियो । उक्त समारोहमा विद्यालयको चौतर्फी विकासका विभिन्न शीर्षकका अक्षयकोषमा करिब १४ लाख रुपैयाँ जम्मा भएको थियो ।

तपाईको प्रतिक्रिया