औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग

समाधान संवाददाता २०८२ कार्तिक २५ गते १८:३७

पोखरा ।
‘नीतिगत सुधारका लागि नागरिक अभियान’ले जेनेरिक नाममा औषधी सिफारिस गर्न माग गरेको छ ।


अभियानका संयोजक गणेशबहादुर थापा नेतृत्वको टिमले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. प्रेमराज पगेनीलाई चिकित्सक र स्वास्थ्यकर्मीहरुले विरामीलाई औषधी सिफारिस गर्दा कम्पनीको नाम नभई, जेनेरिक नाममा औषधी सिफारिस गर्ने व्यवस्था गर्न माग गरेको छ ।


माग पत्रमा चिकित्सक र स्वास्थ्यकर्मीहरुले हालसम्म कानुनी व्यवस्था विपरित ट्रेड नेम (कम्पनीको नाम) मा औषधी सिफारिस गर्दै आएको उल्लेख गर्दै त्यसले जनताको मौलिक स्वास्थ्य अधिकारमै आघात पु¥याएको जनाइएको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २९, मन्त्रीस्तरको निर्णयबाट गठित जेनेरिक औषधी सुझाव समितिको प्रतिवेदन, त्रिवि शिक्षण अस्पतालको परिपत्र र नेपाल मेडिकल काउन्सिलको आचारसंहिता अनुसार चिकित्सकले औषधीको जेनेरिक नाम लेख्नुपर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ ।

Advertisement


तर, ती कानुनी प्रावधान र आचारसंहिता विपरित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरामीलाई बुझ्ने गरी औषधीको जेनेरिक नाम नलेखी कम्पनीले प्रयोग गर्ने ट्रेड नेम लेख्ने गरेको पत्रमार्फत आरोप लगाइएको छ । पत्रमा भनिएको छ– ‘यसरी कम्पनीको नाममा औषधी सिफारिस गर्दा निम्न तथा मध्यम वर्गका नागरिकको स्वास्थ्य हक हनन भएको छ । सरकारी अस्पतालमा निःशुल्क वा कम मूल्यमा पाउनुपर्ने औषधीको सट्टा महँगा औषधी किन्नु पर्ने अवस्था सिर्जना भएको छ ।’


अभियानले चिकित्सक र स्वास्थ्यकर्मीहरुले औषधी उत्पादक कम्पनी वा उनका प्रतिनिधिबाट आर्थिक प्रलोभनमा परेर महँगा औषधी मात्र सिफारिस गर्ने गरेको आरोप समेत लगाएको छ । पत्रमा भनिएको छ, ‘बजारमा समान गुणस्तरका सस्तो औषधी उपलब्ध हुँदाहुँदै पनि चिकित्सकहरु आर्थिक लाभका लागि कम्पनीको महँगा औषधी मात्र सिफारिस गर्छन् ।’

Advertisement


अभियानका अनुसार यस्तो अभ्यासले सरकारको स्वास्थ्य बीमा कार्यक्रममा पनि नकारात्मक असर पारेको छ । चिकित्सकहरुले जेनेरिक नामको सट्टा कम्पनीको नाममा औषधी लेख्दा बीमित विरामीहरुले अस्पतालको फार्मेसीमा औषधी नपाई निजी फार्मेसीबाट महँगा मूल्यमा खरिद गर्न बाध्य भएको जनाइएको छ । अभियानले प्रतिष्ठानलाई कानुन र आचारसंहिताअनुसार चिकित्सकहरुले जेनेरिक नाममा मात्र औषधी सिफारिस गर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।


अभियानले प्रतिष्ठानमा सञ्चालन हुने फार्मेसीका औषधीको खुद्रा मूल्य सूची समेत सर्वसाधारणले सहज रूपमा हेर्न सक्ने गरी सार्वजनिक गर्न माग गरेको छ । नितिगत सुधारका लागि नागरिक अभियानले औषधी सिफारिस प्रणालीलाई पारदर्शी र निष्पक्ष बनाउन प्रतिष्ठानको सहकार्यमा निरन्तर निगरानी र सुधार अभियान चलाउने जनाएको छ ।


सोही क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. प्रेमराज पगेनीले प्रतिष्ठानले सेवा प्रवाह, शैक्षिक गतिविधि र अनुसन्धानका पाटोमा काम गरिरहेकाले सबै क्षेत्रलाई प्रभावकारी रुपमा अघि बढाउने प्रयास गरिरहेको बताए । अभियानले माग गरेका विषयमा गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए । ‘हामीले औषधी लिंदा टेण्डर मार्फत नै लिने गरेका छौं । औषधी जिएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) सर्टिफाइड र औषधी व्यवस्था विभाग (डिडीए) रजिष्ट्रर भएको हुनुपर्छ भनिएको छ,’ उनले भने, ‘हामीले चिकित्सकहरुलाइ धेरै पहिला देखि नै जेनेरिक नाममा औषधी लेखिदिनुहोस भनेका छौं ।’

तपाईको प्रतिक्रिया