कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान

समाधान संवाददाता २०८२ कार्तिक २५ गते १७:३०

पोखरा ।
पोखराको कालिका बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख बिरन्जी गौतम बेलायतमा सम्मानित भएका छन् । लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा ‘नेपाल एजुकेसन अवार्डस युके २०२५’ मा गौतम सम्मानित भएका हुन् र कार्यक्रम युनिभर्सिटी अफ ग्रीनवीचको सहकार्यमा नेपालबाट प्रकाशित हुने ‘कलेज रिडर्स’ अंग्रेजी मासिक पत्रिकाले आयोजना गरेको थियो ।

समारोहमा कालिका बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख गौतमलाई ‘उत्कृष्ट क्याम्पस प्रमुख २०२५’ बाट सम्मान गरियो । त्यसैगरी, लुम्बिनी विश्वविद्यालयका उपकुलपति, प्याब्सनका पूर्व अध्यक्ष र द ब्रिटिस कलेजका निर्देशक लगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल–बेलायतबीचको साझेदारी, ज्ञान सृजना र साझा मूल्यहरूको उत्सवका रूपमा यस्ता अवार्डहरूको महत्व रहेको बताए । उनले ग्रीनवीच विश्व विद्यालय र नेपाली शैक्षिक संस्थाबीच सहकार्यको नयाँ अध्याय सुरु भएकोमा खुसी व्यक्त गरे ।

Advertisement


ग्रीनवीच विश्वविद्यालयको प्रांगणमा अक्टोबर १४, २०२५ मा विश्वविद्यालय र कलेज रिडर, नेपालद्वारा संयुक्त रूपमा आयोजित उक्त समारोहको अध्यक्षता भवानीप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा ग्रीनवीच युनिभर्सिटी र नेपाली युनिभर्सिटीका उपकुलपति, पदाधिकारी, क्याम्पस प्रमुख, शिक्षक र शिक्षण संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।


कलेज रिडर्सका प्रमुख जितेन्द्र घिमिरेले व्यक्तिगत तथा संस्थागत अवार्डमार्फत नेपालमा शैक्षिक उन्नयनमा योगदान गर्ने व्यक्तित्वलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गर्दै आएको बताए ।

Advertisement


निर्णायक मण्डलका प्रमुख तथा मधेश विश्वविद्यालयका उपकुलपति प्राडा दीपकबहादुर शाक्यले अवार्डका लागि १२० भन्दा बढी मनोनयन प्राप्त भएको जानकारी दिए । उनका अनुसार शैक्षिक उत्कृष्टता, नवप्रवर्तन, नेतृत्व, सामुदायिक संलग्नता, अनुसन्धान र प्रशान्त विश्व दृष्टिकोणका आधारमा उत्कृष्ट क्याम्पस प्रमुख, शिक्षक र शैक्षिक संस्थालाई छनोट गरिएको थियो ।


कार्यक्रमको अन्त्यमा युनिभर्सिटी अफ ग्रीनवीचका कार्यकारी निर्देशक कलेयर म्याथ्युजले नेपालका शैक्षिक संस्थासँग दीर्घकालीन सहकार्यका लागि आफ्नो विश्वविद्यालय उत्सुक रहेको बताए । कार्यक्रमको अन्त्यमा भवानी पौडेलले धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गरे । यस अवसरमा युनिभर्सिटी अफ ग्रीनवीचका प्राध्यापक तथा पदाधिकारीहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया