प्रभु ग्रुपका अध्यक्ष भट्टचन सिआईबी हिरासतबाट रिहा

समाधान संवाददाता २०८२ कार्तिक २६ गते १३:११

पोखरा ।  नेकपा एमालेका पूर्व सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले हिरासतबाट रिहा गरेको छ । सहकारी ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को हिरासतमा रहेका भट्टचन मंगलबार छुटेका हुन् ।

सिआईबीका प्रहरी उपरीक्षक (एसपी) निरञ्जनदत्त भट्टले सरकारी वकिलको आदेशअनुसार भट्टचनलाई हिरासतबाहिर राखेर अनुसन्धान अगाडि बढाइने बताए । भट्टले अनलाइनखबरलाई भने, ‘स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अनुसन्धान गर्नु भन्ने सरकारी वकिलको आदेशपछि उनी छुटेका हुन् ।’

Advertisement

भट्टचनलाई कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरिएको थियो । सिआईबीले उनीमाथि सहकारी ठगीको आरोपमा अनुसन्धान गरिरहेको थियो । ठाकुरप्रसाद मानन्धरले उनीलगायत अन्य व्यक्तिविरुद्ध जाहेरी दिएका थिए ।

यस प्रकरणको केन्द्रमा रहेकी प्रभु म्यानेजमेन्टकी प्रबन्ध निर्देशक कुसुम लामालाई भने प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । प्रभु म्यानेजमेन्टले मनी ट्रान्सफरको भुक्तानी एजेन्टका रूपमा कारोबार गरे पनि करोडौँ रुपैयाँ तिर्न नसकेको भन्दै लामाविरुद्ध राष्ट्र बैंक र प्रहरीमा उजुरी परेको थियो । लामाकै उजुरीका आधारमा प्रभु मनी ट्रान्सफरका सञ्चालक भट्टचनलाई पक्राउ गरिए पनि, मुख्य अभियुक्त लामा भने अझैसम्म प्रहरीको पहुँचबाहिर छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया