सम्पादकीय—पुस्तान्तरणसँगै रुपान्तरण

समाधान संवाददाता २०८२ कार्तिक २५ गते १६:२८

नेपालको राजनीतिमा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको मुद्दा अहिले जोडतोडले उठेको छ । एउटा त्यागको पृष्ठभूमिबाट आएको पुरानो पुस्ताको राजनीतिक पंक्ति भ्रष्ट, स्वार्थी र आत्मकेन्द्रीत बन्यो । देशमा व्यवस्था बारम्बर बदलियो, संविधान बदलियो तर कुशासन बदलिएन । युवाले भविष्यको गन्तव्य भारत, खाडी मुलुक र विश्वका अन्य मुलुकलाई बनाउनुपर्‍यो । त्यस कारण स्वाभाविक रुपमा पटक पटक सरकारमा गएको पुरानो पुस्ताप्रति जेनजी पुस्ताको मात्र होइन, आम जनताकै वितृष्णा छ ।

यस्तो विषम अवस्थामा उठेको जेनजी पुस्ताको २७ घन्टे संघर्षले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई ढाल्न सफल भयो । त्यसपश्चात् नेपालको राजनीतिमा राजनीतिक नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको मुद्दा थप मुखरित भएर अघि आएको छ । राजनीतिमा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको मुद्दा नाजायज होइन । राजनीतिमा भ्रष्ट, अनैतिक तथा कुशासनका खलनायकलाई नेतृत्वमा आउन दिनु हुँदैन । त्यसको फैसला जनताले निर्वाचनमार्फत् नै गर्ने हो । तर देशमा पुरानो पुस्ता सबै खराब, नयाँ पुस्ता सबै अब्बल भन्ने एउटा विचित्रको भाष्य निर्माण हुँदै छ । यस प्रकारको भाष्य सत्यमा आधारित छैन ।


राजनीति शास्त्रमा निरपेक्ष सत्य भन्ने केही हुँदैन । पुरानो पुस्ता सबै नै निरपेक्ष रुपमा खराब छैनन् । नयाँ पुस्ताले अगाडि सार्ने भिजन नयाँ र क्रान्तिकारी नै हुन्छ भन्ने तर्क भ्रमपूर्ण हो । यही तर्क स्थापित हुँदा विश्वका कैयौं मुलुकले डरलाग्दा दुष्परिणामको सामना गर्नुपरेको छ । पुस्तान्तरणले मलेसिया समस्याग्रस्त बन्दा ९० वर्षीय महाथिर मुहम्मद पुनः राजनीतिक नेतृत्वमा आउनुप¥यो । फ्रान्समा नेपोलियन बोनापार्टको सम्राटका रुपमा उदय त्यत्तिकै भएको थिएन । विश्वमा यस्ता अनगिन्ती उदाहरण छन् । राजनीतिमा पुरानो पुस्ताले नयाँ प्रस्ताव, नयाँ सपना र नयाँ लक्ष्य अगाडि सार्न सक्छ । वैचारिक आस्था र निष्ठाको राजनीति गर्ने इमान्दारसँग लामो अनुभव तथा अध्ययन हुन्छ । मुलुक निर्माणमा सकारात्मक सोच भएका सबै पुस्ताको योगदान आवश्यक चाहिन्छ ।

Advertisement


नयाँ पुस्ता एउटा उदीयमान पुस्ता हो । नेपालको जेनजी पुस्ताले भ्रष्टाचार र कुशासनका विरुद्धमा घन प्रहार ग¥यो । त्यसमा विमति राख्न मिल्दैन । तर नयाँ पुस्ता मात्र सम्पूर्ण होइन । देशको राजनीति कुनै पनि पुस्ताले राख्ने विचार, सिद्धान्त, दर्शन र त्यसका आधारमा निर्धारण हुने लक्ष्य, सपना तथा व्यवहारमा निर्भर हुन्छ । नयाँ पुस्ताले पुराना नारा र मुद्दालाई समर्थन गर्न सक्दैन भन्न सकिन्न । राजावादीहरुले सञ्चालन गरेको प्रतिगामी आन्दोलनमा पनि भावनामा बगेर कैयौं नयाँ पुस्ताको उपस्थिति देखिन्छ । नेपालका नेताहरुमा सामन्तवादको छायाँ कायम भइरहँदा नेतृत्व हस्तान्तरणको प्रश्न निकै महंगो भएको भने सत्य हो । नयाँ पुस्ताको हातमा राजनीतिको बागडोर आउँना साथ सबै राम्रो हुन्छ भन्ने भ्रम मुक्त हुनुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया