सम्पादकीय—शिक्षक र प्रत्यक्ष राजनीतिः बहसको चुरो

नेपालको शैक्षिक क्षेत्रमा शिक्षकहरूको राजनीतिक संलग्नता लामो समयदेखि गम्भीर बहसको विषय बनेको छ । शिक्षा मन्त्रालयले शिक्षक, प्राध्यापक र कर्मचारीहरुलाई पेशागत कर्तव्य र आचारसंहिता विपरीत राजनीतिमा संलग्न भएकोले शैक्षिक गुणस्तर खस्किएको दाबी गरेको छ । मन्त्रालयले शिक्षकहरुलाई राजनीतिक गतिविधिबाट टाढा राख्ने कडा नीति लिएको छ, जसमा पदबाट बर्खास्तसम्मको चेतावनी छ । शिक्षामन्त्री महावीर पुनले त राजनीतिक दलका भ्रातृ संस्थाका रूपमा रहेका शिक्षक संगठनहरूलाई कानुनी मान्यता नदिने घोषणा नै गरेका छन् ।
यसको प्रतिवादमा नेपाल शिक्षक महासंघले ट्रेड युनियन अधिकारमाथिको ‘धावा’ बोले सह्य नहुने चुनौती दिएको छ । महासंघका अनुसार शिक्षकहरू संविधान, श्रम ऐन र शिक्षा ऐनले दिएको ट्रेड युनियन अधिकार प्रयोग गरी पेशागत आन्दोलनमा मात्र संलग्न छन्, न कि राजनीतिक गतिविधिमा । महासंघले पेशागत आन्दोलनलाई राजनीतिक संलग्नताका रूपमा व्याख्या गर्नु अनुचित हुने चेतावनी दिएको छ ।
शिक्षकको संविधानले दिएको अधिकार सरकारले खोस्न सक्दैन, तर राजनीतिक पार्टीहरूको संरक्षणमा विद्यालय र विश्वविद्यालयहरूको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरूको भविष्यसँग खेलवाड गर्न पाइँदैन । दलको कमिटीमा बसेर प्रत्यक्ष राजनीति गर्नबाट रोक्ने प्रयास जायज भए पनि शिक्षकको राजनीतिक अधिकारसहितको ट्रेड युनियनको अधिकारलाई सरकारले कुण्ठित गर्न मिल्दैन ।
नेपालको शिक्षासम्बन्धी कानुनले सार्वजनिक विद्यालयका शिक्षकलाई प्रत्यक्ष रूपमा राजनीतिक दलको कमिटीमा बसेर काम गर्न रोक लगाएको छ । शिक्षा ऐन र नियमावलीमा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउनेसम्मको व्यवस्था छ । तथापी शिक्षकहरूको सरुवा, बढुवादेखि विद्यालय व्यवस्थापन समितिको चयनसम्ममा राजनीतिक दलको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिन्छ ।
पञ्चायतकालमा एउटै नेपाल राष्ट्रिय शिक्षक संगठन रहेकोमा २०४६ सालको परिवर्तनपछि हरेक राजनीतिक दलले आफ्ना शिक्षक संघ संगठन खोले, जसले शैक्षिक क्षेत्रमा केही हदसम्म बेथिति बढाएको विश्लेषण गरिन्छ । हाल प्रतिनिधि सभामा विचाराधीन ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ मा शिक्षकलाई राजनीतिबाट पूर्ण रूपमा टाढा राख्ने प्रस्ताव गरिएको छ । विधेयकले शिक्षकहरूलाई नेपाल शिक्षक महासंघमा रहन पाउने भए पनि कुनै पनि दलको भ्रातृ संगठनमा लाग्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ ।
हरेक राजनीतिक परिवर्तनमा शिक्षकलगायत पेशागत संघसंस्थाको महत्वपूर्ण योगदान रहेको यथार्थलाई बिर्सन मिल्दैन । संविधान अनुसार शिक्षकलाई राजनीतिक आस्था र विचार राख्न तथा कुनै निश्चित दललाई मतदान गर्न पाउने अधिकारलाई रोक्न मिल्दैन ।
यस बहसको चुरो भनेको शिक्षकको पेशागत मर्यादा, शैक्षिक गुणस्तरको सुनिश्चितता र संविधानप्रदत्त ट्रेड युनियन अधिकारबीच सन्तुलन कायम गर्नु हो । शिक्षकलाई विशुद्ध पेशागत हितका लागि संगठित हुन पाउने अधिकार सुनिश्चित गर्दै विद्यालय र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी शैक्षिक वातावरण सुधार्नु आजको आवश्यकता हो । यसका लागि सरकार, राजनीतिक दल र शिक्षक संघ संगठनहरूबीच गम्भीर संवाद र समझदारी आवश्यक छ ।







सम्पादकीय—शिक्षक र प्रत्यक्ष राजनीतिः बहसको चुरो
पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया